आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो: प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार

बुधबार, २० कात्तिक २०७६, १७ : १०
बुधबार, २० कात्तिक २०७६

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा स्पष्ट पारेका हुन् । 

साक्षात्कारमा बोल्दै भट्टराईले नेपाली भू–भागलाई भारतीय नक्सामा राखेकोमा आफूहरुको गम्भीर ध्यानाकार्षण भएको स्पष्ट पारे । उनले भने, ‘कालापानी नेपाली भू–भाग हो । ऐतिहासिक तथ्यले पनि त्यही भन्छ । हाम्रो मान्यता पनि यही हो । सन् १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ । कालापानी लगायत सबै सीमा विवाद टुङ्ग्याउनुपर्छ ।’

उनले सीमा विवादहरु सहमतिअनुसार कुटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने धारणा राखे । उनले थपे, ‘त्यसको आधारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । अर्को विकल्प छैन् ।’ वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको पनि उनले सुनाए । 

सिमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उनको भनाई छ । उनले भने, ‘जुनसुकै समस्याको समाधान कुटनीतिक निश्कर्षमा पुग्नुपर्छ ।’ सरकारले जि.पि.एस. प्रणालीमार्फत सीमा व्यवस्थित् गर्न गैरहेको पनि सुनाए । उनले भने, ‘सरकारले यसबारेमा एउटा टोली बनाएको छ, उनीहरुले अध्ययन गरिरहेका छन् ।’

नेपाल र भारतबीच कतिपय सीमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेको पनि उनले सुनाए । उनले भने, ‘कतिपय पिलरहरु हराएका छन् । जमिन अतिक्रमण भएका छन् ।’ नेपाल र भारत दुवैतर्फ रहेका स्थायी संयन्त्रमार्फत सीमा विवाद समाधान गर्नेपनि उनले जनाए । 

त्यस्तै, उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) मा पनि सिमा विवादसम्बन्धी एउटा बुँदामा विस्तृत सुझाव समेटिएको जनाए । उनले भने, ‘हामीले विस्तृत सुझावसहितको प्रतिवेदन तयार पारेका छौं । इपिजीको प्रतिवेदन छिटो बुझ्नुपर्छ । यसमा नेपाल–भारत सम्बन्धका सबै उतारचढावबारे समग्र सुझाव छ ।’

उनले नेपाल–भारत सम्बन्ध आजको युग सुहाउँदो बनाउनेगरी सरकार अघि बढ्ने विश्वास दिलाए । नेपाल र भारत दुवै सार्वभौमसत्ता सम्पन्न देश भएकोले कुटनीतिक पहलमार्फत समस्याहरु समाधा गर्नुपर्ने धारणा राखे । र, यही कुरा चीनसँग पनि लागू हुने उनको भनाई छ । 

सरकारले जनता र भूगोलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे । भट्टराईले भने, ‘सरकार यसबाट दायाँबायाँ हुँदैन् । सरकार आफ्नो दायित्वबाट पछि हट्दैन, यदि हाम्रो सिमा तलमाथि भएको रैछ भने पनि हामी कुटनीतिक टेबुलमार्फत समस्याको हल गर्छौं ।’

त्यस्तै, उनले लिपुलेक पनि नेपालकै भएको बताए । भारत र चीनले लिपुलेकबारे गरेको सहमतिमा नेपालले आफ्नो पोजिशन राखिसकेको पनि उनले सुनाए । उनले भने,‘अध्ययनको आधारमा र तथ्याँकको आधारमा लिपुलेक हाम्रो हो । यसमा हाम्रो दाबी हुन्छ ।’

लिपुलेकबारे भारत र चीनबीच भएको सहमति बेठिक भएको उनको दाबी छ । उनले भने,‘यसबारेमा नेपालले दुवै देशलाई पत्राचार गरेर आफ्नो धारणा राखेको छ ।’ उनले आफूहरुले नेपालको भ–ूभाग कुनैपनि हालतमा नछोड्ने स्पष्ट पारे ।  फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अत्यन्तै राम्रो भएको दाबी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप