शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार व्यवसायीलाई लाग्यो चुनाव :  ढकाल र गुरुङ मैदानमा

आइतबार, ०४ असार २०७४, १३ : २४
आइतबार, ०४ असार २०७४

काठमाडौ–वैदेशिक रोजगार व्यवसायीलाई यतिवेला संघको आसन्न चुनावले झ्याप्पै छोपेको छ । रोजगार व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आगामी असार १७ गते निर्वाचन हुदै छ । 


संघको आगामी नेतृत्वका लागि काँग्रेस निकट व्यवसायी र एमाले निकट व्यवसायीवीच प्रतिश्पर्धा हुने देखिएको छ । नयाँ कार्यकालको नेतृत्वका लागि काँग्रेस निकट व्यवसायीको संस्था नेपाल लोकतानित्रक वैदेशिक रोजगार व्यवसायी फोरमले संघका वर्तमान अध्यक्ष बिमल ढकाललाई नै अध्यक्षको उम्मेदवार बनाउने भएको छ । उनलाई ललितपुर व्यवसायी संघ, मधेशी व्यवसायी लगायतले समर्थन गर्ने भएका छन् । 


यस्तै, एमाले निकट व्यवसायी संस्था प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले संघका वर्तमान महासचिव रोहन गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनलाई माओवादी केन्द्र समर्थित व्यवसायी, गुरुङ व्यवसायी, तामाङ व्यवसायी लगायतको सार्थन छ । संघको वर्तमान अध्यक्ष ढकाल भन्दा महासचिव गुरुङको भूमिका संघमा महत्वपूर्ण रहेको भन्दै उनलाई अध्यक्षको उम्मेदवार वनाएको प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले जनाएको छ ।


संघको नेतृत्वका लागि विगतदेखि नै काँग्रेस र एमाले व्यवसायीका वीच तिव्र प्रतिश्पर्धा हुने गरेको छ । संघमा एमाले भन्दावढी काँग्रेस व्यवसायीले नै नेतृत्व लिने गरेका छन् । एमालेका तर्फवाट विगतमा बलवहादुर तामाङ अध्यक्ष भएपनि उनलाई कार्यकाल पुरा नभई अदालतको आदेशमा पद छोड्नु परेको थियो ।  

यस पटक भने संघमा काँग्रेस भन्दा एमाले व्यवसायी वलियो रहेको जनाइएको छ । व्यवसायीक हिसावले पनि ढकाल भन्दा गुरुङ सक्रिय रहेको व्यवसायीको भनाइ छ । संघलाई व्यवसायी र विदेसिएका कामदारको पक्षमा वलियो रुपमा उभ्याउन पनि गुरुङ सक्षम रहेको उनीहरुको भनाइ छ । 


कामदारका पक्षमा नभई व्यवसायी पक्षमा वकालत
व्यवसायीले सधै चुनावको मुखमा मात्र कामदारको कुरा निकाल्ने गरेपनि संघ व्यवसायीका पक्षमा मात्र वकाल गर्ने गरेको छ । सरकारले तोकेको न्युनतम लागत शुल्क कार्यान्वयन नगर्ने पक्षमा होस या वैदेशिक रोजगार विभागमा पर्ने गरेका उजुरी कार्यान्वयन नगर्ने पक्षमा भने संघले लड्दै आएको छ । तर, रोजगारीमा गएका कामदारको सुरक्षा, उनीहरुको पारिश्रमिक लगायतका विषयमा भने संघ सधै मौन रहने गरेको छ । सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित र सुरक्षित वनाउने भन्दै विभिन्न योजना अघि वढाएपनि संघका अगुवाइमा हुने आन्दोलन र दवावले त्यस्ता योजना विफल हुने गरेका छन् । 


सरकारले तोकेको लागत खर्च लागु नगर्ने, दोहोरो श्रम स्वीकृती वनाउने, कामदारलाई रकम तिरेको रसिद नदिने लगायतका विषयमा व्यवसायी एकजुट हुने गरेका छन् । तर, कामदारले विदेशमा श्रम सम्झौता अनुसार काम, पारिश्रमिक नपाएमा भने उनीहरु चुपचाप लाग्ने गरेका छन् ।

व्यवसायीको छाता संस्था संघले पनि ती मुद्धामा आफुलाई उभ्यान सकेको छैन । नयाँ श्रम तथा रोजगार मन्त्री आउने वित्तिकै स्वागतका लागि मन्त्रालय पुग्ने, विभागमा नयाँ प्रमुख आउदा स्वागत गर्ने काममा संघ क्रियासिल हुने गरेको केही व्यवसायीको भनाइ छ । तर, यो व्यवसायलाई मर्यादित र व्यवस्थित वनाउने एजेण्डामा अहिलेसम्म संघ चुकेको एकथरि व्यवसायीको भनाइ छ । 


विगतमा संघका तत्कालिन अध्यक्ष बलबहादुर तामाङले फ्रि भिषामा पनि नेपाली व्यवसायीले लाखौ रुपैयाँ लागत लिने गरेको खुलासा गरेका थिए । सोही कारण उनलाई अध्यक्षवाट हटाउन केही व्यवसायीले आन्दोलन नै गरेका थिए । उनलाई आन्दोलन र अदालतमा मुद्धा समेत दायर गरेर पदमुक्त गर्न व्यवसायी सक्रिय भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप