बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एल क्लासिको : मेस्सीले रोक्लान् क्याम्प नाउमा जिदानको अपराजित यात्रा ?

पछिल्ला चार खेलमा जिनेदिन जिदान बार्सिलोनाको घरेलु मैदानमा अपराजित
बुधबार, ०२ पुस २०७६, १६ : १०
बुधबार, ०२ पुस २०७६

आज विश्वभरका फुटबल समर्थकहरु दुई खेमामा विभाजित हुनेछन् । किनभने आज यो सिजनको पहिलो एल क्लासिको खेलिदैछ  जहाँ विश्व फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिड आमने–सामने हुँदैछन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा यो खेल गत अक्टोबर २६ मा नै हुनुपर्ने थियो । तर, क्याटालोनियामा जारी प्रदर्शनका कारण यस खेललाई पछि धकेलिएको हो । यसबीचमा खेललाई म्याड्रिडमा सार्ने प्रस्ताव गरिए पनि दुवै टोलीले यसलाई अस्वीकार गरेका थिए ।

अहिले पनि क्याटालोनियाको तनावका कारण दुवै टोलीलाई एउटै होटलमा राखिएको छ । दुवै टोलीलाई कडा सुरक्षाका बीच खेल शुरु हुनुभन्दा दुई घण्टाअघि सँगै मैदानमा लगिनेछ । खेलमा अवरोध गर्ने आशंकामा ३ हजारभन्दा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

दुवै टोलीको यतिबेला स्पेनिस ला लिगामा समान ३५ अंक रहेको छ । बार्सिलोना मात्र गोलअन्तरको आधारमा रियल म्याड्रिडलाई शीर्ष स्थानमा उछिनेको छ ।

अघिल्लो सिजनसम्म क्लासिकोलाई लियोनेल मेस्सी भर्सेस क्रिस्टियानो रोनाल्डोको रुपमा हेरिन्थो । तर, अहिले स्थिति बदलिएको छ । यद्यपि, यस खेलको महत्त्वमा कुनै कमी आएको छैन ।

क्लासिकोमा पछिल्लो समय बार्सिलोना सफल देखिएको छ । घरमा र घरबाहिर खेलिएका पछिल्ला ६ क्लासिकोमा बार्सिलोना अपराजित रहेको छ ।

तथ्याङ्क के भन्छ ?

हेड टु हेड

– बार्सिलोनाले ला लिगामा अन्य कुनै टोलीभन्दा रियल म्याड्रिडविरुद्ध सर्वाधिक ७२ खेल जितेको छ भने रियल म्याड्रिडले पनि प्रतियोगितामा सबैभन्दा बढी बार्सिलोनालाई नै सर्वाधिक ७२ पटक हराएको छ ।

– बार्सिलोनाले आज जीत हासिल गरे एल क्लासिकोको इतिहासमा रियल म्याड्रिडभन्दा पहिलो पटक बढी खेल जित्नेछ ।

– एल क्लासिकोमा बार्सिलोना ४ सय गोलको कोशेढुङ्गा पुग्न मात्र एक गोल टाढा रहेको छ र रियल म्याड्रिडको ४ सय ३ गोलको किर्तिमान बराबरी गर्न ४ गोल टाढा रहेको छ ।

– पछिल्ला ६ खेलमा रियल म्याड्रिडले बार्सिलोनाबिरुद्ध जीत हासिल गर्न सकेको छैन । (२ बराबरी, ४ हार) । सन् २०११ को डिसेम्बरपछि एल क्लासिकोमा रियलको यो सबैभन्दा खराब दौर हो । त्यतिबेला रियल लगातार ७ खेल जित्न असफल बनेको थियो ।

बार्सिलोना

– लियोनेल मेस्सीले सबै प्रतियोगितामा रियल म्याड्रिडबिरुद्धको पछिल्ला तीन खेलमा गोल या एसिस्ट गर्न सकेका छैनन् । तर, अर्जेन्टिनी खेलाडी कहिले पनि चिरप्रतिद्वन्द्वीबिरुद्ध लगातार चार खेलमा गोल वा एसिस्टबिहीन बनेका छैनन् ।

–लुइस सुवारेज बार्सिलोनाका लागि रियल म्याड्रिडबिरुद्ध ला लिगामा १० भन्दा बढी गोल गर्ने तेस्रो खेलाडी बन्न सक्नेछन् । उनीभन्दा अघि लियोनेल मेस्सी (१८) र सेजार रोड्रिग्वेज (१२) रहेका छन् ।

– सर्जी रोबर्टोले ला लिगामा रियल म्याड्रिडबिरुद्ध आठ खेलमा ६ वटा गोलको अवसर सृजना गरेका छन् । जसमध्ये पाँच गोल लुइस सुवारेजले गरेका छन् ।

रियल म्याड्रिड

–रियल म्याड्रिडका कप्तान सर्जियो रामोश ४३ खेलसहित सबैभन्दा बढी एल क्लासिको खेल्ने खेलाडी बन्नेछन् । उनले ४२ खेल खेलेका मोनालो सान्चेज, फ्रान्सिस्को गेन्टो र जाभी रहेका छन् । सन् २००५ मा सेभियाबाट रियल म्याड्रिड आए यता उनले सबै क्लासिको खेल खेलेका छन् । जसमा उनले चार गोल गरेका छन्, त्यो पनि सबै हेडरबाट ।

– म्यानेजरका रुपमा जिनेदिन जिदान क्याम्प नाउमा खेलिएका सबै प्रतियोगिताहरुका पछिल्ला चार खेलमा अपराजित रहेका छन् । यसक्रममा उनले दुई खेलमा जीत र दुई खेलमा बराबरी गरेका छन् । आज अपराजित रहे उनी एल क्लासिकोमा क्याम्प नाउमा लगातार ५ खेलमा अपराजित रहने रियल म्याड्रिडका पहिलो म्यानेजर बन्नेछन् ।

– रियल म्याड्रिड सबै प्रतियोगिताा पछिल्ला ११ खेलमा अपराजित रहेको छ । यसमा ८ खेलमा जीत निकालेको छ भने ३ खेल बराबरी गरेको छ ।

टोली

रियल म्याड्रिडः

क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारीका रुपमा हेरिएका एडिन हजार्डले चोटका कारण आफ्नो पहिलो एलक्लासिको गुमाउनेछन् । त्यस्तै, मार्सेलो लुकास भाज्क्वेज, हामेज रोड्रिग्वेज, अल्भारो ओड्रिओजोला र ब्राहिम पनि टोलीमा हुनेछैनन् ।

टोली : थियाबट कोर्टवा, अल्फोन्से एरिओला, डिएगो अल्टुब, ड्यानी कार्भाहाल, एडर मिलिटाओ, सर्जियो रामोश, राफायल भारान, नाचो, फर्लान्ड मेन्डी, टोली क्रुस, लुका मोड्रिच, कासिमेरो, फेडे भल्भर्डे, इस्को, करिम बेन्जेमा, गेराथ बेल, लुका जोभिच, भिनिसियस जुनियर, रोड्रिगो ।

बार्सिलोना

बार्सिलोनाका लागि ओसमान डेम्बेले र आर्थरले खेल गुमाउनेछन् ।

टोली : टेर स्टेगेन, नेल्सन सेमेडो, जेरार्ड पिके, इभान र्याकिटिच, सर्जियो रोबर्टो, लुइस सुवारेज, लियोनेल मेस्सी, नेटो, क्लेमेन्ट लेङ्लेट, एन्टोनी ग्रिजमान, जोर्डी आल्बा, सर्जियो बुस्केट, फ्रेङ्की डि जोङ, एलेक्सिस भिडाल, सामुएल उम्टिटी, कार्लेस परेज, अन्सु फाती ।

प्लेयर टु वाच

करिम बेन्जेमा, रियल म्याड्रिड, १२ गोल

लामो समयसम्म फ्रेन्च खेलाडी रियल म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोको छायाँमा रहे । तर, अहिले रोनाल्डोको बाहिरिगमनपछि उनी रियलको मुख्य खेलाडी बनेका छन् । क्लासिको अगाडि बेन्जेमा आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट फर्ममा छन् । र, उनी आजको खेलमा त्यसलाई जारी राख्न चाहन्छन् । उनले बार्सिलोनाका स्टार लियोनेल मेस्सीसँगै लिगमा समान १२ गोल गरेका छन् । यो सिजन बेन्जेमाले सबै प्रतियोगितामा २१ खेलबाट १६ गोल गरिसकेका छन् । कुनै बेला जोसे मोरिन्होले बेन्जेमालाई ‘बिरालो’ भनेका थिए । तर, बेन्जेमाले आफू बिरालो नभएर सिंह भएको प्रमाणित गरिरहेका छन् । यदि बार्सिलोनाले रियललाई आजको खेलमा रोक्ने हो भने सिंहलाई पिंजराभित्र राख्नैपर्छ ।

लियोनेल मेस्सी, बार्सिलोना, १२ गोल

हालै मात्रै किर्तिमानी छैटौँ पटक बालोन डि’ओर जितेका लियोनेल मेस्सी लामो समयदेखि बार्सिलोनाका लागि आड र भरोसा बनिरहेका छन् । उनको अनुपस्थितिमा बार्सा कमजोर बन्ने गरेको दृष्टान्त प्रशस्त छन् । यो सिजन पनि मेस्सीले आफ्नो जादूले बार्सिलोनालाई धेरै पटक उद्धार गरिसकेका छन् । पछिल्लो समय रियलबिरुद्ध मेस्सीको रेकर्ड राम्रो छैन । सबै प्रतियोगितामा रियल म्याड्रिडबिरुद्धको पछिल्ला तीन खेलमा गोल या एसिस्ट गर्न सकेका छैनन् । तर, यो सिजन १२ गोल गरिसकेका मेस्सीले आजको खेलमा फेरि जादु देखाउने छैनन् भनेर कसैले भन्न सक्दैन ।

कतिबेला हुनेछ खेल ?

नेपाली समय अनुसार एल क्लासिको नेपाली समयअनुसार बिहीबार बिहान (आज राती) १२ः४५ बजेदेखि शुरु हुनेछ । यसलाई फेसबुकमा लाइभ हेर्नपाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप