शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुगु सञ्चारविहीन : राराका पर्यटक मर्कामा

मङ्गलबार, २२ पुस २०७६, ०८ : ४१
मङ्गलबार, २२ पुस २०७६

नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ ।  

जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् । 

यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ । गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा निरन्तर हिमपात परेको जनाइएको छ । 

इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ ।  

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका प्रबन्धक हरिन्द्र बोहोराले इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको र  बैंकका सबै प्रणाली चलाउन समस्या आएको जानकारी दिए । 

बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट सञ्चालन गरिएपनि यसको गति सुस्त रहेको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँका सेवाग्राही विष्णुबहादुर भण्डारी बैंकमा रहेको आफ्नो खातामा बचत के कति छ भनेर बुझ्न आएको तीन घण्टा भइसक्दा पनि थाहा पाउन नसकेको गुनासो गरे । 

इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फाराम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको विद्यार्थी बताउँछन् । 

जिल्लाकै ठूलो वित्तीय संस्था छायाँनाथ साकोसका लेखापाल लोकराज शाहीले लघुवित्तको कारोवार, लगानी, बचत, भुक्तानीजस्ता काम गर्न  समस्या भएको जानकारी दिए । 

टाढा– टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही इन्टरनेट नहुँदा निरास भएर फर्कने गरेका छन् ।  प्रमुख पर्यटकीय क्षेत्र रारामा आउने पर्यटकसमेत मर्कामा परेका छन् । 

नागरिकले आफ्ना आफन्तजन र अन्य कारोवारका लागि सम्पर्क गर्न पाएका छैनन् । इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत बिल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न गाह्रो भएको टेलिकम मुगुले बताएको छ ।

योजना तथा कार्यक्रमको भुक्तानी दिन जिल्लामा रहेका चार स्थानीय तहलाई समस्या भएको छ । वित्तीय कारोवार गर्न सफ्टवेयर नचल्दा आफूहरुलाई काम गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाका लेखापाल जगतजङ्ग रावल जानकारी दिए ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिङ्क, एनसेल र सुविसुले समेत जिल्लामा आफ्नो सेवा विस्तार गरेका छन् ।  यी संस्थाका सेवा नाम मात्रका रहेका छन् । यिनीहरुले वितरण गरेका इन्टरनेटको गति सुस्त छ । टेलिकमको थ्रिजी सेवा गाउँ–गाउँसम्म विस्तार भएकाले सर्वसाधारण पनि मोबाइलमा डाटा लिएर इन्टरनेटजन्य कारोवार र सेवा लिने गर्दै आएका छन् ।

डाँफेलेकमा बाक्लो हिउँ  जमेको र मौसममा सुधार नआएकाले टावरमा के–कस्तो समस्या हो बुझ्न जानसमेत प्राविधिकलाई समस्या परेको जनाइएको छ ।  नेटवर्क कहिले आउँछ यसै भन्न सकिने अवस्था नरहेको टेलिकम मुगु कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप