सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिम्ल्याहा भनिएको थियो, चम्ल्याहा भयो’

शुक्रबार, ०३ माघ २०७६, ११ : ३९
शुक्रबार, ०३ माघ २०७६

कास्की । ‘८ हजारमा एक जनालाई हुन्छ तिम्ल्याहा,’ स्त्री रोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डेले भने, ‘चम्ल्याहा बच्चा त झन् ८ लाखमा एक जनालाई हुन्छ । यो एकदमै विरलै हुने घटना हो ।’

बिहीबार स्याङ्जा पुतलीबजार–१ की सुनिता पौडेल प्रधानले मनिपाल अस्पतालमा चम्ल्याहा बच्चालाई जन्म दिइन । सुनिताले चम्ल्याहा बच्चा जन्माएको खबरले सामाजिक सञ्जालदेखि अखबारसम्म भरिएको छ ।

उनै सुनिताको शल्यक्रियामा संलग्न डाक्टर हुन् पाण्डे । ‘एकदमै बिरलै हुने घटना हो यो । मनिपाल अस्पतालको २५ वर्षको इतिहासमा यसअघि हामीले कहिल्यै पनि देखेका थिएनौ,’ उनले भने ।

सुनिताले जन्माएका ४ सन्तानमध्येमा १ छोरा, ३ छोरी छन् । सुनिताको गर्भ चेकजाँज गर्दा ३ वटा बच्चा देखिएको थियो । सुनिताका श्रीमान् गौरव प्रधानले मेडिकल चेकजाँचमा ३ वटा बच्चा हुने देखिए पनि ४ बच्चा जन्मिदा चकित परेको सुनाए ।

‘भिडियो एक्स रे पनि निरन्तर भइरहन्थ्यो,’ उनले भने, ‘अपरेसन थिएटरमा बिहान ८ः३० मा जानअघि पनि हामी तिम्ल्याहा नै भन्नेमा थियौँ ।’

चम्ल्याहा बच्चा पाएपछि सुनिताको परिवारमा खुसी छाएको छ ।

गौरव (सुनिताका श्रीमान्)का दिदी दीपा श्रेष्ठ त बुहारीले चम्ल्याहा बच्चालाई जन्म दिएको खबर सुनेर पाल्पादेखि पोखरा आइपुगेकी छिन् । ‘मलाई त एकदमै धेरै खुसी लागेको छ । चम्ल्याहा बच्चा पाएको सुनेर पाल्पादेखि आएकी छु,’ उनले भनिन् ।

अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको डाक्टर महेन्द्रराज पाण्डेले जानकारी दिए । सुनिता गर्भ बसेको ८ महिनापछि चेकजाँज गराउन उनी कहाँ पुगेकी थिइन् ।

यसअघि पनि सुनिताले बच्चा जन्माइसकेकी छिन् । उनको पहिलो सन्तान ५ वर्षको पुगिसकेका छन् । ‘तिम्ल्याहा बच्चा बसेको छ भनेर उहाँहरु आउनुभएको थियो । बिरामीको जाँच सकेपछि उहाँहरुलाई सम्पूर्ण कुरा बुझायौँ । ९ महिना डेलिभरी डेट कुर्न नहुने सुझाव दियौँ ।’

‘ढिला गर्दा बच्चा र आमाको स्वास्थ्यमा समस्या आउन सक्थ्यो । त्यसैले व्यथा नलाग्दै ३४ हप्ता पुगेपछि उहाँलाई अस्पताल भर्ना गरेका हौँ,’ उनले भने ।

पहिलेको योजना अनुसार शल्यक्रियाको समय लम्बाउने योजनामा रहेको थियो । यद्यपि, पहिले नै सुनिताको स्वास्थ्यमा समस्या देखियो । बिहानदेखि सुनितालाई प्रेसर बढ्ने र टाउको दुख्न थाल्यो । ‘त्यो भनेको आमा र बच्चा दुबैको लागि जोखिम मानिन्छ,’ उनले भने, ‘त्यसैले हामीले बिहान सिनियर डाक्टरहरुको टीम जम्मा भएर, अप्रेसन गरी चम्ल्याहा बच्चा जन्माएका छौँ ।’

तिम्ल्याहा बच्चाको शल्यक्रिया गर्ने तयारी पहिलेदेखि नै पुरा भएकाले चम्ल्याहा बच्चा जन्माउन कुनै समस्या नपरेको उनले सुनाए । ‘सम्पूर्ण स्टाफहरु तयारीमै थियौँ । अपरेशनको दौरानमा कुनै पनि समस्या देखिएन,’ उनले भने, ‘रक्तश्राव होला की भनेर रगतको पनि व्यवस्था गरेका थियौं ।’

सुनिताले जन्म दिएकी चम्ल्याहा बच्चामध्ये पहिलो छोरी १.६ किलोग्रामकी छिन् भने दोस्रो सन्तानको रुपमा छोराको जन्म दिएकी छिन् । उनको तौल १.३ किलोग्रामको छन् । तेस्रो, चौथो छोरी क्रमश १.३ र १.४ किलोग्राम छ । 

डाक्टर महेन्द्रराज पाण्डको नेतृत्वमा ४ जनाको टोलीले सुनिताको शल्यक्रिया गरेको थियो । अस्पतालले आमा र शिशु पाँचै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताएको छ ।

चम्ल्याहा बच्चा जन्माउने सुनिता २६ वर्षकी हुन् । उनका श्रीमान वैदेशिक रोजगारीका क्रममा युएइमा रहेका छन् । आमा र बच्चालाई अहिले छुट्टाछुट्टै वार्डमा राखिएको छ । अझै केही दिनसम्म चम्ल्याहा बच्चा, आमा पाँचै जनालाई विशेष निगरानीमा राखिने अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप