राजधानीमा गएको १५ महिनामा ३५ हजारलाई कुकुरले टोक्यो
काठमाडौँ । गएको १५ महिनामा काठमाडौँ उपत्यकामा ३५ हजार ५ सय ६२ लाई कुकुरले टोकेको छ । २०७३ वैशाखदेखि २०७४ साउनसम्म काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साढे ३५ हजार जनाले उपचार गराएका छन् ।
अस्पतालमा दैनिक १ सयसम्मको हाराहारीमा कुकुरले टोकेका बिरामी आउने गरेको अस्पतालका डाक्टर शेरबहादुर पुनले जानकारी दिए । उपचारका लागि बिहानको समयमा अस्पतालमा कुकुरले टोकेका मानिसको भीड लाग्ने गर्छ ।

अस्पतालको आँकडाअनुसार २०७३ वैशाखमा २ हजार ७३, जेठमा २ हजार १ सय ६५, असारमा २ हजार १९, साउनमा १ हजार ९ सय ७१, भदौमा १ हजार ६ सय ६२, असोजमा १ हजार ६ सय ५८, कात्तिकमा १ हजार ७ सय ४५, मङ्सिरमा २ हजार १ सय १, पुसमा २ हजार ४ सय ६३, माघमा २ हजार २ सय ६, फागुनमा २ हजार ६ सय २४ र चैतमा ३ हजार १ सय २० जनाले कुकुरको टोकाइको उपचार गराएका छन् ।
यस्तै यस वर्षको वैशाखमा २ हजार ९ सय ७१, जेठमा ३ हजार ५ सय ६३, असारमा ३ हजार २ सय २१ जनाले उपचार गराएको अस्पतालका मेडिकल रेकर्ड निरीक्षक शम्भु खड्काले जानकारी दिए ।
उपत्यकामा छाडा कुकुरको सङ्ख्या धेरै भएका कारण कुकुरले टोकेका बिरामी बढेको अस्पतालको भनाइ छ । अस्पतालका डाक्टर शेरबहादुर पुनले टेकु अस्पतालमा आउने कुकुरले टोकेका बिरामीले सिङ्गो उपत्यकाको आँकडा देखाउने बताए ।
कुकुरले टोकेमा के गर्ने

कुकरले टोकेमा तत्काल अस्पताल जानुपर्छ, अन्यथा रेबिज लाग्ने सम्भावना हुन्छ । रेबिजबाट मानिसको मृत्युसमेत हुने गरेको छ । अझ औँलाको टुप्पामा र घाँटीभन्दा माथि टोकेमा २ घन्टाभित्र अस्पताल पुग्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् । यस्तो अवस्थामा कुकुरले टोकेका बिरामीका लागि छुट्टै खालको औषधी प्रयोग गर्नुपर्ने बताउँछन् । कुकुरले टोकेपछि घाउलाई बगिरहेको पानीमा साबुन लगाएर धुनुपर्छ जसले घाउमा रहेका जीवाणु केही मात्रामा घट्ने चिकित्सकको सुझाव छ । कुकुरको टोकाइपछि र्यालबाट मानिसमा रेबिज सर्ने खतरा हुन्छ । सुरुमा कुकुरको र्याल घाउको माध्यमबाट मासुमा प्रवेश गर्छ । मासुबाट सहायक नसा हुँदै केन्द्रीय नसा हुँदै दिमागमा पुगेर असर पार्न थाल्दछ । यसरी असर देखिएको एक हप्ता/दस दिनमा मानिसको मृत्यु हुने गर्दछ । यसकारण कुकुरले टोकेमा समयमा घाउ सफा गरी छिटोभन्दा छिटो अस्पताल जान चिकित्सकको सुझाव छ ।
बच्ने उपाय
कुकुरको टोकाइबाट बच्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनको यस्तो सुझाव छ :
–रातिको समयमा हिँड्दा ध्यान पुर्याउनुपर्छ, सडकमा कुकुरले जथाभावी टोक्दै हिँडेका छन् कि विचार पुर्याउनुपर्छ ।
–सडक कुकुर सबैमा रेबिज लागेको छ भन्ने हुँदैन, त्यस्ता कुकुरहरू जसले मुखबाट र्याल पनि चुहाएको छ, पुच्छर टाँङमुनी लुकाएको छ, एक्लै हिँडिरहेको छ, जे भेट्टायो त्यही टोकिरहेको छ भने कुकुरलाई रेबिज भएको सम्भावना बढी हुन्छ । त्यस्तो कुकुरको नजिक जानुहुँदैन । त्यस्तो कुकुरले टोक्यो भने हामीलाई रेबिज सर्न सक्छ ।
–कुकुरले टोकेपछि तत्काल सरसफाई गरेर अस्पालतमा चिकित्सकसँगको परामर्शमा उपचार गराउनुपर्छ ।

काठमाडौँमा कुकुरले टोकेका बिरामीको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुने गरेको छ । कुकुरले टोकेका बिरामीलाई उपचारका लागि अन्य अस्पतालले पनि सोही अस्पताललाई सिफारिस गर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकाले सडकका कुकुर नियन्त्रणका लागि वार्षिक बजेट विनियोन गर्ने गरे पनि उक्त कार्यक्रम प्रभाकारी हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण