विश्व बजारमा घट्यो तेलको मूल्य, कतिमा भइरहेकाे छ कारोबार ?
सारांश
- विश्व बजारमा पुनः इरानको तेल आउन सक्ने संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उल्लेख्य कमी आएको छ ।
- यसले मुद्रास्फीति कम हुने अपेक्षा बढाएको छ भने सरकारी ऋणपत्रको प्रतिफल पनि घटेको छ ।
- लगानीकर्ताहरूको ध्यान अहिले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) का नयाँ अध्यक्ष केभिन वार्शको पहिलो नीतिगत बैठकतर्फ केन्द्रित भएको छ ।
न्युयोर्क । विश्व बजारमा पुनः इरानको तेल आउन सक्ने संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उल्लेख्य कमी आएको छ । यसले मुद्रास्फीति कम हुने अपेक्षा बढाएको छ भने सरकारी ऋणपत्रको प्रतिफल पनि घटेको छ । लगानीकर्ताहरूको ध्यान अहिले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) का नयाँ अध्यक्ष केभिन वार्शको पहिलो नीतिगत बैठकतर्फ केन्द्रित भएको छ ।
तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ बुधबार प्रतिव्यारेल ८० डलरभन्दा तल झरेको छ । बुधबार तेलको भाउ अमेरिका–इरान द्वन्द्व सुरु भएयताकै सबैभन्दा न्यून स्तरमा झरेको छ । लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा बुधबार ब्रेन्ट प्रतिब्यारेल ७८ डलर २२ सेन्टमा आएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव ९४ प्रतिशत कम हो ।
उता, न्यु योर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि १ दशमलव शून्य ९ प्रतिशतले घटेर प्रतिब्यारेल ७५ डलर १६ सेन्टमा किनबेच भइरहेको छ ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार युद्ध अन्त्यसम्बन्धी सम्झौताअन्तर्गत अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । यसले विश्व बजारमा थप लाखौँ ब्यारेल तेल आपूर्ति हुन सक्ने अपेक्षा बढाएको छ । यस समाचारपछि अमेरिकामा सरकारी ऋणपत्रको प्रतिफल घटेको छ ।
त्यसको प्रभाव एसियाली बजारहरूमा पनि देखिएको छ । जापानको १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल १ दशमलव ५ आधार बिन्दुले घटेर २ दशमलव ६३ प्रतिशतमा झरेको छ भने अस्ट्रेलियाको १० वर्षे प्रतिफल पनि ५ आधार बिन्दुले घटेर ४ दशमलव ७८७ प्रतिशतमा आएको छ ।
एचएसबीसी बैंककी वरिष्ठ ऊर्जा विश्लेषक किम फुस्टियरका अनुसार बजारले स्टेट अफ होर्मुजबाट तेल ढुवानी पूर्ण रूपमा सामान्य हुने सम्भावना उच्च रहेको मूल्याङ्कन गरिरहेको छ । यद्यपि, यो प्रक्रिया पूर्ण रूपमा सामान्य हुन सेप्टेम्बरको अन्त्यसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।
शुक्रबार हस्ताक्षर हुने भनिएको अमेरिका–इरान सम्झौताका धेरै विवरणहरू अझै सार्वजनिक भएका छैनन् । विगत तीन महिनादेखि होर्मुजमा आवागमन ठप्प प्रायः हुँदा विश्व तेल भण्डारणमा दबाब परेको थियो । अमेरिकाको तेल मौज्दात सन् १९८३ पछिकै न्यून स्तरमा पुगेको बताइएको छ ।
लगानीकर्ताहरू अहिले फेड अध्यक्ष केभिन वार्शले ब्याजदरबारे कस्तो सङ्केत दिन्छन् भन्ने प्रतीक्षामा छन् । बजारले यस वर्ष ब्याजदर वृद्धि हुन सक्ने अनुमान गरिरहेको छ । विश्लेषकहरूका अनुसार यस बैठकमा ब्याजदर परिवर्तन हुने सम्भावना कम छ । तर वार्शको पत्रकार सम्मेलन र फेड अधिकारीहरूको आर्थिक प्रक्षेपणलाई विशेष महत्वका साथ हेरिनेछ ।
पिक्टेट वेल्थ म्यानेजमेन्टका वरिष्ठ अर्थशास्त्री सियाओ कुईका अनुसार वार्शले तत्काल स्पष्ट मार्गदर्शन दिनुभन्दा धैर्यतापूर्वक मौद्रिक नीति अपनाउने सङ्केत दिन सक्छन् ।
यदि उनले ब्याजदर बढ्न सक्ने सम्भावनालाई समर्थन गरे भने बजारले त्यसलाई कठोर नीति सङ्केतका रूपमा लिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण