सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

समान ज्यालाको माग गर्दै पीएनमा अनिश्चितकालीन आन्दोलन

बिहीबार, १६ माघ २०७६, १२ : ३२
बिहीबार, १६ माघ २०७६

पोखरा । पृथ्वीनारायण क्याम्पसको पठनपाठन तीन दिनदेखि ठप्प छ । दैनिक ज्यालादारीमा १४ वर्षदेखि अध्यापन गराउँदै आएका आंशिक शिक्षकहरूले समान ज्यालाको माग गर्दै अनिश्चितकालीन क्याम्पस बन्दको घोषणा गरेर पठनपाठन रोकेका छन् । 

अर्कोतर्फ शिक्षकहरूको आन्दोलनको विरोध गर्दै विद्यार्थीले पनि आन्दोलन थालेका छन् । पठनपाठन सुरुआत गर्न माग गर्दै विद्यार्थीले बुधबार क्याम्पस परिसरमा नाराबाजी गरे । 

क्याम्पसका अनेरास्ववियु सदस्य विष्णु पोखरेलले शिक्षकको समस्या समाधान गर्न पठनपाठन ठप्प पार्न नहुने बताए । ‘साँढेको जुधाइमा बाच्छाको मिचाइ’ हुनुभएन, रातोपाटीसँग उनले भने, ‘विद्याथीले पढ्न पाउनुपर्‍यो नि त । सरहरूको समस्याले विद्यार्थीहरू पढाइबाट वञ्चित हुनु भएन ।’

समान काम, समान ज्यालाको माग गर्दै आन्दोलनमा उत्रेका शिक्षकहरूको माग नाजायज नभए पनि विद्यार्थीहरूको अधिकार हनन् गर्न नमिल्ने उनले तर्क राखे । ‘उहाँहरूको माग नाजायज छैन’, उनले भने, ‘नाजायज छैन भन्दैमा, अरूको अधिकार हनन् गर्नु त भएन नि ।’

शिक्षकहरूले अहिले छुटेको क्लास पछि कभर हुने गरी पढाउने आश्वासनसमेत दिएको उनले सुनाए । तर शिक्षकहरूको आन्दोलनले परीक्षाको मिति नसर्ने उनले बताए । ‘तेस्रो वर्षको परीक्षा एक महिनापछि हुँदै छ’, उनले भने, ‘परीक्षा त एक महिनापछि सर्दैन ।’ आंशिक्षक शिक्षकहरूको मागलाई लिएर क्याम्पस प्रमुख, प्रशासन, भिसी सकारात्मक भइसकेको हुनाले तत्काल पढाइ सुरु हुनुपर्ने आफूहरूको माग रहेको उनले सुनाए । कोर्स पछि सकौँला भन्दै छुट्टै क्लास लिएर पैसा असुल्ने शिक्षकहरूको प्रवृद्धिप्रति पनि आफूहरू सचेत रहेको उनले सुनाए । 

आंशिक शिक्षक विष्णु गौतमले माग सम्बोधन नभएसम्म पढाउन नफर्किने आंशिक शिक्षकहरूको सहमति भएको सुनाए । ‘माग सम्बोधन नभएसम्म पढाउन नफर्किने सहमतिसहित आन्दोलनमा उत्रिएका हौँ’, उनले भने । 

आंशिक प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतम २०६३ देखि क्याम्पसमा आंशिक शिक्षकहरूले अध्यापन गर्न सुरुआत गरे पनि ०७६ सम्म आइपुग्दा पनि समस्याको समाधान हुन नसकेको बताए । ‘क्याम्पसको करिब ७० प्रतिशत कक्षाभार हामीले नै सम्हालेका छौँ’, उनले भने, ‘अब दैनिक ज्यालादारीमा पढाउन सक्ने अवस्था रहेन त्यसैले आन्दोलनमा उत्रिएका हौँ ।’ 

आंशिक शिक्षकहरूको समस्या लिएर क्याम्पस प्रमुख लगायतको टिम काठमाडौँमा गाएको उनले जानकारी दिए । आफूहरू गुणस्तरीय शिक्षाको पक्षमा उभिँदै आए पनि माथिको निर्णयपछि थप कुरा तय हुने उनले सुनाए । 

‘कतिपय दरबन्दी खाली छन् । केन्द्रमा पनि ती दरबन्दी पुगिसकेका छन्’, उनले भने, ‘यहाँबाट रिक्त भएर गएका दरबन्दीलाई पुनः यहीँ ल्याएर व्यवस्थापन गर्ने । आंशिक शिक्षकको ठूलो सङ्ख्या छ, उहाँहरूलाई पनि विश्वविद्यालयभित्र प्रवेश गराएर आत्मनिर्भर बनाउने । यसरी, पृथ्वीनारायण क्यामपसलाई थप गुणस्तरीय शिक्षा दिने ठाउँ बनाउने हाम्रो उद्देश्य हो ।’

क्याम्पसमा २ सय १८ जना आंशिक शिक्षक प्राध्यापन गर्दै आएका छन् । जसमध्ये ०६३ देखि विषय र कक्षा भारको मागअनुसार आंशिक शिक्षक थपिँदै आएको छ ।

क्याम्पस प्रमुख चन्द्रबहादुर थापाले टेलिफोन वार्तामा शिक्षकहरूको समस्या लिएर काठमाडौँ आइपुगेका बताए । आंशिक शिक्षकहरूको समस्या आफूहरूले नभई केन्द्रले निकालेको उनको भनाइ छ । ‘आज भीसी र रजिस्ट्रारसँग यो समस्याबारेमा  ब्रिफिङ गरिसकेको छु,’ उनले भने ‘तर यो समस्या क्याम्पसले नभई केन्द्रको पोलिसीले उठेको हो ।’ यसको निकास नलिई पोखरा नफर्किने अडान सहितको ब्रिफिङ भीसी र रजिस्टारसँग गरेको उनले सुनाए । उनले भने ‘तपाईंहरूले के निकास दिनुहुन्छ । म पोखरा फर्केर आन्दोलन सुल्झाउन सक्दिनँ, केन्द्रबाट सिर्जना भएका समस्या हुन्, पीएनमा पुगेर थिग्रिए । निकास नबोकी म पोखरा फर्किन्नँ, बरु यतै नियुक्त दिनुस् भनेर भनेको छुँ ।’ 

त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्टको उपाधि पाएको पीएनलाई विश्वविद्यालय अुनदान आयोग क्यूएए (क्वालिटी एस्योसेन्स एजेन्सी) पाएको छ । यस क्याम्पसमा १२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप