बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : कोरोनाको त्रास – कतारबाट नेपाली डिपोर्ट, नेपालबाट ३५ विदेशी फिर्ता

मङ्गलबार, ०४ चैत २०७६, ०७ : ०७
मङ्गलबार, ०४ चैत २०७६

आज चैत ४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोनाभाइरसको फैलिदो प्रभावका बारेमा समाचारहरु प्रकाशित छन् ।

अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको नागरिक दैनिकमा समाचार छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि लागू हुनेगरी अनअराइभल भिसा रद्द गरेको थियो भने भिसा लिएर आउनेका हकमा पनि सात दिनभित्रको मेडिकल परीक्षण रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको थियो। त्यसको पालना नगर्ने विदेशी नागरिकलाई फिर्ता पठाइएको अध्यागमन विभागअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थीले जानकारी दिए। ‘अनअराइभल भिसा बन्द गरिएको र विदेशबाट आउँदा मेडिकल रिपोर्ट देखाउनुपर्ने व्यवस्था भएको र त्यसको बेवास्ता गरी सोमबारसम्म नेपाल आएका ३५ जनालाई अध्यागमनबाटै फिर्ता पठाइएको छ,’ पन्थीले भने, ‘जसमध्ये मेडिकल रिपोर्टबिनै आएका धेरै फिर्ता भएका छन् भने केही भिसा नलिई आउनेलाई फिर्ता गरिएको छ।’ विमानस्थल अध्यागमनका अनुसार परिवर्तित अध्यागमन नियम पालना नगरेका कारण फिर्ता हुने नागरिकहरूमा फ्रान्सका ६ जना, चीनका पाँचजना, बेलायतका पाँचजना, जापानका चारजना, नेदरल्यान्डस्का तीनजना, इटलीका दुईजना, इजरायलका दुईजना, चेक रिपब्लिकका दुईजना छन्। त्यसैगरी हङकङका एकजना, अमेरिकी एकजना, मेक्सिकोका एकजना, अफगानस्तानका एकजना, अस्टे«लियाका एकजना र मलेसियाका एकजना छन्। विभाग स्रोतका अनुसार फिर्ता हुनेमा केही विदेशी पासपोर्ट लिएका गैरआवासीय नेपालीसमेत छन्। पछिल्लो नियमअनुसार विदेशी पासपोर्ट वाहक गैरआवासीय नेपालीले पनि सात दिनभित्रको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपालको कूटनीतिक नियोगबाटै भिसा लिनुपर्ने व्यवस्था छ।

कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ । यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन् । नेपाल सरकारले यसबारे सूचना प्रवाह गर्न दूतावासलाई पत्राचार गरेको थियो । सबैजसो खाडी मुलुकमा कार्यरत कामदारलाई जोखिम क्षेत्रमा नजान भन्दै क्वारेन्टाइनमा राखिएको छ । कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्रभित्रै क्वारेन्टाइन बनाएर राखिएको परराष्ट्र अधिकारीले बताएका छन् । उनीहरू क्वारेन्टाइनबाटै काममा आउने–जाने गर्छन् । खाडीका सबै मुलुकमा सुरक्षा व्यवस्था कडा गरिएको छ । विदेशी आउजाउमा रोक लगाइएको छ । साउदी अरेबियाले मुस्लिमको पवित्र स्थल मक्का मदिना जानेलाई रोक लगाइएको छ । नेपाली रहेका मुलुकमा कोही न कोही व्यक्तिमा कोरोनाको शंका भएपछि निकट रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । नेपाली कामदारलाई आफू बसेको देशको कानुनी व्यवस्थाबारे सेचत हुन जानकारी गराउन परराष्ट्रले खाडीलगायत सबै मुलुकमा रहेका नियोगलाई पत्राचार गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।

सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइनेछ । त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ । संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आइसियू बेड अविलम्ब थप्ने निर्णय समितिले गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर, पाटन, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेद अस्पताल कीर्तिपुरमा २०–२० आइसियू बेड थपिने समितिले जनाएको छ । त्यस्तै, प्रदेशहरूमा आवश्यकताअनुसार कम्तीमा एक सय १५ वटा आइसियू बेडको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ । कोरोना संक्रमितको उपचारका लागि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायत उपत्यकामा रहेका स्वास्थ्य मन्त्रालयले तोकेका विभिन्न अस्पताल तथा भवनमा एक हजार बेडको व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ । कोरोना भाइरस संक्रमणको उपचारका लागि सरकारले उपत्यकाका ६ अस्पताललाई तोकेको छ । हरेक अस्पतालमा एक सय ५६ स्वास्थ्यकर्मी खटाउने सरकारको तयारी छ । टेकु अस्पतालका कर्मचारी प्रशासन शाखा प्रमुख रूपनारायण खतिवडाका अनुसार विषम परिस्थितिसँग जुध्न खटिएका करारका स्वास्थ्यकर्मीलाई तलब स्केलको ७५ प्रतिशत भत्ताको समेत व्यवस्था गरिएको छ । तर, स्थायी रूपमा काम गरिरहेका ल्याब, रेडियोलोजी, नर्सिङ जनशक्तिलाई भने २५ प्रतिशत भत्ता दिइनेछ । उनीहरूले सम्बन्धित अस्पतालबाट नियमित भत्ता पाउँदै आएका छन् ।

पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा रहेको कान्तिपुर दैनिकमा समाचार छ। आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो । पोर्चुगलका पत्रकार गणेश पाण्डेका अनुसारआइतबारफारोस्थित खेतीमा काम गरिरहेका एक जना नेपाली बिरामी परेपछि उनीसँगै काम गर्ने साथीले अस्पताल लगेका थिए। चिकित्सकहरुको परीक्षणपछि ती नेपालीलाई कोरोना लागेको निश्चित गरेपछि तिनलाई लिएर जाने नेपालीलाई पनि जाँच गर्नुपर्ने भन्दै अस्पतालको कोठामा केहि बेर पर्खन लगाएका थिए।तर, चिकित्सकले 'कोरोना लागेका व्यक्तिलाई लिएर आएकाले तिम्रोपनि परीक्षण गर्नुपर्छ' भनेर पर्खाएपछि ती नेपाली अस्पतालबाट भागेका थिए। त्यसपछि चिकित्सकले आइतबार राति नै अध्यागमन प्रहरीलाई खबर गरेको थियो। अध्यागमन प्रहरीहरुले फारोको खेतीमा काम गर्ने नेपालीहरुको सूची लिएर रातैभरि छापा हानेर उनीहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो। आइतबार बेलुकी उनीहरुलाई इन्सिनो ब्यासिको २-३ सान्टो आन्तोनिउ फारोको एक स्कुलको क्‍वारेन्टाइनमा राखिएको छ। सबै नेपालीहरु एउटै कम्पनीमार्फत् कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यममा जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप