शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन शिक्षाबारे बहसः पेट पाल्न संघर्ष गरिरहेका विद्यार्थीले कसरी लिने अनलाइन कक्षा ?

आइतबार, २१ वैशाख २०७७, १६ : २२
आइतबार, २१ वैशाख २०७७

काठमाडौं– कम्प्युटर फ्याकल्टी एसोसिएशन अफ नेपाल (CFAN) ले राष्ट्रिय सूचना तथा संचार प्रबिधि दिवसको उपलक्ष्यमा ‘एजुकेशन इन नेपाल ड्यूरिङ, आफ्टर कोभिड–१९ एण्ड कम्प्युटर टिचर’ विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्रि डा. गंगालाल तुलाधरले विपदको घडीमा शैक्षिक गतिविधिहरु संचालन गर्न गार्हो हुने भए पनि भविष्यका निम्ति आवश्यक नीति तर्जुमा गरि अघि बढ्नुपर्ने तथा त्यसको कार्यान्वयन तथा पूर्वाधार विकाशको लागि कम्प्युटर प्राध्यापकहरु तथा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

त्यसैगरी, नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले शिक्षाको विविध आयामको बारेमा चर्चा गर्दै डिजिटल लर्निङ्गनै अबको विकल्प भएको र त्यसको सफल कार्यान्वयनको लागि कम्प्युटर प्राध्यापकहरु तथा  शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गरे । अनलाइन शिक्षा बन्द नै गर्ने पोखरा महानगरपालिकाको कदम गलत भएको भन्दै थापाले आवश्यक पूर्वाधार विकाश गरि ई–लर्निङ्गलाई सबैको पँहुचमा पुर्याउनु पर्ने बताए ।

उक्त कार्यक्रममा नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माले खुल्ला विश्वविद्यालयमा भैरहेको अभ्यासबारे जानकारी दिँदै ई–लर्निङ्गको सफल कार्यान्वयनको लागि यो अनुभव प्रस्थान बिन्दु हुने बताए । 

वरिष्ठ शिक्षाविद एवं काठमाडौँ विश्वविद्यालयका पूर्व डिन प्रा.डा. मनप्रसाद वाग्लेले हाम्रो तयारी नपुगेको कारणले अहिलेको अनलाइन शिक्षाको प्रयोग बलपूर्वक गरिएको जस्तो देखिए पनि एक्काईसौं शताब्दीमा अनलाइन बिना शिक्षाको परिकल्पना गर्न नसकिने बताए ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्रा.डा. सुवर्ण शाक्यले शिक्षा मात्र नभएर राज्यले प्रदान गर्ने सम्पूर्ण सेवाहरु अनलाइनमार्फत प्रदान गर्ने गरि ई–लर्निङ्गको कुरा सन् २००६ देखि नै उठेपनि त्यसको सफल कार्यान्वयन हुन नसक्दा आज समस्या भएको र अब पनि सम्बेदनशील भएर पूर्वाधार विकाशमा नलाग्ने हो भने भविष्यमा अझ ठुलो समस्या आउन सक्ने तर्फ सचेत गराए ।

त्यसैगरी उक्त अन्तरक्रियामा सहभागी हुदै वरिष्ठ जनस्वास्थ्यबिद एवं युनिभर्सिटी अफ हदसर्पिmल्ड बेलायतका प्रा.डा. पदम सिम्खडाले ई–लर्निङ्गका सम्बन्धमा बेलायतको अभ्यास सुनाउँदै पूर्वाधार छैन, डिजिटल डिभाइड छ  भनेर चुपलागेर बस्न नहुने बताए । महामारीको समयमा स्वास्थ्यलाई नै पहिलो प्राथमिकता दिइएको भएपनि आवश्यक पूर्वाधार भएकोले बेलायतमा विद्यालय र विश्वविद्यालयमा शैक्षिक गतिविधी सुचारु गर्न सजिलो भएको बताए । 

सामाजिक/राजनीतिक विश्लेषक एवं डेजी स्कूल पर्सा चितवनका प्राचार्य प्रेमराज रिमालले हाम्रो सामाजिक/आर्थिक अवस्थाको चर्चा गर्दै डिजिटल डिभाइडले मानसिक समस्या समेत ल्याउन सक्ने अनि सरकार तथा विभिन्न संघ संस्थाको राहतको भरमा महामारीको यो क्षणलाई आधा पेट खाएर मुकाबिला गरिरहेका परिवारका विद्यार्थीहरु कसरी अनलाइन कक्षामा आउन सक्छन भन्ने प्रश्न गरे । तथापी सूचना प्रविधि शिक्षा अपरिहार्य रहेको, सबै वर्गका विद्यार्थीको पहँुचमा पुग्नेगरी पूर्वाधार विकाश गर्नुपर्ने र त्यसका लागि काम गर्न ढिलो भैसकेको पनि उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप