बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको जोखिम बढेपछि प्रदेश ५ को नयाँ नीति : सीमामा कडाइ, कोरोना देखिएको ठाउँ तत्काल सिल

सोमबार, २६ साउन २०७७, २० : ०१
सोमबार, २६ साउन २०७७

बुटवल । प्रदेश ५मा केही जिल्लामा समुदायमा कोरोना संक्रमण देखिएपछि प्रदेश ५ सरकारले संक्रमणको जोखिम बढ्न नदिन सीमामा कडाई र कोरोना देखिएका ठाउँमा तत्काल शिल गर्ने रणनीति अपनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रकोे बैठकले लकडाउन खुलेसँगै प्रदेश ५ पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले नेपाल भारत बीचका तोकिएका सीमा नाकाबाट सुरक्षित आवागमनको व्यवस्था गर्ने, अभिलेख राख्ने र हेल्थडेस्क राखी चेकजाँचको व्यवस्था गर्ने निर्णय भएको छ  । 

यस्तै संक्रमण जोखिमको अवस्था हेरी समुदायमा संक्रमण देखिएमा सिल गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेर बहादुर केसीले जानकारी दिए । उनले १३ बटा निणर्य नै सार्वजनिक गरेका छन् । प्रदेश ५को बाँके र कपिलबस्तु सवै भन्दा धेरै कोराना संक्रमित बनेका छन् । रुपन्देहीमा पनि संक्रमित संख्या दैनिक बृद्धि भएको छ ।

यस्तै प्युठानमा आज १४ जना सैनिक सहित ३३ जनामा कोरोना संक्रमण भएको छ ।यसरी दैनिक सक्रिमतिहरु बृद्धिभए पछि प्रदेश कोरोना संकट व्यवस्थापन बैठकले यस्तो निणर्य गर्नु परेको हो ।

प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णयहरु 

१. कोभिड १९ को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने ।

नेपाल भारत बीचका तोकिएका सीमा नाकाबाट सुरक्षित आवागमनको व्यवस्था गर्ने, अभिलेख राख्ने र हेल्थडेस्क राखी चेकजाँचको प्रभावकारी व्यवस्था समेत मिलाउने ।

२.नेपाल भारतबीचको छोटो खालको आवतजावतलाई नियन्त्रण गर्ने । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले कम्तिमा १४ दिन क्वारेन्टाइनमा नराखेको व्यक्तिलाई काममा नलगाउन सम्बन्धित रोजगारदाताहरुलाई समेत सुसूचित गर्ने व्यवस्था मिलाउने ।

३.अन्तरप्रदेश आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउने सम्बन्धमा स्वास्थ्य सुरक्षाका मापदण्ड र हेल्थडेस्कको व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने व्यवस्था जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने ।

४. संक्रमण जोखिमको अवस्था हेरी समुदायमा संक्रमण देखिएमा सिल गर्ने । यस्तो स्थानको परिक्षणको कार्यलाई छरितो र प्रभावकारी बनाउने ।

५.हरेक पालिकाहरुले पूर्ववत निर्णय बमोजिम नै तराईका जिल्लामा कम्तिमा २ सय बेड, पहाडका जिल्लामा कम्तिमा २ सय बेड र रुकुम पूर्व जिल्लामा कम्तिमा ५० बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याउने ।

६ पालिकाहरुले विगतमा क्वारेन्टाइन निर्माणका क्रममा खरिद गरेका सामग्रीहरुको अत्यावश्यक समयमा उपयोगमा ल्याउन सक्ने गरी व्यवस्थापन, भण्डारण र अभिलेखीकरण प्रभावकारी रुपमा गर्ने ।

७. सामाजिक विकास मन्त्रालयले कोभिड १९को थप जोखिमलाई विश्लेषण गरी हाल कोरोना विशेष अस्पतालमा खटिएको जनशक्तिलाई थप तीन महिनाका लागि निरन्तरता दिने ।

८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालालाई कोभिड १९ को परिक्षणका लागि सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयले आवश्यक पहल गर्ने ।

९. स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्न गराउन सुरक्षा निकायले अभियानकै रुपमा कार्य सञ्चालन गर्ने । साथै जनचेतना वृद्धि गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने ।

१०. पालिकास्तरमा मास्क खरिद गर्न नसक्ने व्यक्तिहरुलाई पालिकाले व्यवस्था गर्ने । मास्क प्रयोग नगरी हिड्नेहरुलाई मास्क प्रयोग गर्न अनुरोध गर्ने । 

अटेर गर्ने वा वेवास्ता गर्नेलाई जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले नियमानुसार जरिवाना गरी प्रदेश कोरोना रोकथाम तथा उपचार कोषमा रकम जम्मा गर्ने ।

११. सुरक्षा निकायको जनशक्तिमा संक्रमण देखिएमा आइसोलेसनमा राख्ने व्यवस्थाका लागि आवश्यक स्थान र सामग्रको अग्रिम व्यवस्था गर्ने ।

१२ प्रदेशमा थप संक्रमण र जोखिम हुन नदिन सबै निकाय र पदाधिकारीहरुले अग्रसरता लिई आवश्यक समन्वय सहित कार्य गर्ने ।

१३. आगामी दिनमा प्रदेशमा कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक जनशक्ति, औषधी र अन्य स्वास्थ्य सामाग्रीहरुको प्रभावकारी प्रवन्ध गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप