मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित

मध्यावधिको त्रास देखाउँदै एमाले, कांग्रेसमा सन्नाटा
मङ्गलबार, ०५ साउन २०८३, ०७ : ३०
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • कोशी प्रदेशमा कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा विकसित भइरहेको राजनीतिक समीकरणको प्रभाव परेको छ ।
  • एमाले नेतृत्वको कोशी सरकारबाट कांग्रेस बाहिरिने चर्चा चले पनि आधिकारिक निर्णय भएको छैन, तर तीन प्रमुख दल आन्तरिक छलफलमा जुटेका छन् ।
  • मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले प्रमुख सचेतक रमेशकुमार बस्नेत र नेकपाका नेताहरू काठमाडौँमा केन्द्रित भई पार्टी नेतृत्वसँग छलफल गरिरहेका छन् ।

विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा विकसित हुँदै गरेको नयाँ राजनीतिक समीकरणको बाछिटा कोशी प्रदेशमा पनि परिरहेकै छ । एमाले नेतृत्वको कोशी सरकारबाट नेपाली कांग्रेस बाहिरिने भनिए पनि सो पार्टीले आधिकारिक निर्णय लिन भने सकेको छैन ।

यद्यपि प्रदेश सभाका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले भने आन्तरिक छलफललाई तीव्रता दिएका छन् । कांग्रेसले केन्द्रसँग छलफलका लागि कोशी प्रदेश सभा संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्याललाई जिम्मेवारी दिइसकेको छ ।

उता, एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की केही दिनदेखि राजधानी काठमाडौँमै केन्द्रित भएका छन् । प्रमुख सचेतक रमेशकुमार बस्नेतसहित कार्कीले काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरिरहेको स्रोतको दाबी छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेशकुमार बस्नेतले पार्टीको केन्द्रीय नेतृत्वलाई कोशी प्रदेशको गम्भीर अवस्थाबारे सचेत गराएको बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सहभागी आइतबारको संसदीय विभागको बैठकमा बस्नेतले कोशीको वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए ।

‘हाम्रो विभागले सात वटै प्रदेशका साथीहरूसँग कुराकानी गरेको थियो । मैले विगतदेखि अहिलेसम्म कोशी प्रदेशमा ५ पटक मुख्यमन्त्री परिवर्तन भएको, सभामुख समेत सरकार फेरबदलमा सहभागी हुनुभएको जस्ता अलि अनौठो अभ्यासको कुरा राखेँ,’ बस्नेतले भने, ‘अहिले कोशी प्रदेश सभामा भएको अङ्कगणितको कुरा पनि राखेँ ।’

यदि बुद्धिमत्तापूर्वक काम भएन भने मध्यावधिमा जान सक्ने विषयमा आफूले सचेत गराएको उनको भनाइ छ ।

अहिले सरकार गिराउने र बनाउने खेलमा लाग्ने समय नभएको भन्दै उनले बुद्धिमतापूर्वक काम नगरे मध्यावधिमा जानुपर्ने अवस्थाबारे ब्रिफिङ गरेको उनले बताए । ‘अलिकति पनि कहीँ चुक्यौँ भने मध्यावधिमा जान सक्छ । त्यसले गर्दा सावधानीपूर्वक कार्य गर्नुपर्छ भन्ने कुरा हो,’ उनले भने ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेको प्रदेश सभापति उद्धव थापा र कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले काठमाडौँ जाने क्रमलाई बाक्लो बनाएका थिए । तर, अहिले वामपन्थी मिल्ने अवस्था देखिएपछि कांग्रेस नेताहरूले धेरै चासो नराखेको बताइन्छ ।

तर, उक्त बैठकमा वामपन्थी एकता वा सहकार्यका विषयमा पार्टी अध्यक्ष ओलीबाट कुनै पनि निर्देशन नआएको बस्नेतले बताए । ‘त्यस्तो केही पाएको छैन, अहिले त्यसरी ठ्याक्कै यो पार्टीसँगै जाने भन्ने कुरा पनि छैन,’ उनले भने ।

केही दिन अगाडिको अन्तरवार्ताको क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रको निर्देशनका कारण कांग्रेस सरकारबाट बाहिरिने अवस्था आए पनि आफू विधि र प्रक्रियाबाट मात्र अघि बढ्ने अडानमा रहेको बताएका थिए । ‘कांग्रेससित यहाँ प्रदेशमा हाम्रो कुनै असमझदारी, असहमति हैन । सकेसम्म मिलेर जाऔँ,’ कार्कीले भनेका थिए ।

उता, नेपाली कम्युनिस्ट पार्टीका नेता पनि कांग्रेस–एमालेमा आएको खटपटलाई अवसरको रूपमा लिँदै काठमाडौँमा केन्द्रित भएका छन् । नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सोमबार नै काठमाडौँ गएका छन् ।

उनले भने, ‘पछिल्लो राजनीतिको विषयमा नेताहरुसँग कुराकानी हुन्छ । त्यसअवसरमा प्रवेशको बारेमा पनि कुरा हुन्छ ।’

कांग्रेस संसदीय दलका नेतासमेत रहेको प्रदेश सभापति उद्धव थापा र कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले काठमाडौँ जाने क्रमलाई बाक्लो बनाएका थिए । तर, अहिले वामपन्थी मिल्ने अवस्था देखिएपछि कांग्रेस नेताहरूले धेरै चासो नराखेको बताइन्छ । कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले दुई–तीन दिन केही नहुने बताए । ‘अहिले केही विकसित भएको छैन, म झापामै छु । दलको नेताज्यू पनि प्रदेशमै हुनुहुन्छ । बीपी जयन्ती ६ गते छ । त्यो कार्यक्रम सकिएपछि मात्रै नयाँ कुरा होला,’ तामाङले भने ।

उता, कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईले आफू काठमाडौँमै रहेको भए पनि प्रदेश सरकारबारे कुराकानी नभएको बताए । ‘बीपी जयन्तीको दिन कार्यक्रम छ । त्यसपछि मात्रै केही होला,’ उनले भने ।

नयाँ राजनीतिक परिस्थितिमा कोशी प्रदेशमा वामपन्थी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको केही नेता बताउँछन् । ‘कांग्रेस र एमालेको सरकार फेल भयो भने अब बनाउने भनेको नेकपाको नेतृत्वमा हो । त्यसका लागि वामपन्थी सहकार्य आवश्यक छ,’ नेकपाका ती नेताले भने, ‘तर, माधवकुमार नेपालको नेतृत्वमा विगतमा रहेको नेकपा एकीकृत समाजवादीका साथीहरूलाई केही अप्ठ्यारो लाग्ने गरेको छ । त्यसलाई छलफलबाट टुङ्ग्याउनु पर्छ ।’

नेकपाका ती नेताले हालसम्म गण्डकी, कोशी र मधेसमा आफ्नो पार्टीले मुख्यमन्त्री नपाएको बताए ।  ‘गण्डकी, कोशी र मधेसमा हामीले अहिलेसम्म सरकार बनाएको छैन । अनि अहिलेसम्म नबनाएको हिसाबले गण्डकीमा र मधेसमा नेकपाको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । त्यसो हुँदा हामीले बल गर्नुपर्ने कोशीमै हो ।’

वामपन्थी मिल्दा कोशीमा सहज

कोशी प्रदेशको कुल ९२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक छ । नेकपा एमाले र नेकपा गठबन्धन बन्दा कोशी प्रदेशमा सहज बहुमत हुन्छ । कोशीमा हाल कायम सांसद संख्या ९२ छ, जसमा एमालेको ४० र नेकपाको १७ गरी ५७ सांसद छन् । यो समीकरण अन्तर्गत यहाँ स्पष्ट र बलियो बहुमतको सरकार बन्ने देखिन्छ ।

उता, एमाले बाहेकको समीकरणमा बहुमत पुगे पनि त्यो दिगो हुने सम्भावना कमजोर छ । प्रदेश सभामा कांग्रेसका २९ र नेकपा १७ गरी ४६ जना हुन्छ । यो गठबन्धनलाई बहुमतका लागि थप १ सिट आवश्यक पर्छ । यसका लागि १ सिट भएको जसपा वा सभामुखसहित ५ सिट भएको राप्रपाको समर्थन आवश्यक छ । राप्रपाले अहिले सत्ताको जोडघटाउमा सहभागी नहुने बताएसँगै यहाँ एमाले बाहेकको बहुमत पुर्‍याउनु ‘भ्यागुताको धार्नी’जस्तो भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप