सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीले के–केमा प्रगति गरे, कुनको अवस्था कस्तो ?

आइतबार, ०७ भदौ २०७७, १३ : १९
आइतबार, ०७ भदौ २०७७

 नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जीवन बीमा कम्पनीहरुले मूख्य–मूख्य सुचकहरुमा प्रगति गरेका छन् ।  सूचीकृत सातैवटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको (२०७६/०७७) चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 
खुद नाफा, जीवन बीमा कोष, खुद बीमा शुल्क लगायतका प्रमुख सूचकमा वृद्धि देखिएको छ । यद्यपि, विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसको असरलाई जीवन बीमा कम्पनीहरुले आगामी दिनको चुनौतिको रुपमा लिएका छन् । अधिकांश कम्पनीहरुले बीमांकीय मूल्यांकनपछिको नाफा वित्तीय विवरणमा नजोडेको बताएका छन् । बीमांकीय मूल्याकंनपछिको नाफा जोड्दा कम्पनीको नाफा अझै बढ्ने देखिन्छ ।

नाफा बढाउनेमा एसियन लाइफ अगाडि, २ वटा कम्पनीको नाफा घट्यो

२ कम्पनीको खुद नाफा घटेको छ । नाफा घट्नेमा एलआइसी नेपाल र प्राइम लाइफ इन्सुरेन्स रहेका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ५ कम्पनीको खुद नाफा भने बढेको छ । एसियन लाइफ, गुराँस लाइफ, नेपाल लाइफ र प्राइम लाइफले बीमांकीय मूल्यांकनपछिको नाफा वित्तीय विवरणमा नजोडेको बताएका छन् । 
सबैभन्दा धेरै नाफा बढाउनेका एसियन लाइफ रहेको छ । यसको नाफा १ वर्षमा ७८.४२% ले बढेर १८ करोड १८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसले ५३ करोड ५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ ।

चुक्तापुँजीमा नेपाल लाइफ अगाडि, वृद्धिदर  सूर्या लाइफको बढी  

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ कम्पनीको चुक्ता पुँजी बढेको छ भने ३ कम्पनीको पुँजी  यथावत छ । पुँजी बढाउनेमा एलआइसी नेपाल, नेसनल लाइफ, प्राइम लाइफ र सूर्या लाइफ रहेका छन् । यी मध्ये सबैभन्दा धेरै पुँजी सूर्या लाइफको चुक्तापुँजी बढेको छ । यसको चुक्तापुँजी ७०% ले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत वर्षनै यसले ७०% हकप्रद सेयर जारी गरेकाले पुँजीमा उल्लेख्य वृद्धि भएको हो । यता, सबैभन्दा धेरै पुँजी हुनेमा नेपाल लाइफ रहेको छ । असार मसान्तसम्ममा यसको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी कसको कति ?

४ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ३ कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर आम्दानी बढ्नेमा एसियन लाइफ, गुराँस लाइफ, नेसनल लाइफ र नेपाल लाइफ रहेका छन् । यी मध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा एसियन लाइफ रहेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १४ पैसाले बढेर ९ रुपैयाँ ०४ पैसा पुगेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी नेसनल लाइफको १६ रुपैयाँ ९२ पैसा छ ।

जीवन बीमा कोष सबैको बढ्यो

७ वटै कम्पनीको जीवन बीमा कोष बढेको छ । सबैभन्दा धेरै बीमा कोष बढाउनेमा सूर्या लाइफ इन्सुरेन्स रहेको छ । यसको जीवन बीमा कोषको आकार ४१.४१% ले बढेर ७ अर्ब ४२ करोड ७५ लाख २२ हजार रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै बीमा कोष नेपाल लाइफको रहेको छ । यसको बीमा कोषको आकार ३३.१३% ले बढेर ८७ अर्ब २ करोड ७ हजार रुपैयाँ पुगेको छ ।

७ वटै कम्पनीको खुद बीमा शुल्क बढ्यो

नेप्सेमा सूचीकृत ७ वटै कम्पनीको खुद बीमा शुल्क बढेको छ । नेपाल लाइफ इन्सुरेन्सको खुद बीमा शुल्क १९.७८% ले बढेर २७ अर्ब ३४ करोड ३ लाख ७६ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै खुद बीमा शुल्क बढाउनेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यो नै सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्ने कम्पनी हो । एलआइसी नेपालको खुद बीमा शुल्क १४ अर्ब ८३ करोड ८५ लाख २५ हजार रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप