आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कर घटाउने निर्णयको व्यवसायीहरुद्वारा स्वागत

शुक्रबार, १६ असोज २०७७, १६ : १०
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागतयोग्य कदम भनेका छन् । सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ ।

खासगरी विद्युतीय सवारीसाधनमा सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत अन्तशुल्क बढाउने निर्णय गरेको थियो । तर बिहीबार फेरि अन्तशुल्क घटाउने निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरुले पनि स्वागत योग्य भनेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतीय सवारीसाधनमा अन्तशुल्क घटाउनु स्वागत योग्य भएको बताए । यस्तै सवारीसाधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने उनले बताए । सवारी साधनको डाउनपेमेन्टलाई ५० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गर्ने व्यवस्था गरिदिन पनि सरकारसँग आग्रह समेत गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढने बताए । अन्तशुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढने हुँदा राजस्व पनि बढ्ने उनको भनाई छ । त्यस्तै कर घटाउँदा कम मूल्यमा वस्तु बिक्री गर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढने भएकाले राजस्वमा स्वतः वृद्धि हुने श्रेष्ठले बताए ।

व्यवसायीहरुले आयातित वस्तुको अन्तशुल्क घटाउनु सकारात्मक भएपनि भन्सार प्रक्रियामा सुधारको आवश्यकता रहेको बताएका छन् । खासगरी भ्याट फिर्ता लगायतका विषयमा अझैपनि प्रक्रिया नमिल्दा लागत बढ्न गई उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीहरुको तर्क छ । जसका कारण देशमा राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको पनि व्यवासयीहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप