शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कालिलेकको प्रवर्द्धनमा जुटे तीन स्थानीय तह

आइतबार, २३ कात्तिक २०७७, ११ : ४८
आइतबार, २३ कात्तिक २०७७

कोरोना कहरका कारण घरबाट बाहिर नआएका गलकोट, ताराखोला र बिहुँका स्थानीयवासी शुक्रबार पर्यटकीयस्थल कालिलेकमा दिल खोलेर नाचगान गरे । कोरोनासँग डराएर घरमा बसेको महिनौँपछि प्रकृतिसँग खुलेर रमाउन सर्वसाधारण दङ्ग देखिन्थे । पर्यटकीय क्षेत्र कालिलेकको प्रवद्र्धनका लागि तीन पालिकाको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमले निकै फरक माहोल ल्यायो ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिकाको शिर कालिलेक र काठेखोला गाउँपालिकाको शिर शिवधुरीको प्रवद्र्धन गर्नका लागि शुक्रबार जनप्रतिनिधिसहितको भेलाले यस्तो संयोग जुराएको थियो । भेलाको उद्देश्य थियो कालिलेकसहित आसपासका पर्यटकीयस्थलको विकास तथा प्रचारप्रसार गरी पर्यटक भित्र्याउने । 

गलकोट नगरपालिका–६ भुजुङ्गेको स्टोन भिलेज सामुदायिक घरवासको आयोजना तथा धवलागिरि पर्यटन प्रवद्र्धन समितिको संयोजनमा कालिलेकमा आयोजना गरिएको कार्यक्रममा कालिलेकको प्रवद्र्धनका लागि तीनवटै स्थानीय तहले साझेदारी गर्ने प्रतिबद्धतासमेत जनाए । 

तीन पालिकाको सङ्गमस्थलका रूपमा रहेको कालिलेक र शिवधुरीलाई साझा पर्यटकीय गन्तव्य बनाउनका लागि कालिलेकमा पैदलमार्गमार्फत स्थानीयवासीको भेलासहित प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालिएको धवलागिरि पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष इन्जीनियर खिमानन्द कँडेलले जानकारी दिए ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती तथा काठेखोला गाउँपालिकाका जनप्रतिनिधिसहितको भेलाले कालिलेकको प्रवद्र्धनमा संयुक्तरूपमा लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए । समुद्री सतहदेखि दुई हजार ३०० मिटर अग्लो कालिलेक तीन पालिकाको संयुक्त पर्यटकीयस्थलको रूपमा विकास गरी त्यस आसपास क्षेत्रका शिवधुरी, मोतिमारेलगायतको प्रचारप्रसार गर्नका लागि तीन पालिका एकजुट भएको गलकोट नपा प्रमुख गैरेले जानकारी दिए । “तीन पालिका मिलेर कालिलेकलाई उठाउनेछौँ, पूर्वाधार निर्माणमा लाग्ने छौँ” नगरप्रमुख गैरेले भने “पश्चिम बागलुङको पर्यटकीय नाकाका रूपमा यसलाई चिनाउनेछौँ ।” शिवधुरी हुँदै कालिलेक पश्चिम बागलुङको पयटकीय पदमार्गसँग जोडिएको क्षेत्रसमेत हो । 

यातयातका साधनबाहेक पैदलयात्राका लागि यो मार्ग प्रयोग गरिँदै गलकोट, ताराखोला हुँदै विश्वकै पर्यटकीय गन्तव्य रहेको ढोरपाटन शिकार आरक्षण पुग्न सकिने ताराखोला गाउँपालिकाका अध्यक्ष घर्तीले बताए । यही बाटो ढोरपाटनसम्म पर्यटक पठाउन सक्ने हो भने पर्यटकीयस्थल पञ्चकोट, बिहुँ, कालिलेक, शिवधुरी र घुम्टेको विकास गर्न सकिने घर्तीको तर्क छ । कालिलेकबाट घुम्टेको धुरी, शिवधुरी, गाजाको धुरी, झुलेनी, ताराखोला, गलकोट क्षेत्र देख्न सकिन्छ । कालिलेक ताराखोलाको पर्यटकीय गन्तव्यको रूपमा रहेको गाईघाट झरनासँग समेत पदमार्गले जोड्न आवश्यक छ । कालिलेकबाट धवलागिरि, अन्नपूर्णलगायतका दर्जनौँ हिमाल देख्न सकिन्छ । कालिलेक तीन स्थानीय तहका तीन नाकाबाट पदमार्गमार्फत पुग्न सकिन्छ । कालिलेकमा कालीपोखरी,  मोतिमारे, कालीबराह क्षेत्रलगायतका धार्मिक तथा पुरातात्विक महत्व बोकेका स्थल छन् । 

कालिलेकमा  काठेखोला गाउँपालिकाको रिजालचोक, ताराखोलाको माझर्खक र गलकोटको भुजुङ्गेबाट कालिलेक पुग्न सकिन्छ भने कालिलेक पुग्न व्यवस्थित पदमार्ग निर्माण भइरहेको इन्जीनियर कँडेलले बताए । गत वर्ष सङ्घीय सरकारको रु १० लाख लागतमा  रिजालचोकबाट कालिलेक पुग्ने र गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटमा रिजालचोक छिन्केरीडाँडा, कालिलेक, कायस, चरौदी पदमार्ग निर्माण गरिएको छ । आठ किलोमिटर पदमार्ग विसं २०४७ मा गलकोटका समाजसेवी लीलबहादुर बुढाथोकी निर्माण गरेको पदमार्ग अहिले पुनः मर्मतकार्यसमेत गरिएको छ ।  

कालिलेकलाई वनभोजस्थल र सूर्यास्त अवलोकनका लागि आन्तरिक पर्यटक जाने गरेका छन् । यस क्षेत्रमा साइक्लिङ ल्याण्डको सम्भावना रहेको कँडेलको भनाइ छ । एउटा सत्तल रहेको कालिलेकमा खानेपानी र शौचालयको व्यवस्थापन गर्न आवश्यक रहेको छ । तीन स्थानीय तहले गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढ्ने साझा सहमति गरिएको छ ।  

कालिलेक तथा शिवधुरी हुँदै पदमार्गमार्फत आएका पर्यटकलाई घरबासमा राख्नका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालिएको गलकोट नगरपालिका–६ भुजुङ्गेस्थित स्टोन भिलेज सामुदायिक घरवासका  अध्यक्ष कमला श्रीसले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप