सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय

सोमबार, २४ कात्तिक २०७७, १७ : ०३
सोमबार, २४ कात्तिक २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय भएको छ । 

चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबार साँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिए । 

महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र समक्ष हुनुपर्ने भन्दै उनले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको विकल्प नरहेको समेत बताए । ‘हामी उद्योगी व्यवसायीका लागि जतिबेला समस्या पर्दा पनि उपलब्ध भएर समस्या समाधानमा खटिने ढकालजस्तो व्यक्तिलाई धेरै समयपछि नेतृत्वमा पाएको छौं,’ उनले भने ।  

कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका १३ जिल्ला तथा नगरका अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारीलाई जिताउनु आफुहरुको दायित्व रहेको समेत बताए । 

‘बागलुङ जिल्लामा जन्मिएर सानो व्यवसायबाट सुरु गरी ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गरिसक्नु भएका ढकाल र डेढ दशकदेखि जिल्ला नगरकै समस्यासँग जुध्दै आएका गुणनिधी तिवारीलाई नेतृत्वमा पाएको छौं,’ कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले एउटै स्वरमा भने, ‘हामी उद्योगी व्यवसायीका समस्यालाई सरकारसँग राख्दै समस्या समाधानका लागि पनि ढकाल प्यानललाई जिताउनु जरुरी छ ।’ 

साथै उक्त कार्यक्रममा गण्डकी प्रदेशबाहेक अन्य प्रदेशका २० भन्दा बढी जिल्ला तथा नगरका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा सबै उपस्थित जिल्ला नगरको अध्यक्षहरुको प्रतिनिधित्व गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले यस अघि महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघ केन्द्रीय सदस्य किशोर आचार्यको सवारी दुर्घटना हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल उद्दार कार्यमा खटिएर कुशल अविभाकत्व प्रदान गरिसकेको जानकारी दिँदै महासंघमा ढकाल प्यानलको विकल्प नभएको बताए । 

भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका साथीहरुको गुनासो आगामी दिनमा आउन नदिने वचनबद्धता व्यक्त गरे । 

‘सुदूरपश्चिमको धनगढीदेखि गण्डकी प्रदेशसम्म आइपुग्दा सबैजसो जिल्ला नगरका साथीहरुले नेतृत्वमा रहेका व्यक्तिहरुले फोन नउठाएको, महासंघको साख खस्कियो भन्ने गुनासो गर्नुभएको छ,’ उनले भने, ‘म महासंघमा पुगेसँगै यी दुवै समस्या तत्काल सम्बोधन हुनेछन् ।’ 

साथै आफ्नो ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको र आफु महासंघको नेतृत्वमा रहँदा वा नरहँदा पनि व्यवसायीक समस्या समाधानका लागि हरेक क्षण खटिने समेत उनको भनाइ थियो । अहिले व्यवसायीक नेतृत्वको लविङ नपुग्दा व्यवसायीमैत्री नीति नियमहरु आउन नसकेको बताउँदै उनले आफ्नो नेतृत्वमा व्यवसायीहरुको हक, हित र व्यवसायमैत्री नीति निर्माणमा आफूले पहल गर्ने बताए । 

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले महासंघको विधानमा रहेको जिल्ला नगरको ५० प्रतिशत अधिकारको लागि पनि उक्त पदमा जिल्ला नगरकै प्रतिनिधित्व गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताए । 

‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यसअनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’  

साथै कोभिडका कारण जिल्ला नगरका कतिपय व्यवसायीले आत्महत्या गर्न बाध्य भएको र धेरैजसो उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै आफु नेतृत्वमा पुगेसँगै त्यस्ता समस्या समेत सम्बोधन गरिने बताए । 

यसैगरी, कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको खस्किएको साख उचो पार्दै व्यवसायीका समस्या समाधान गर्नकै लागि यसपटक चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जीताउनु पर्ने बताए । 

कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य डीबी बस्नेतलगायले अहिलेको अवस्थामा महासंघ नेतृत्वमा रहेर व्यवसायीका समस्या समाधानका लागि चन्द्र ढकाल जत्तिको व्यक्ति अरु नभएकाले आफुले पनि समर्थन गर्दै अघि बढेको बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप