आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विवादित अध्यादेशबीच नेकपा स्थायी समिति बैठक आज

बुधबार, ०१ पुस २०७७, ०९ : २२
बुधबार, ०१ पुस २०७७

काठमाडौं । विवादका चाङ्गबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश छलफलको प्रमुख विषय बन्नेछ ।

नेकपाको आजको बैठकमा सरकारले असंवैधानिक ढङ्गले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धि संशोधन अध्यादेश र त्यसलाई प्रमाणित गर्ने राष्ट्पतिको भुमिकाको विषयमा समेत नेताहरुले प्रश्न उठाउने तयारी गरेका छन् ।

दुई अध्यक्ष ओली र प्रचण्डले एकअर्काप्रति आरोप प्रत्यारोपसहित पेश गरेका फरकफरक प्रतिवेदनमा छलफल गर्ने पूर्वनिर्धारित कार्यसूची निर्धारणभएपनि सरकारले अप्रत्यासित अध्यादेश ल्याएपछि सत्तारुढ दलको बैठकमा यो विषय प्रमुख बन्न पुग्ने भएको हो ।

पार्टीको बैठक जारी रहेको तथा जनप्रतिनिधिको सर्वोच्च संस्था संसद बैठक समेत बोलाउने समय नजिकिएका बेला मन्त्रिपरिषद्मा समेत छलफल नगरी अध्यादेश ल्याएकोमा नेकपाका शीर्ष नेताहरुले प्रधानमन्त्रीको कदमप्रति आक्रोश व्यक्त गर्दै खारेज गर्न माग गरिसकेका छन् । आजको बैठकमा पनि नेताहरुले यही माग दोहोर्याउने निश्चित छ । यस्तो अवस्थामा ओली अध्यादेश फिर्ता गर्ने प्रतिवद्धता नजनाए नेकपा विधिवतरुपमा विभाजनतर्फ धकेलिने निश्चित छ ।

लामो समयदेखि नेकपामा आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री समेत रहेका ओलीले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि प्रक्रिया अघि बढाएका थिए । पार्टीभित्रको विवाद समाधान गरेर यो प्रक्रिया थाल्नुपर्नेमा प्रधानमन्त्री ओलीले विवादलाई एकातिर थन्क्याएर संवैधानिक परिषद् बैठकमा सभामुख अग्नि सापकोटा नगएको झाँेकमा अध्यादेश ल्याएर विरोधीहरुलाई देखाउन खोजेको उनको कार्यशैलीले प्रष्ट पार्छ । यस्तो अवस्थामा बस्न लागेको नेकपा बैठकले कस्तो निर्णय गर्छ भन्ने चासो बढेको नेकपा नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप