आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीविरुद्ध आक्रमक प्रचण्ड–माधवः भने– संसद विघटन ओलीको निरंकुशताको उपज !

शुक्रबार, १० पुस २०७७, १६ : २७
शुक्रबार, १० पुस २०७७

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओली संघीयता र गणतन्त्र विरोधी रहेकाले उनले संविधान र गणतन्त्रकै हत्या गर्न लागेको बताएका छन् ।  तेस्रो केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र बरिष्ठ नेताहरुले ओलीले संसद विघटनको कदम चाल्नुमा पनि उनको त्यही निरंकुशताको उपज भएको बताए । 

कार्यक्रममा अध्यक्ष प्रचण्डले लोकतन्त्रको हत्या र संविधानको अपहरण गर्ने काम प्रधानमन्त्री ओली गरेको बताए ।  ‘उहाँले आफ्नै नेतृत्वको सरकार रहेका बेला संसद विघटन गर्नुभयो । यो कुनै हालतमा पनि मिल्ने कुरा थिएन । उहाँले लोकतन्त्र र संविधानकै हत्या र अपहरण गर्नुभएको छ’अध्यक्ष प्रचण्डको भनाई छ । 

अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा ओली बयलगाडाको कथा सुनाएर बसेको सबैले सुनेको भन्दै आन्दोलन सफल भएपछि गणतन्त्र स्वीकारेकाले ओलीलाई विश्वास गरेर प्रधानमन्त्री बनाएको स्मरण गरे ।  ‘आन्दोलन चल्दै गर्दा केपी ओलीले बयलगाडाको कथा सुनाएको हामी सबैले सुनेकै हौ । तरपछि आन्दोलन सफल भयो । उहाँले पनि म पनि गणतन्त्र स्वीकार्छु भन्नुभयो । हामीले होला भनेर विश्वास गर्यौ तर उहाँ मौका कुरेर बस्नुभएको रहेछ’, प्रचण्डले ओलीप्रतिको बुझाईमा आफुहरुको केही कमजोरी रहेको बताए ।

कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीलाई गणतन्त्रप्रति कुनैपनि अपनत्व नरहेको दावी गरे । ‘उहाँलाई संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अपनत्व छैन । उहाँ गणतन्त्र विरोधी मान्छे हो’ नेता नेपालको भनाई थियो ।  अध्यक्ष नेपालले ओलीलाई ‘म मरे जोगी राजा’ भन्ने उखानसँग चरितार्थ गर्दै सम्पूर्ण उपलव्धि तहस नहस पार्ने काममा लागि परेको बताए । ओलीलाई संघीयता, गणतन्त्र र संविधान केही मन नपरेको भन्दै मनपर्ने ‘केपी बा’ मात्रै भएको नेता नेपालको टिप्पणी थियो । 

नेपालले ओलीमा दास प्रवृति रहेको भन्दै कम्युनिस्ट पार्टीमा त्यस्तो प्रवृत्ति हुनै नसक्ने बताए । उनले प्रचण्ड र आफुबीचको सहमति बन्नुमा मुल कुरा कम्युनिस्ट आन्दोलनको विचार, नीति विधि र पद्दतिलाई समातेर अघि बढ्नेमा विचार मिलेको र लोकतन्त्रको जग बलियो बनाउन यो बिचार नै विकल्प भएको बताए । ‘कम्युनिस्ट आन्दोलन र लोकतन्त्र एउटै सिक्काका दुई पाटा हुन’, नेता नेपालको भनाई छ । आफुहरुबीच कमिटी प्रणाली र विधिका साथै आपसी विश्वास कायम गर्दै अघि बढ्ने नेपालले बताए । उनले ओलीलाई जालीझेली प्रवृत्तिको भन्दै अरुलाई पनि उनले त्यस्तै देख्ने गरेको बताए । उनले नेकपाको सम्पतिका बारेमा जतिपनि पार्टी कार्यलय आफ्नै पार्टीको हुने बताए । उनले अरु सम्पति आफुहरुलाई नचाहिने बताए । 

कार्यक्रममा बरिष्ठ नेता झलनाथ खनालले केपी ओली गोमन साप जस्तै रहेको बताए । ‘गोमन सापले जहाँ देख्यो त्यही ठुग्छ ओली त्यस्तै हुन्’ ओलीको यस्तै प्रवृतिले समस्या पैदा भएको भन्दै एमालेको आठौ माहाधिवेशनको घट्नाक्रम पनि सुनाए । त्यसबेला ओली अध्यक्षमा हारेपछि प्रतिशोध, इगो र इख पालेको भन्दै त्यसै कारण उनले नेताहरुमाथि रिसइवी देखाएको बताए । ‘तेस्रो केन्द्रीय समिति बैठकले माधव नेपाललाई अध्यक्ष बनाएको छ । अध्यक्षभन्दा माथि कोही नेता हुँदैन’, उनले दुवै अध्यक्ष प्रचण्ड र नेपाल बरावरी हैसियतामा रहेको पनि बताए । अध्यक्षकै जसरी महासचिव पनि छानिने खनालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप