बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन शुरु
बेइजिङ । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन् ।
स्वास्थ्य अधिकारीहरुले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेको छ । यस खोपको प्रभावकारिता झण्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ । बेइजिङमा ठूलो संख्यामा मानिसहरु स्थानीय अस्पतालहरु र सामुदायिक स्वास्थ्य केन्द्रहरुमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सिसिटिभीले प्रशारण गरेको छ । स्वास्थ्य अधिकारीहरुले जिम र कारखानाका खाली भवनहरुलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।
चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोग अन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ, जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरु रहेका छन् । अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी शुरु गरेको छ ।
यसैबीच, बेलायतले पनि सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ । अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो । निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एक जना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान शुरु गरिएको छ ।
विश्वभर कोरोनाभाइरसको संक्रमणबाट १८ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झण्डै ८ करोड ५० लाख मानिस संक्रमित भएका छन् । संक्रमण दर लगातार वृद्धि हुनुका साथै मानिसको मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ ।
बेलायतले पहिलो चरणमा अस्ट्राजेनिकाको खोप ५ लाख ३० हजार डोज उपलब्ध गराउँदैछ । प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढ्दै गएकाले आगामी दिनहरु निकै कठिन रहेको बताउँदै खोप अभियान व्यापक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण