नेताहरुको चुनावमय दशैंः किताव पढ्नेदेखि टिकट बाँडफाँड गर्नेसम्म
दशैंको बिदाका बेला आमसर्वसाधारण तथा कर्मचारीहरु घरपरिवार तथा आफन्तसँग खानपिन तथा भेटघाट गरेर वा कुनै नयाँ ठाउँ घुमेर रमाइलो गर्दछन् । विभिन्न राजनीतिक दलका नेता के गर्दैछन् त यो दशैंमा ?
नजिकै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन लागेकाले अधिकांश नेताहरुको यो वर्षको दशैको बिदालाई चुनावी तयारीमा लगाउने भएका छन् । काठमाडौं बसेर जिल्लामा रहेका कार्यकर्तासँग टेलिफोनमा छलफल गरी आफ्नो अवस्था बुझ्ने र संगठन बलियो बनाउनेबारे छलफल मुख्य नेताहरुको तयारी छ ।
केही नेता भने आफू उठ्ने निर्वाचन क्षेत्रमा अनौपचारिक रुपमा चुनावी तयारीका लागि पुगेका छन् । घरदैलो गर्दै दशैं मनाइरहेका छन् । केही नेताहरुले भने बिदाको समय अध्ययनका लागि पनि खर्चने बताएका छन् ।
एमाले अध्यक्ष ओलीको दशैं बालकोटमै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष भक्तपुर बालकोटस्थित आफ्नै निवासमा दशैं मनाउने भएका छन् । स्थानीय तहको निर्वाचनसकिएसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि भएकाले ओलीको तालिका निकै ब्यस्त छ ।
ब्यस्तताकै कारण उनले बुधबार र विहीबार झापाम आयोजित पूर्व निर्धारित कार्यक्रम स्थगित गरे । तर उनी दश वर्ष भन्दा पहिलेदेखि दशैंको महानवमीको दिन झापाको विर्तामोडमा कार्यकर्ता भेटघाटसहितको कार्यक्रम गर्ने गरेका शुक्रबार विहान १०ः १५ को उडानमा झापाको भद्रपुर ओर्लिएर हरेक वर्षजस्तै विर्तामोडको कार्यक्रममा सरिक हुने भएका छन् ।
विर्तामोडको यो अनौपचारिक कार्यक्रम सकेर ओली शुक्रबार नै ३ः१० को उडानमा काठमाडौं फर्किछन् । यो वर्ष बालकोटस्थित निवासमै दशैंको टीका थाप्ने उनको कार्यक्रम भएकाले बुवा मोहनप्रसाद ओली टीकाकै दिन काठमाडौं पुग्ने कार्यतालिका तय भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारी बताउँछन् । बालकोटमै बुवाको हातबाट टीका लगाएर उनले आफ्ना सुभेच्छुकहरुलाई टीका लगाइने ओलीको योजना छ ।
माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्मा मन्त्रालयको काममै ब्यस्त
यो दशैंमा म मन्त्रालयको काममा नै ब्यस्त हुन्छु, कहाँ के घटना भइरहेको छ, देशभरीको शान्ति सुरक्षाको अवस्था कस्तो छ भनेर अनुगमन गर्छु, रिपोर्टहरु लिन्छु । केही समस्या आयो भने समाधानका गर्न पहिलो प्राथमिकता दिन्छु । दुईवटा चुनाव अगाडि आएको छ, चुनावको सुरक्षा तयारीका बारेमा छलफल, राजनीतिका बारेमा साथीभाइसँग छलफल गर्छु । खाली समयमा अध्ययन गर्ने कुरा पनि हुन्छ तर यस बर्ष मन्त्रालयको काममा बढी व्यस्त हुने भएकोले यो किताव अध्ययन गर्ने भन्ने छैन ।
दशैंमा आफन्त, नातागोता साथीभाइसँग पनि भेटघाट हुन्छ । अघिपछि भेटघाट भएपनि कुरा गर्ने समय पाइदैन्, दशैका बेला सबैसँग एकछिन भेटेर कुरा गर्न पाइन्छ । आफन्त तथा साथीभाइलाई खाना खान बोलाएको छु, यस्तो बेला एक डेढ घण्टा कुरा गर्न पाइन्छ ।
दशैंमा टीका लगाउन चाहनेहरुका लागि टिका पनि लगाइदिन्छु । टीका लगाउने कुरामा प्रेरित नै गर्छु । आफूले चाहिँ लगाउनै पर्छ भन्ने छैन । पहिला पनि लगाइएन । टिका लगाउन अग्रज आफन्त पनि छैनन् । समग्रमा यो बर्षको दशै अलि बढी ब्यस्ततामै बित्छ ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले हरिबहादुरको रजगज पढ्नमा ब्यस्त
म अहिले हरिबहादुर थापाले लेखेको रजगज पढ्न लागेको छु । यसपाली बाहिर (बाग्लुङ) गइएन, पत्रिका पनि आउँदैन्, यही किताव पढिरहेको छु । किताब ठिकै छ, २०४६ सालमा बहुदल आएपछि राजा, अहिलेका नेतादेखि एनसेलसम्मका भष्ट्राचार, ठगी प्रकरणका बारेमा कितावमा उल्लेख रहेछ । अहिले यहि किताव पढ्नमा ब्यस्त छु । एकाध हप्ता पार्टीको केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि मिलाउनुपर्नेछ ।
किताव पढ्न पनि बैशमा जस्तो नसकिने रैछ, यो पढिसकौँ भन्ने हुन्थ्यो । अब अलि नसक्ने भइएछ । रक्सी खाने, तास, जुवा खेल्ने गरिदैन, समय विताउने यही एउटा मेलो छ ।
दशैंमा भेटघाट गर्न आफन्त, नातागोता र कार्यकर्ताहरु पनि आँउछन् । एउटा छोरा जापानमा छ, अर्को बिरामी भएर आएको छ । बाग्लुङबाट कान्छो भाई पनि आएको छ, भतिजाहरु पनि यतै छन् । टिका लगाउँन आउनेहरुलाई टिका लगाइदिन्छु । नेताको भाषण जस्तै आर्शिवाद पनि दिन्छु मान्नेगुन्ने भएस् भनेर ।
यसपाली दशैंमा गाउँ जान सकिन । अघिल्ला दशैँमा सधै गाउँ जाने गर्दथेँ । गाउँमा आफ्ना समकालीन कोही मरेर गए, कोही बसाँई गए । आफूले गाई बाख्रा चराएको ठाउँ, पिङ खेलेको रुख, पौडी खेलेको खोला, आफू हुर्किएको पाखापखेरो हेर्दा अर्कै किसिमले रोमाञ्चित हुन्छु । त्यी ठाउँहरुको सधै नियास्रो लागिरहन्छ ।
माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखाका गाउँगाउँ घुम्दै
यसवर्ष मेरो दशै विशेष कार्यक्रम केही छैन । पहिला मान्यजनको हातबाट टिका पनि लगाउँथेँ । यसबर्ष जनताको बिचमा भेटघाट गरी शुभकामना आदान प्रदान गरी दशैं मनाउँदैछु । अहिले म गोरखाको छालाजुङ भन्ने ठाउँमा आइपुगेको छु । हिजो गाइखुरमा थिएँ ।
शुक्रबार सिरानचोक, धारापानी जाँदैछु । दशैंकाबेला खासै काम नहुने भएकोले जनताकोबीचमा बैचारिक राजनीतिक छलफल गरेर बिताउँने सोँचेको छु । यता, केही शुभकामना आदान प्रदानको कार्यक्रम पनि छ । आमाबुवा आफन्तसँग भेटघाट पनि छ । १६ गते काठमाडौंमा पार्टीको बैठक भएकोले १५ गते गोरखाबाट काठमाडौं फर्कन्छु ।
माओवादी अध्यक्ष प्रचण्ड पार्टीको टिकट मिलाउन ब्यस्त
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यस वर्षको दशैमा पार्टीका तर्फबाट उम्मेदवार छनौटको चटारो परेको छ । अध्यक्ष प्रचण्डले नजिकै आएको संघ र प्रदेशको चुनावका लागि उपयुक्त उम्मेदवार छनौट गर्न टिकटको बाँडफाँडमा बढी समय बिताउने भएका छन् । यसका साथै पार्टीका कार्यकर्ता तथा आफन्तसँग भेटघाटका लागि पनि उनले समय छुट्टाएका छन् । दशैंकाबेला खास कार्यक्रम नभएपनि बिदाको समयलाई उनले राजनीतिक तयारीमै खर्च गर्ने भएका छन् ।
एमाले नेता माधव नेपालले दाइभाउजुको हातबाट टीका लगाउने
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पनि यो वर्ष काठमाडौंमै दशैं मनाउने भएका छन् ।
उनले काठमाडौंमै रहेर आफ्नो दाजूभाउजुको हातबाट दशैंको टीका थाप्ने योजना छ । नजिकिएको प्रदेश र प्रतिनिधिसभा चुनावको तयारीका लागि छलफल गरेर नै दशैंको सदुपयोग गर्ने योजना बनाएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले दशैंका दिन देशभरका साथीहरुलाई टेलिफोन गर्ने
हामी छोरा छारी नाति नातिनाका साथै सबै काठमाडौंमै छौँ । तनहुँ गइदैन । दशैंमा देशभरका साथीहरुसँग टेलिफोनमा कुरा गर्छु । यो बर्ष चुनावको बर्ष भयो, जिल्लामा पार्टीको अवस्था, उम्मेदवार छनौंटका बिषयमा साथीहरुसँग छलफल गर्छु । समय मिल्यो भने अध्ययन गर्ने हो तर यसबर्ष फुर्सद नै छैन । यो दशै राजनीतिक छलफल गर्दैमा बित्छ ।
घरमा पाँच छ जना छौँ । टिका लगाउँन नजिक तथा टाढा टाढाबाट धेरै आफन्त तथा शुभचिन्तक आउँछन् । टिका लगाएर नै नभ्याइने स्थिति हुन्छ । मैले टिका लगाउनका लागि मेरो अग्रह चाँही कोही पनि छैनन् । दशैमा तासजुवा खेल्ने, मनोरञ्जन गर्ने कुरा हुँदैन । खाली समयलाई चुनावी तयारीमा खर्चन्छु ।
राजनीतिबाट पूरै पाँच दिन बिदा लिन्छु ः कांग्रेस नेता गगन थापा
फूलपातीको दिन केही शुभकामना आदान प्रदानका कार्यक्रम भए । अष्टमीको दिनबाट पूरै ५ दिन राजनीतिबाट बिदा लिन्छु । अष्टमी र नवमीको दिन बच्चाहरुलाई लिएर मन्दिरहरु जान्छु । दशैको समय मेरो पारिवारिक जमघटमा बित्ने गर्छ ।
आफ्नो परिवार, श्रीमतीतर्फको परिवार सबैसँग भेटघाट हुन्छ । ३ दिन टिका लगाउँन सबै आफन्तजनको घरमा पुग्छु । दशैंका लागि कपडा किन्न शनिवार जाने बिचार गरेको छु । दशैका लागि खसी तथा खाने कुराको सबै ब्यवस्थापन बुवाले गर्नुहुन्छ ।
राजनीतिक गतिबिधीमा सक्रिय नभएपनि जहाँ जाँदा पनि साथीभाईले छोड्दैनन् । दशंैमा पनि म आफन्त साथी सँगै हुन्छन् । पहिला दशैंमा सामान्य तास पनि खेलिन्थ्यो तर अहिले छुट्यो । एकै ठाँउमा धेरैबेर बस्न सक्दिन् ।
चाडपर्व कसरी मनाउनु हुन्छ भनेर नसोधे हुन्छ भन्छिन् माअोवादी प्रवक्ता पम्पा भूसाल
मलाई चाडपर्व कसरी मनाउँनु हुन्छ भनेर नसोधे पनि हुन्छ । म मन्दिर जान्न, पूजापाठ गर्दिन । फूलपातीको दिन चियापान तथा शुभकामना आदान प्रदान तथा खेलकूद सम्बन्धी दुई कार्यक्रम छन् । ती कार्यक्रमका सहभागी हुन्छु । यसबर्ष चुनावको चटारो पनि छ ।
अरु दिन फोनबाट चुनावको तयारी गर्छु । आफ्नो चुनाव क्षेत्रका साथीहरु, जनताहरुसँग फोनबाट कुरा गर्छु । यसवर्ष पनि ललितपुर क्षेत्र नं.३ बाट चुनाव लड्ने योजना बनाएको छु ।
आमा ९० वर्षको हुनुहुन्छ । परिवारलाई÷आमालाई पनि समय दिन्छु । हामी ५ दिदीबहिनी र १ भाई छौं । एउटी बहिनी बेलायतबाट बुधबार मात्रै आइपुगी । सबैजना भएर रमाइलो पनि गर्छौं । दशैंमा पूजापाठ आमाले गर्दै आउनुभएको छ ।
मैले पूजापाठ नगरेपनि आमाको हातबाट टिका लगाँउछु । टिका लगाउन के भयो र जनताको हातबाट पनि लगाएको हुन्छु । आमाको हातबाट पनि लगाउँछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण