बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

डाक्टरको दरखास्त नपरेपछि दैलेखको महाबुमा अस्पताल सञ्चालन अन्योलमा !

मङ्गलबार, २० माघ २०७७, १७ : ०४
मङ्गलबार, २० माघ २०७७

सुर्खेत । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति अभाव भएपछि ‘महाबुमा अस्पताल’ सञ्चालन हुन सकेको छैन । दैलेखको महाबु गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल तथा १० श्यया अस्पताल सञ्चालनका लागि गत कार्तिक १८ गते चिकित्सकसहित तीन पदका लागि दरखास्त आह्वान गरेको थियो । उक्त, पदका लागि कुनैपनि निवेदन नपरेपछि हालसम्म पनि अस्पताल सञ्चालनमा आउन नसकेको हो । 

गाउँपालिकाले करार नियुक्ति गर्नेगरि मेडिकल अधिकृत आठौं तह, स्टाफ नर्स सहायक पाचौं तह र हेल्थ असिस्टेन्ट सहायक पाचौं तहका लागि दरखास्त आह्वान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले बताए ।
उनका अनुसार हालसम्म मेडिकल अधिकृतका लागि कुनैपनि निवेदन नपरेपछि उम्मेदवार छनोट नगरिएको हो । अस्पताल संचालनमा आउन नसकेपछि चिकित्सक सहितको स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको स्थानीयको भनाइ छ । 

‘गाउँपालिकाभित्रै चिकित्सक सेवा पाउने निकै ठूलो आशा थियो’ स्थानीयले भने, ‘संरचना तयार भएको लामो समयसम्म अस्पताल सञ्चालन नहुँदा आशा, निराशामा परिणत हुँदैछ ।’
‘स्टाफ नर्स र हेल्थ असिस्टेन्टमा केही निवेदन परेका छन्, तर मेडिकल अधिकृतका लागि छैन,’ प्रमुख प्रशासकीय अधिकृत मल्लले भने, ‘मेडिकल अधिकृतको लागि निवेदन नपरेपछि अन्य पदको छनोट समेत स्थगित गरिएको हो ।’ 

अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण संरचना तयारी गरिएको अवस्थामा जनशक्ति अभाव हुँदा अस्पताल सञ्चालन गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । ‘अस्पतालको लागि चाहिने स्तरिय ल्याव, शैय्या, उपकरण, भवन लगायतका सम्पूर्ण संरचना तयारि अवस्थामा छ,’ अध्यक्ष शाहीले भने, ‘अस्पताल सञ्चालनको अन्तिम अवस्थामा मेडिकल अधिकृतको दरखास्तमा निवेदन नपरेर रोकिएको छ ।’

मेडिकल अधिकृतका लागि उचित सेवा सुविधासहित अतिरिक्त भत्ताको व्यवस्था गर्दासमेत दरखास्त नपरेको अध्यक्ष शाहीले बताए । ‘मेडिकल अधिकृतले पाउनुपर्ने सेवा सुविधा दिन तयार छौं’ अध्यक्ष शाहीले रातोपाटीसँग भने, ‘दरखास्तका लागि निवेदन परेको अवस्था तुरुन्तै छनोट गरि अस्पताल संचालनको प्रक्रियामा अघि बढ्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप