बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात यात्रु घाइते

बिहीबार, ३२ असार २०८३, १४ : २२
बिहीबार, ३२ असार २०८३

सारांश

  • रुपन्देहीको ओमसतिया गाउँपालिकामा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्।
  • टाउकोमा गम्भीर चोट लागेका सहचालक सन्दीप बरालको उपचारका क्रममा भीम अस्पताल, भैरहवामा मृत्यु भएको हो।
  • दुर्घटनापछि फरार भएका माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस बिहीबार बिहान करिब १० बजे अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भीम अस्पताल, भैरहवामा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ।

दुर्घटनामा सिद्धार्थनगर–८ की ५० वर्षीया कृष्णकुमारी बेलबासे, सिद्धार्थनगर–८ की ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर–३ (दरखसवा) का २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका–७ की ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका–६ की ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन्।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल, भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल, मणिग्राम रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीका वरिष्ठ सई ज्ञानु पाण्डेयले जानकारी दिए।

दुर्घटनापछि फरार भएका माइक्रोबस चालक तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप