बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
लुम्बिनी प्रदेश

एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक

बिहीबार, ३२ असार २०८३, १३ : ३९
बिहीबार, ३२ असार २०८३

सारांश

  • नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि लुम्बिनी प्रदेशमा राजनीतिक गतिविधि बढेको छ।
  • लुम्बिनी प्रदेशमा कांग्रेसका मन्त्रीहरूसँग छलफल गर्न कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाङमा बैठक बोलाएका छन्।
  • बैठकमा सरकारबाट मन्त्री फिर्ता बोलाउने वा नयाँ सत्ता समीकरणबारे छलफल हुने बताइएको छ।

बुटवल । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने केन्द्रीय निर्णय गरेसँगै लुम्बिनी प्रदेशमा पनि राजनीतिक गतिविधि तीव्र बनेको छ। 

एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग छलफल गर्न कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज दिउँसो ३ बजे दाङमा बैठक बोलाएका छन्। बैठकमा सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन्।

केन्द्रको निर्णयपछि लुम्बिनीमा कांग्रेसले अब कस्तो रणनीति अपनाउने, सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने वा नयाँ सत्ता समीकरणतर्फ अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ। कांग्रेसबाट सरकारमा सहभागी पाँच मन्त्रीमध्ये तीन जना हिजो काठमाडौँमा रहेकाले बैठकमा सहभागी हुन दाङतर्फ जाँदै छन्।

केन्द्रको निर्देशनअनुसार प्रदेशमा अब कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने जानकारी कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले दिएकी छिन्।

हाल एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन्।

केन्द्रले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि लुम्बिनी प्रदेशमा पनि सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे राजनीतिक वृत्तमा चासो बढेको छ। अब कांग्रेसले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने वा नयाँ राजनीतिक समीकरणमार्फत अघि बढ्ने भन्ने निर्णय आजको छलफलपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप