बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
काठमाडौँ । दुई वर्षअघि नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमति धरापमा परेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सरकार निर्माणमा निर्णायक बनेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमालेले आर्थिक वर्ष २०८३/०८४ को बजेट पास गर्न असहयोग गरेका कारण मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बुधबार बर्खास्त गरेका थिए । मुख्यमन्त्रीको निर्णयबाट आक्रोशित भएको एमालेले सरकारलाई दिएको समर्थन नै फिर्ता लिने निर्णय ग¥यो । त्यसको असर सातै प्रदेशमा पर्ने देखिएको छ ।
कांग्रेस–एमाले गठबन्धन धरापमा परेसँगै संघीय राजधानी रहेको बागमती प्रदेशमा पनि सत्ता समीकरणको कसरत भइरहेको छ ।
बागमतीमा पनि एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । वामपन्थी सरकार बनाउन प्रमुख प्रतिपक्ष दल नेकपासँग एमालेले प्रस्ताव गरेको छ । एमालेबाट प्रस्ताव आएको प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका नेता शालिकराम जम्कट्टेलले बताए । तर दोस्रो ठुलो दलको नेता भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने उनको भनाइ छ ।
‘एमालेका माननीयज्यूहरूले हामी मिलौँ र वाम गठबन्धन अगाडि बढाऔँ भनिरहनुभएको छ । यदि अहिलेको सरकार परिवर्तन हुने स्थिति बन्यो भने हामी अरु कसैलाई सपोर्ट गर्दैनौँ । प्रदेश सभाको दोस्रो ठुलो दल हुनुको नाताले हाम्रै नेतृत्वमा सरकार बनाउन पहल गर्छौं,’ जम्कट्टेलले भने ।
प्रदेश सरकारको कार्यकाल एक वर्ष पनि बाँकी नरहेको अवस्थामा सुदूरपश्चिममा गठबन्धन टुटाएर एमालेले कच्चा काम गरेको उनले बताए । आफैँ सहभागी सरकारले ल्याएको बजेट पास गर्न असहयोग गर्न नहुने उनको भनाइ छ । उनले बागमतीमा सरकार गठनको विषयमा कांग्रेसबाट कुनै प्रस्ताव नआएको बताए ।
यद्यपि कांग्रेस–एमालेले आधिकारिक रूपमा सत्ता गठबन्धन भत्किएको घोषणा गरेका छैनन् । सत्ता गठबन्धन भत्किएको अवस्थामा बागमतीमा दोस्रो ठुलो दल भएकाले आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाउने नेकपाको तयारी छ । कांग्रेस र एमालेबिच अविश्वास बढेकाले नेकपाकै नेतृत्वमा सरकार बनाउन उपयुक्त हुने जम्कट्टेलको तर्क छ ।
बागमती प्रदेशमा कांग्रेसबाट इन्द्रबहादुर बानियाँ अहिले मुख्यमन्त्री छन् । गत वर्ष साउन २० गते कांग्रेसकै मुख्यमन्त्री रहेका बहादुर सिंह लामालाई हटाएर बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेसभित्र त्यतिबेलै दुई गुटको प्रभाव परेको थियो ।
बानियाँ देउवा गुटका थिए भने लामा गगन थापा गुटका थिए । कांग्रेसभित्रै देउवा र थापा गुट विभाजित भएकाले सरकार फेरबलको कसरत भइराखेको थियो । पूर्वसहमति अनुसार बागमतीमा एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेससँग सहयोग मागेको थियो, तर पार्टी नेतृत्वमा थापा आएसँगै ओलीले सत्ता सहकार्य गर्न आनाकानी गरेको आरोप लागेको छ ।
मुख्यमन्त्रीमा शालिकराम र गांगानारायणको चर्चा
सत्ता गठबन्धन अचानक भत्किएपछि नेकपा अहिलेकै अवस्थामा कांग्रेस वा एमालेलाई समर्थन गरेर जाने पक्षमा देखिएको छैन । सत्ता समीकरण फेरबदल गर्ने सम्बन्धमा केन्द्रले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । यद्यपि सरकार नै बन्न नसक्ने अवस्थामा सरकार गठन गर्न नेकपाले तीन सर्त राखेको छ । पहिलो, तीनै दलको समर्थनमा सहमतिको सरकार गठन गर्ने, दोस्रोमा कांग्रेस वा एमालेलाई समर्थन गरेर सरकार गठन गर्न नसक्ने, तेस्रोमा सरकार नै बन्न नसक्ने अवस्था आए सम्बन्धित प्रदेशलाई आवश्यकता अनुसार निर्णय गर्ने अधिकार दिनुपर्ने नेकपाको प्रस्ताव छ । त्यसका लागि गठबन्धन भत्किएको आधिकारिक निर्णय कुरेर नेकपा बसेको छ ।
नेकपाकै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा मुख्यमन्त्रीको दौडमा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल र पूर्वकानुनमन्त्री रहेका गंगानारायण श्रेष्ठ देखिएका छन् । २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनपछि साविक नेकपा माओवादी केन्द्रबाट जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।
साविक नेपाल समाजवादी पार्टीबाट श्रेष्ठ कानुनमन्त्री थिए । स्रोतका अनुसार बागमतीमा पार्टीले सरकार बनाउने अवस्था आएमा श्रेष्ठलाई नै मुख्यमन्त्री बनाउने आश्वासन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले दिएका थिए । गत चैत–वैशाखमा बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकमा श्रेष्ठलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने आश्वासन दिएको दाबी छ ।
‘गंगानारायणजीले फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली–२ बाट टिकट माग्नुभएको थियो । तर प्रचण्ड र माधवले सिन्धुलीमा लेखनाथ दाहाललाई टिकट दिएपछि गंगालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएका रहेछन् । प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट नपाएपछि मुख्यमन्त्रीको दाबी गर्नुभएको हो,’ स्रोतले भन्यो ।
यता एकपटक मुख्यमन्त्री भइसकेका जम्कट्टेल प्रदेशको नेतृत्व गर्ने अवसर आएमा फेरि दोहोरिने तयारीमा छन् । मंसिरको पहिलो हप्ता बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई नै दलको नेता बनाउने निर्णय गरेको थियो । त्यतिबेला नेकपा एकीकृत समाजवादीबाट आएका कृष्ण खनाललाई उपनेता बनाएको थियो । फेरि मुख्यमन्त्रीमा दोहोरिनेबारे आफूले कुनै चाहना नराखेको जम्कट्टेलले बताए ।
‘म एकपटक मुख्यमन्त्री भइसकेको छु । फेरि दोहोरिने चाहना छैन । पार्टीले नै सरकारको नेतृत्व गर्ने अवस्था आएमा मुख्यमन्त्रीको विषयमा केन्द्रले निर्णय गर्छ’, उनले भने ।
यता गंगानारायण श्रेष्ठले सत्ता गठबन्धन भत्किएको विषयमा कांग्रेस र एमालेबाट आधिकारिक निर्णय नआइसकेकाले पार्टीले कुनै निर्णय नगरेको बताए । ‘प्रदेश सभाको कार्यअवधि एक वर्ष पनि नभएको अवस्थामा सरकार फेरबदल गर्नु राम्रो हुँदैन । अहिलेसम्म सत्ताधारी दलले गठबन्धन भत्किएकोबारे कुनै निर्णय गरेको छैन । सरकार नै नबन्ने अवस्था आएमा पार्टीले निर्णय गर्छ’, श्रेष्ठले भने ।
यता नेकपाका बागमती प्रदेश संयोजक सरल सहयात्री पौडेलले गठबन्धन टुटेको अवस्थामा के गर्ने भन्ने विषयमा आन्तरिक छलफलमै रहेको बताए । गठबन्धन टुटेको अवस्थामा स्वाभाविक रूपमै नेकपाले सरकारको नेतृत्व गर्नेगरी पहल हुने उनले स्पष्ट पारे । तर मुख्यमन्त्री बन्ने दौडमा आफू नरहेको उनले जिकिर गरे ।
‘म मुख्यमन्त्री बन्ने दौडमा छैन । प्रदेश सभाको अवधि नै थोरै रहेको बेला सरकार गठन र विघटनको पक्षमा हामी छैनौँ, तर कांग्रेस र एमालेको झगडाले सरकार नै नबन्ने स्थिति आएमा सरकारको नेतृत्व नेकपाले दाबी गर्छ । मुख्यमन्त्री को बन्ने भन्ने विषय पार्टीले निर्णय गर्ने हो । मुख्यमन्त्री बन्ने दौडमा म छैन’, पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण