मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
सारांश
- मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्किने सम्भावना देखिएको छ, जसको असर केन्द्रको निर्देशनमा निर्भर रहनेछ ।
- एमाले र कांग्रेस दुवैले मधेस प्रदेश सरकार नछाड्ने संकेत दिए पनि केन्द्रबाट निर्देशन आएपछि मात्र निर्णय लिने भएका छन् ।
- यदि कांग्रेस र एमालेको गठबन्धन भत्कियो भने मधेस प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपाल निर्णायक हुनेछ र आफ्नै नेतृत्वमा सरकार बनाउन सक्नेछ ।
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन भत्किएपछि हरेक प्रदेशमा त्यसको असर देखिन थालेको छ । विभिन्न प्रदेश सरकारको भविष्यमाथि प्रश्न उठिरहेको छ ।
सुदुरपश्चिम प्रदेशमा एमालेले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने एमाले नेतृत्वमा रहेको कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । अन्य प्रदेशमा पनि गठबन्धन भत्किएको असर देखा पर्न थालेको छ ।
सोही परिस्थितिबिच मधेस प्रदेशमा के होला भन्नेबारे चासो बढेको छ । यद्यपि हालसम्म एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेस सरकार छाडेको छैन । कांग्रेसले पनि एमालेका मन्त्रीलाई हटाइसकेको छैन ।
कांग्रेस निकट एक नेताले भने, ‘अहिलेसम्म एमालेसँग मिलेरै जाने कुरा छ, यद्यपि यस विषयमा केन्द्रले दिने निर्देशनमा सरकारको भविष्य भर पर्छ ।’
एमाले पनि मधेस प्रदेश सरकार छाड्ने पक्षमा देखिएको छैन । एमालेको केन्द्रबाट हालसम्म प्रदेशमा कुनै निर्देशन गएको छैन । कांग्रेसलाई पनि सत्ता साझेदारका सम्बन्धमा केन्द्रमा कुनै निर्देशन गइसकेको छैन ।
एमालेका प्रदेश सभा सदस्य राजकुमार लेखीले भने, ‘प्रदेशमा अहिले सरकारको विषयमा कुुनै कुराकानी भएको छैन । सरकारका सम्बन्धमा हामीलाई केन्द्रले कुनै निर्देशन दिएको छैन । निर्देशन आएपछि दलले सोही अनुसार निर्णय गर्छ ।’ आफूहरू केन्द्रबाट आउने निर्देशनको पर्खाइमा रहेको उनले बताए ।
जसपा नेपालका नेता एवं मधेस प्रदेश सभा सदस्य जितेन्द्र सोनलले हालसम्म सरकारको बारेमा कांग्रेस र एमाले नै स्पष्ट नभएको अवस्थामा जसपा नेपालले केही गर्न नमिल्ने बताए ।
मधेस प्रदेशमा एमाले–कांग्रेस गठबन्धन भत्कियो भने जनता समाजवादी पार्टी नेपाल निर्णायक हुनेछ । मधेस प्रदेशमा जसपा नेपाल सबैभन्दा ठुलो दल हो । कांग्रेस–एमालेको विद्यमान गठबन्धन भत्किएको खण्डमा दुवै दललाई सरकार बनाउन जसपा नेपालको साथ चाहिन्छ । तर ठुलो पार्टीको हैसियताले जसपा नेपालले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको छ ।
जसपा नेपालका नेता एवं मधेस प्रदेश सभा सदस्य जितेन्द्र सोनलले हालसम्म सरकारको बारेमा कांग्रेस र एमाले नै स्पष्ट नभएको अवस्थामा जसपा नेपालले केही गर्न नमिल्ने बताए । कांग्रेस–एमालेको गठबन्धन भत्किएपछि मात्र जसपा नेपालले आवश्यक निर्णय गर्ने उनले प्रस्ट पारे ।
जसपा नेपालका अर्का नेता शैलेन्द्र साहले जसपा नेपाल सबैभन्दा ठुलो पार्टी भएको नाताले सरकारको नेतृत्वमा दाबी गर्ने जिकिर गरे । तर त्यसका लागि वर्तमान गठबन्धन भत्किनुपर्ने उनको भनाइ छ । ‘एमाले आफैँ सरकारबाट निस्किन्छ कि कांग्रेसले निकाल्छ भन्ने प्रस्ट छैन,’ उनले भने, ‘यो गठबन्धन नभत्किएसम्म जसपा नेपालको यसमा कुनै भूमिका रहँदैन ।’
स्रोतका अनुसार एमाले पनि सरकारको नेतृत्वमा दाबी गरिरहेको छ । त्यसका लागि एमालेका नेताहरूले जसपा नेपालसँग आन्तरिक कुराकानी सुरु गरेको बताइएको छ ।
कांग्रेसले मुख्यमन्त्रीमा आफ्नो दाबी कायम राखेमा एमाले र जसपा नेपाल मिलेर सरकार बन्ने सम्भावना रहेको स्रोत बताउँछ । एमालेले जसपा नेपाललाई मुख्यमन्त्री दिएर सरकार बनाउन सक्ने उक्त स्रोतको भनाइ छ ।
अर्कोतिर एमालेकै कारण कांग्रेसले सरकारको नेतृत्व गुमाउनु पर्ने स्थिति आएमा कांग्रेसले पनि जसपा नेपाललाई मुख्यमन्त्री दिन सक्ने बताइएको छ ।
जसपा नेपालका एक नेताका अनुसार मधेसमा जनमत पार्टी र जसपा नेपाल मिलेर नै सरकार बनाउने सम्भावना पनि छ ।
हाल मधेस प्रदेशमा १०३ जना प्रदेश सदस्य छन् । त्यसमा जसपा नेपालको २८ जना छन् भने एमालेको २४ र कांग्रेसका २२ जना सांसद छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीको १५ जना प्रदेश सभा सदस्य छन् भने जनमत पार्टीको १२, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक–एक जना प्रदेश सभा सदस्य छन् ।
बहुमतका लागि कम्तीमा ५२ जना प्रदेश सभा सदस्य चाहिन्छ । जसपा नेपाल र एमालेको जोड्दा ५२ पुग्छ । कांग्रेस र जसपा नेपाल मिल्दा भने दुई जना कम हुन्छ । त्यसमा जनमत पार्टीले साथ दिन सक्ने स्रोत बताउँछ ।
जसपा नेपालका एक नेताका अनुसार मधेसमा जनमत पार्टी र जसपा नेपाल मिलेर नै सरकार बनाउने सम्भावना पनि छ । त्यसो त जसपा नेपाल, जनमत पार्टी र नेकपा मिलेर पनि मधेसमा सरकार बन्न सक्छ । त्यसका लागि पहिला कांग्रेस र एमालेबिचको गठबन्धन भत्किनुपर्छ । तर जसपा नेपाल एमाले वा नेकपासँग मिलेर सरकार बनाउने पक्षमा देखिएको छैन । सो पार्टींका नेताहरू मिल्यो भने कांग्रेससँगको सहकार्यमा सरकार बनाउने पक्षमा देखिएको स्रोतहरूको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव
-
स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
-
नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
-
सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण