बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
प्रदेश सत्ता राजनीति

अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी

बिहीबार, ३२ असार २०८३, १४ : ०३
बिहीबार, ३२ असार २०८३

सारांश

  • गण्डकी प्रदेशमा हालसम्म मुख्य राजनीतिक दलहरूबिच तुलनात्मक रूपमा सौहार्दपूर्ण वातावरण रहँदै आएको छ ।
  • नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दल अहिले नै कुनै हतारो गर्ने वा सत्ताको खिचातानीमा लाग्ने पक्षमा छैन ।
  • गण्डकी प्रदेशले अस्थिरताको साटो समझदारी र स्थिरताको सन्देश दिन सक्यो भने त्यो सकारात्मक हुनेछ ।

पोखरा । अहिले देशका विभिन्न प्रदेशहरूमा सत्ता समीकरण परिवर्तनको सङ्केत देखिएको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा यसको प्रत्यक्ष प्रभाव देखिइसकेको छ । कतै मन्त्रीहरु सरकारबाट बाहिरिने र कतै मुख्यमन्त्रीले नै बर्खास्त गरिरहेको अवस्था छ ।

 बाँकी प्रदेशहरूमा पनि सत्तारुढ दलबिच सम्बन्ध बलियो देखिएको छैन । तर, गण्डकीमा भने अरू प्रदेश भन्दा भिन्न चित्र देखिन्छ । गण्डकी प्रदेशमा हालसम्म मुख्य राजनीतिक दलहरूबिच तुलनात्मक रूपमा सौहार्दपूर्ण वातावरण रहँदै आएको छ । तैपनि कतिपय विषय केन्द्रको निर्णयका आधारमा पनि हुने भएकाले अब के हुन्छ भन्न सकिने स्थिति पनि छैन । यसै विषयमा नेकपा एमाले गण्डकी प्रदेशकी प्रमुख सचेतक देवका पहारीसँग रातोपाटीले कुराकानीको सम्पादित अंशः

  • अहिले अन्य प्रदेशहरूमा सत्ता समीकरणमा फेरबदल भइरहँदा गण्डकी प्रदेशमा चाहिँ कस्तो परिस्थिति बन्ला ?

अहिलेसम्मको परिस्थितिलाई हेर्दा गण्डकी प्रदेशमा एउटा सौहार्दपूर्ण वातावरण नै छ । हिजो मात्रै पनि क्याबिनेट मिटिङ बसेको थियो, जुन निकै सौहार्दपूर्ण रूपमा सम्पन्न भयो । नीति तथा कार्यक्रम र बजेट पास गर्ने सन्दर्भमा पनि यहाँ सहज र सकारात्मक वातावरण नै देखियो । गण्डकी प्रज्ञा प्रतिष्ठान, खेलकुद परिषद् जस्ता निकायहरूमा भएका नियुक्तिहरू पनि सहमतिकै आधारमा टुंगिएका छन् । त्यसैले अहिलेको अवस्थासम्म गण्डकी प्रदेशको वातावरण अन्य प्रदेशको तुलनामा शान्त र सुव्यवस्थित छ ।

  • अन्य प्रदेशमा समीकरण परिवर्तन गर्ने विषयमा छलफल चलिरहँदा त्यसको प्रत्यक्ष असर गण्डकीमा पनि देखिन सक्छ । गण्डकीमा एमालेको भूमिका अब के हुन्छ ?

नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दल अहिले नै कुनै हतारो गर्ने वा सत्ताको खिचातानीमा लाग्ने पक्षमा छैन । अहिले जुन समीकरण छ, यसैलाई निरन्तरता दिँदै अगाडि बढ्दा राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ हो । विगतमा पनि यहाँ लिखित सम्झौताहरू भएरै सहकार्य अगाडि बढेको हो । एमाले अहिलेको अवस्थामा परिपक्व र जिम्मेवार भूमिका निर्वाह गर्न चाहन्छ ।

  • अन्य प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको लुछाचुँडीभन्दा फरक ढङ्गले गण्डकी प्रदेशले नयाँ सन्देश दिन सक्छ त ?

हाम्रो चाहना पनि त्यही नै हो । राजनीतिक दलहरूले बारम्बार सत्ता परिवर्तन भइरहँदा जनतामा कस्तो सन्देश गइरहेको छ भन्ने कुरा बुझ्नुपर्छ । सरकार बन्ने र ढल्ने खेलले देशलाई फाइदा गर्दैन । विगतका अनुभवहरूबाट सिकेर दलहरूले परिपक्वता देखाउनु आवश्यक छ । अझै प्रदेशको हकमा त सत्ता फेरबदलले जनतामा चरम निराशा बढ्छ । किनकि सङ्घीयताप्रति केही मान्छेहरूको धारणा नै नकारात्मक छ । गण्डकी प्रदेशले अस्थिरताको साटो समझदारी र स्थिरताको सन्देश दिन सक्यो भने त्यो सकारात्मक हुनेछ । हामी त्यही प्रयास गर्छौँ ।

  • केन्द्रको निर्णय वा अन्य प्रदेशको राजनीतिक घटनाक्रमका बारेमा संसदीय दलभित्र छलफल वा ब्रिफिङहरू भएका छन् ?

औपचारिक रूपमा संसदीय दलमा यस विषयमा विस्तृत छलफल भइसकेको त छैन । तर, हामीले विभिन्न सञ्चारमाध्यम र अनौपचारिक माध्यमबाट घटनाक्रमहरू नियालिरहेका छौँ । हाम्रो स्पष्ट सुझाव के छ भने, सबै प्रदेशको वस्तुस्थिति र शक्ति सन्तुलन एउटै हुँदैन । जहाँ सहज रूपमा सरकार चलिरहेको छ, त्यहाँ अन्यत्रको विवादको छाया पर्नु हुँदैन । हामीले आफ्नो तर्फबाट केन्द्रमा पनि यही सुझाव पठाउने छौँ ।

  • गण्डकीमा सत्तारुढ दलहरू (कांग्रेस र एमाले) बिच यस विषयमा कुनै संवाद भएको छ कि छैन ?

सत्तारुढ दलहरूबिच अनौपचारिक संवादहरू भइरहेका छन् । हामी निरन्तर संवादमै छौँ । अहिलेको परिस्थितिमा कसरी अगाडि बढ्ने र कसरी स्थिरता कायम राख्ने भन्ने विषयमा दुवै दलका नेताहरू सकारात्मक हुनुहुन्छ । केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म प्रदेश तहबाटै नयाँ कदम चाल्ने स्थिति छैन, तर संवादहीनताको अवस्थामा भने छैन ।

  • यदि परिस्थिति बदलिएर नयाँ समीकरण बनाउनुपर्ने अवस्था आयो भने एमालेको रणनीति के रहला ?

राजनीतिमा अङ्कगणित महत्त्वपूर्ण त हुन्छ नै, तर त्योभन्दा महत्त्वपूर्ण स्थिरता र जनअपेक्षा हो । एमाले सत्ताकै लागि जे पनि गर्ने पक्षमा छैन । यदि परिस्थिति परिवर्तन भयो भने पनि हामी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्न तयार छौँ । सधैँ सत्तामै रहनुपर्छ भन्ने छैन, प्रतिपक्षमा बसेर पनि प्रदेशको विकास र समृद्धिका लागि रचनात्मक सहयोग गर्न सकिन्छ । हामी यही सोचका साथ अगाडि बढिरहेका छौँ । बाँकी कुरा त निर्णय भइसकेपछि देखिने हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप