मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

गहुँगोरो अफ्रिका

शुक्रबार, २३ माघ २०७७, ०० : ३८
शुक्रबार, २३ माघ २०७७

 

 

मेरो रातो रगत

मानिसको पवित्र रातो रगत

नीलो पसिनाको बुँद बनेर जब झर्दछ

तिमी आफ्ना नरम अञ्जुलीहरुमा आली लगाएर थाप्दछौ

जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु

तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ

आँखा जुधाउने आँट गर पूजारी

म बीसौं सताब्दीको ‘अछूत’ हुँ !

म न्याय चाहन्छु

म मुक्ति चाहन्छु ।

 

तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ

ओदानमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ

आँखा जुधाउने आँट गर धर्माती मान्छे

कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर

कि मेरो अपमान गर्ने शास्त्रका पानाहरुलाई

च्यात्ने या जलाउने साहस गर

म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ

म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

 

तिम्रो बस्तीको सफा भुइँलाई सुँघ

बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ

आँखा जुधाउने आँट गर सफा मान्छे !

कि मेरो रक्तनलीहरुमा पानी भर

कि आफ्नो दिमागको फोहर सफा गर

म तिम्रो बस्तीको फोहर सोहर्ने च्यामे हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

 

तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरुलाई च्यात

त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ

आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !

कि मलाई जनावरसँगै बाँध र घाँस खुवाउने आँट गर

कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर

म सारङ्गी रेट्ने मादल ठोक्ने गाइने हुँ – वादी हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

 

माटोमा धस्सिएको मेरो जीवनलाई छाम

त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ

आँखा जुधाउने आँट गर अघाएको मान्छे !

कि तिम्रो गाँसमा मेरो आँशुको गन्ध छैन भन्ने आँट गर

कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर

म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

 

तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म

तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म

म कहाँ छैन ? म सर्वत्र छु ।

मलाई तिमी कसरी अछूत बनाउन सक्छौ ‘छूत’ मान्छे ?

कि इतिहासको कठघरामा उभिने आँट गर

कि आफूलाई बदल्ने साहस गर

आँखा जुधाउने आँट गर पुजारी !

म बीसौं शताब्दीको ‘अछूत’ हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

म अपमानित इतिहासको हिसाब चाहन्छु

म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !

गहुँगोरो अफ्रिका, साङ्ग्रिला पुस्तक प्रा.लि.द्वारा प्रकाशित, २०७१ साल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आहुति
आहुति

वामपन्थी नेता तथा मार्क्सवादी चिन्तक ।

लेखकबाट थप