गहुँगोरो अफ्रिका
मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरुमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बीसौं सताब्दीको ‘अछूत’ हुँ !
म न्याय चाहन्छु
म मुक्ति चाहन्छु ।

तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरुलाई
च्यात्ने या जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
म यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्तनलीहरुमा पानी भर
कि आफ्नो दिमागको फोहर सफा गर
म तिम्रो बस्तीको फोहर सोहर्ने च्यामे हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरुलाई च्यात
त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँगै बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने मादल ठोक्ने गाइने हुँ – वादी हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे !
कि तिम्रो गाँसमा मेरो आँशुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन ? म सर्वत्र छु ।
मलाई तिमी कसरी अछूत बनाउन सक्छौ ‘छूत’ मान्छे ?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पुजारी !
म बीसौं शताब्दीको ‘अछूत’ हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !
गहुँगोरो अफ्रिका, साङ्ग्रिला पुस्तक प्रा.लि.द्वारा प्रकाशित, २०७१ साल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण