भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पारदर्शी भएको र बन्द कोठामा कुनै भेटघाट नगरेको बताएका छन् ।
- उनले नेपालले विकासको गतिलाई समात्नुपर्ने, छिमेकी राष्ट्रबाट सिक्नुपर्ने र विगतका राम्रा कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
- लामिछानेले परराष्ट्र नीति कुनै पार्टी विशेषको नभई देशको हुने र आफू प्रधानमन्त्री बन्न आशीर्वाद लिन भारत नगएको स्पष्ट पारे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पूर्ण रूपमा पारदर्शी भएको दाबी गरेका छन् ।
भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले विगतका उच्च राजनीतिक नेतृत्वले जस्तो बन्द कोठामा लुकिछिपी कुनै भेटघाट नगरेको स्पष्ट पारे ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका लामिछानेले दुई पार्टीबिचको सम्बन्ध विस्तार र विशेष गरी ’विकास कूटनीति’ मा आफ्नो भ्रमण केन्द्रित रहेको बताए। आफ्ना सम्पूर्ण भेटघाटमा नयाँ दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत उपस्थित रहेको जानकारी दिँदै उनले भने, ‘भित्र एउटा कुरा र बाहिर अर्को कुरा हुने अपारदर्शी काम हामीबाट भएन, हामीले जे कुरा गर्यौँ स्पष्ट र पारदर्शी ढङ्गले गर्यौँ।’
राजनीतिलाई अर्थ–राजनीतिमा परिणत गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालले अब विकासको गतिलाई समात्नुपर्ने बताए । छिमेकी राष्ट्रले विकासमा मारेको लोभलाग्दो फड्कोबाट नेपालले पनि सिक्नुपर्ने र विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अल्झिएका विकास आयोजना सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।
धार्मिक पर्यटन, कनेक्टिभिटी र सूचना प्रविधि (आइटी) जस्ता विषयमा सहकार्य गरेर आर्थिक लाभ लिने विषयमा भारतीय पक्षसँग छलफल भएको उनले जानकारी दिए ।
विगतमा पत्रकारितामा रहँदा सिमानाको मुद्दा जोडतोडले उठाउने तर अहिले भारत जाँदा उक्त विषय नउठाएको भन्दै पत्रकारले सोधेको प्रश्नमा लामिछानेले कूटनीति र मिडियाबाजी फरक कुरा भएको तर्क गरे ।
‘कुनै पनि विषय कूटनीतिक माध्यमलाई सक्रिय गराएर समाधान गर्ने हो, यसमा हल्ला गरेर वा ढोल बजाएर हुँदैन,’ उनले भने, ’कूटनीति एक्टिभिस्ट वा पत्रकारले उठाउने विषयजस्तो होइन, एउटा जिम्मेवार दलले कूटनीतिक चरण र संवेदनशीलतालाई बुझेर सही समय र ठाउँमा कुरा राख्नुपर्छ ।’
प्रधानमन्त्रीले भारतले नेपालको भूमि मिचेको भनी दिएको अभिव्यक्तिका कारण प्रतिपक्षले गरिरहेको विरोधलाई लक्षित गर्दै लामिछानेले परराष्ट्र नीति कुनै पार्टी विशेषको नभई देशको हुने बताए।
प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत आधिकारिक धारणा सार्वजनिक गरिसकेपछि त्यसमा थप विवाद गर्नु वा आधिकारिकता खोज्नु आवश्यक नरहेको उनको भनाइ थियो।
- पत्रकारको प्रश्नमा लामिछानेको जवाफ
पत्रकार: तपाईँ पत्रकारितामै हुँदा सिमानाको विषय जोडतोडका साथ उठाउनुहुन्थ्यो। जनताको आशा र अपेक्षा चाहिँ रवि लामिछानेजस्तो व्यक्ति भारत जाँदा जोडतोडले सिमानाको मुद्दा उठाउनुहोला, हाम्रो गुमेको भूमि फिर्ता माग्नुहोला भन्ने थियो। तर, तपाईँले कहीँ कतै त्यो कुरा राख्नुभएन। बिर्सिनुभएको हो सभापतिज्यू ?
रवि लामिछाने: म तपाईँहरूलाई एउटा कुरा के बताउन चाहन्छु भने, कुनै पनि विषय कूटनीतिक माध्यमलाई सक्रिय बनाएर गरिनु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। ती कुराहरू एकदमै होहल्ला गरेर वा ढोल बजाएर हुँदैनन्। ढोल नबजाईकन आफ्ना देशका बारेमा गर्नुपर्ने कुराहरू सही ठाउँमा, सही समयमा र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
हेर्नुस्, एउटा एक्टिभिस्ट वा पत्रकारले उठाउने विषय र देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलले उठाउने विषयबिचका फरक जिम्मेवारी र संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको त्यति धेरै महत्त्व हुँदैन। लोकप्रियताका लागि मात्र बोल्न त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नका निमित्त चरणहरू हुन्छन्।
जसरी तपाईँको रिपोर्टिङको पनि एउटा चरण हुन्छ—तपाईँ निस्कनुहुन्छ, सामान प्याक गर्नुहुन्छ, प्रश्न लिएर जानुहुन्छ, सोध्नुहुन्छ, त्यसलाई सम्पादन गर्नुहुन्छ, अनि मात्र त्यो आम नागरिककहाँ पुग्छ। कूटनीतिका पनि यस्तै चरणहरू हुन्छन्। त्यस्ता चरणमा सही ठाउँमा, सही ढंगले आफ्ना कुराहरू राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि गरिरहेको छ। कूटनीतिक माध्यमबाट अगाडि बढ्ने कुराहरू कहिलेकाहीँ सडक, सदन वा मिडियाका चासोहरूभन्दा अझ माथि र संवेदनशील भएर अगाडि बढेका हुन्छन्। अहिले त्यसै ढंगले कुराहरू अगाडि बढेका छन्।
पत्रकार: जस्तो कि, रास्वपाको सरकार बनेको १०० दिन पूरा भयो सभापतिज्यू। रास्वपा सरकारमा गएपछि विदेशबाट नेपालीहरू फर्काउन विमानस्थलहरूमा ठूला–ठूला बोर्ड राखिनेछन् भन्नुहुन्थ्यो। तर अहिले पनि आँसु त्यही छ, व्यथा त्यही छ। मैले कहीँ कतै बोर्ड देखिनँ। मेरो दृष्टि कम भएको हो कि सभापतिज्यूले देखाउन सक्नुभएन ?
रवि लामिछाने: तपाईँले प्रश्न गरेर मलाई सम्झाइदिनुभयो, यसका लागि तपाईँलाई धेरै–धेरै धन्यवाद। सय दिन पुगेपछि कति जना आउनुभएछ, कति जना आउनुभएको रहेनछ, त्यो बुझेर तपाईँहरूलाई जानकारी गराइहाल्छु नि।
पत्रकार: कूटनीतिमा जहिले पनि हामी भारत वा अरू कुनै देश भ्रमणमा जाँदा हाम्रो स्वागत सत्कार कसरी हुन्छ, हाम्रो हाउभाउ र प्रस्तुति कस्तो रहन्छ भन्ने कुराले अर्थ राख्छ नि। तपाईँले अपेक्षाअनुसारको स्वागत पाउनुभयो कि पाउनुभएन ? आउँदाखेरि हामीले के लिएर आयौँ ? रास्वपाको युगमा कूटनीतिको तह र किसिम कस्तो रहन्छ, त्यसमा केही प्रकाश पार्नुस् न।
रवि लामिछाने: म पहिले अघिल्लो कुरा सकाइहाल्छु, अनि तपाईँको यो प्रश्नमा आउँछु। अघि मैले सुरुमै भनेँ, हाम्रा बैठकहरू पारदर्शी ढंगले अगाडि बढेका छन्। परराष्ट्र मन्त्रालयसम्बद्ध कार्यवाहक राजदूतलाई नै राखेर हामीले कुराकानी गर्यौँ।
त्योभन्दा अझ पर गएर, 'हिन्दुस्तान टाइम्स'मा मेरो एउटा लेख पनि प्रकाशित भएको थियो। त्यस लेखमार्फत रास्वपाले कस्तो किसिमको सहभागिता र सहकार्य चाहन्छ भन्ने कुरा स्पष्ट पारिएको थियो। कनेक्टिभिटी देखि धार्मिक पर्यटनसम्म हाम्रा प्राथमिकताहरू के हुन् ? हामी यो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ र हाम्रो सम्बन्ध कहाँ पुगोस् भन्ने चाहन्छौँ ? त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छन्।
हामीले के ल्यायौँ, के पायौँ भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौँ भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले गर्ने कुराहरू कैयौँ छन् भने, सहकार्य र सद्भावका आधारमा अगाडि बढ्नुपर्ने विषयहरू पनि धेरै छन्। नयाँ सरकार बनिसकेपछि एउटा मित्रराष्ट्रसँग लगानी र सहकार्यका कुरामा हामीले के अपेक्षा गर्ने ? वर्षौंदेखिको सद्भावपूर्ण सम्बन्धका आधारमा राष्ट्रले कुन लाभ लिन सक्छ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छ ? यिनै प्राथमिकताहरू छुट्याएर कुराकानी अगाडि बढेको छ।
एउटा राजनीतिक दलको निमन्त्रणामा अर्को राजनीतिक दलको भ्रमण भएको हुनाले, हामीले हाम्रा कुरा स्पष्ट राखेका छौँ। यो अस्पष्ट, लुकिछिपी वा अपारदर्शी सम्बन्ध होइन। पारदर्शी, स्पष्ट र गन्तव्य तय गरेर सुरु गरिएको यात्रा भएकाले यो एक हिसाबले सम्बन्धको 'पुनर्सेट' जस्तो पनि हो। कैयौँ विषयलाई 'रिसेट' गर्न यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेको छु।
पत्रकार: सभापतिज्यू, प्रधानमन्त्रीज्यूले भारतले नेपालको भूमि मिचेको छ भन्नुभयो। तर तपाईँ सुटुक्क भारत जानुभयो। त्यहाँ तपाईँले जुन रातारात भव्य स्वागत पाउनुभयो, त्यसको रहस्य के हो भनेर मान्छे छक्क परेका छन्। तपाईँले त्यत्रो तामझामसहितको स्वागत पाउनुको पछाडिको रहस्य अलिकति प्रस्ट पारिदिनुस् न।
रवि लामिछाने: त्यस्तो तामझाम त तपाईँहरूलाई लागेको होला, मलाई लागेन। कुनै अतिथिलाई कसरी सत्कार गर्ने भन्ने कुरा आमन्त्रण गर्ने पक्षले निर्णय गर्ने कुरा हो। भारतीय जनता पार्टीको मुख्यालयमा जुन स्वागत गरियो, त्यो अत्यन्तै प्रेमपूर्वक र सम्मानजनक थियो। तर, त्यो मेरो व्यक्तिगत, मेरो पार्टीको वा मेरो भ्रमण दलमा भएका साथीहरूका लागि मात्र होइन। त्यो स्वागत हाम्रो मुलुक, नेपाल र नेपालीका लागि गरिएको हो। यदि तपाईँहरूले त्यसलाई अत्यन्तै सम्मानपूर्वक भएको महसुस गर्नुभएको छ भने, त्यो देशकै सम्मान हो, नागरिककै सम्मान हो। राम्रो स्वागत पाउनुको पनि गलत अर्थ निकाल्न थालियो भने त कसरी राम्रो होला र ?
पत्रकार: तपाईँ इन्डिया जानुभन्दा अगाडि प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाटै भारतले नेपालको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभएको थियो। त्यसै कारणले प्रतिपक्षहरू अहिले आन्दोलन गरिरहेका छन्। नरेन्द्र मोदीले चाहिँ नेपालको बारेमा केही कुरा राख्नुभएन। यस विषयमा के हो, प्रस्ट भनिदिनुस् न।
रवि लामिछाने: यस विषयमा म तपाईँलाई के बताउँछु भने, परराष्ट्र मामिला, कुनै देशसँगको सम्बन्ध र राष्ट्रको परराष्ट्र नीति जस्ता विषय पार्टीपिच्छे फरक हुँदैनन्, यी देशका हुन्छन्। सरकार प्रमुखका हैसियतले प्रधानमन्त्रीले बोलेको कुराको वास्तविकता के हो र हामीले भन्न खोजेको के हो भनेर परराष्ट्र मन्त्रालयले आधिकारिक विज्ञप्तिमार्फत नै स्पष्ट पारिसकेको छ। त्यो नै सरकारको आधिकारिक धारणा हो। परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्यसमा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ।
पत्रकार: सभापतिज्यू, अरू नेताहरू भारत जाँदा तपाईँ उहाँहरूको कडा आलोचना गर्नुहुन्थ्यो। अहिले तपाईँहरूलाई पनि भव्य स्वागत गरियो, त्यसमा हाम्रो छाती पनि चौडा भएको छ। तर तपाईँ भारत जानेबित्तिकै प्रतिपक्ष दलहरूले तपाईँ भारतको आशीर्वाद लिन जानुभयो, छिट्टै प्रधानमन्त्री बन्दै हुनुहुन्छ र देश अब अस्थिरतातर्फ जाने भयो भनेर आरोप र आशंका गरिरहेका छन्। यसमा के भन्नुहुन्छ ?
रवि लामिछाने: म यसमा धेरै केही भन्न चाहन्नँ। निर्वाचनअगाडि हामीले लेखेको घोषणापत्र एकपटक पढ्न अनुरोध गर्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हुन्। हामीले बोलेर र लेखेर गरेका बाचाहरूमा अडिग छौँ र रहिरहनेछौँ।
प्रतिपक्षका आफ्नै आशंका र कारणहरू होलान्। तर प्रतिपक्षले उठाएका हरेक प्रश्नको जवाफ सत्ता पक्षले दिएर साध्य हुँदैन। म प्रतिपक्षी साथीहरूलाई यति मात्र भन्न चाहन्छु—जुन कुरा स्पष्ट पारिसकिएको छ, त्यसैलाई निरन्तर विरोधको विषय बनाउनु राम्रो होइन। उहाँहरूले उठाएका जायज माग र प्रश्नहरू हामीले सुनेका छौँ, सचेत गराएका विषयमा हामी सचेत पनि भएका छौँ। तर सधैँभरि किचलोको वातावरण सिर्जना गर्नु हुँदैन। यसैबाट संसारै पल्टिन्छ वा सरकारै ढल्छ जस्तो गरी धेरै होहल्लानगर्दा राम्रो हुन्छ।
पत्रकार: जुन रुलिङ पार्टी छ भाजपा, त्यसले तपाईँलाई निम्तो दियो। अब रास्वपाले चाहिँ भाजपाका अतिथिलाई कहिले बोलाउँछ ?
रवि लामिछाने: मैले यही भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्षज्यू र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु। आवश्यकताअनुसार विभिन्न राष्ट्रका राजनीतिक दलहरूलाई आमन्त्रण गर्ने कुरा निरन्तर चलिनै रहन्छ। उहाँहरू दुवै जना सकारात्मक हुनुहुन्छ। अब समयले कहिले जुराउँछ हेरौँ, दुवैतर्फको समय मिलेपछि भ्रमण हुन्छ।
पत्रकार: सबभन्दा ठूलो दल रास्वपाका सभापति भारत भ्रमण गरेर आइसक्नुभएको छ। हाम्रो प्रधानमन्त्री कहिले जानुहुन्छ ? यो विषयमा कुराकानी भयो कि भएन ? र अर्को कुरा, तपाईँ र प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान–टु–वान वार्ता भयो कि भएन ?
रवि लामिछाने: प्रधानमन्त्रीको भ्रमण समय र परिस्थिति हेरेर तय हुन्छ। अहिले भर्खरै हामीले सुरुवात गरेका छौँ र हामीसँग जनताका धेरै अपेक्षाहरू छन्। सरकार र पार्टी सञ्चालनका सन्दर्भमा प्रधानमन्त्रीज्यू र मैले जिम्मेवारी बाँडफाँट गरेका छौँ। जहाँ प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुन्छ, त्यहाँ उहाँ जानुहुन्छ। जहाँ प्रधानमन्त्री नभई अन्य संरचना वा मेरो उपस्थितिले काम चल्छ, त्यहाँ हामी गएर सरकारलाई आफ्नै काममा बढी केन्द्रित हुने वातावरण सिर्जना गरेका छौँ। त्यसैले प्रधानमन्त्रीको भ्रमण आवश्यकताअनुसार तय भइहाल्छ।
जहाँसम्म कुराकानीको सवाल छ, हाम्रा कुराकानीहरू पूर्ण रूपमा पारदर्शी भएका छन्। हामीले समृद्धिको एजेन्डालाई मुख्य रूपमा अगाडि सारेका छौँ। नेपाल र भारतको सम्बन्ध त्यतिखेर मात्रै गहिरो र वास्तविक हुन्छ, जतिखेर हामी समृद्धिको बाटोमा सँगसँगै हिँड्छौँ।
मैले भारतीय पक्ष र विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दा खेलकुददेखि सूचना प्रविधिसम्मका फराकिला विषयमा छलफल गरेको छु। यी क्षेत्रमा हामी सहकार्य गर्न सक्छौँ, जसले हामीलाई आर्थिक रूपमा अगाडि बढ्न मद्दत गर्छ। विगतमा नीतिगत कमजोरीका कारण समयमै सम्पन्न हुन नसकेका आयोजनाहरू हुन् वा भविष्यमा गर्नुपर्ने सहकार्य हुन्, यी सबैका लागि रास्वपा र वर्तमान सरकार खुला छ।
त्यसैले विगतको कुनै भारी नबोकी, विकास कूटनीतिको माध्यमबाट हामी अगाडि बढ्न तयार छौँ। एकअर्काप्रति घृणा र द्वेषबाट होइन, आपसी सम्मान र सम्भावनाका बाटोहरू पहिल्याएर सँगसँगै हिँड्दै नेपालको समृद्धिको चाहना पूरा गर्नेतर्फ हाम्रो कुराकानी केन्द्रित रह्यो। हवस्, धन्यवाद साथीहरू !
भारत भ्रमणलाई लिएर आफू प्रधानमन्त्री बन्न आशीर्वाद लिन गएको भनी प्रतिपक्षले लगाएको आरोपलाई लामिछानेले खण्डन गरे। चुनावअघि जनतासँग गरेका बाचामा आफू अडिग रहेको बताउँदै उनले रास्वपा अस्थिरताको पक्षमा नरहेको स्पष्ट पारे।
‘नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हुन्, हामी अस्थिरता र सधैँ भरिको किचलोको पक्षमा छैनौँ,’ उनले भने। प्रतिपक्षले उठाएका जायज विषयमा सरकार सचेत रहेको तर सानो विषयलाई लिएर सधैँभरि ‘नोइज’ गर्न नहुने उनले बताए ।
लामिछानेले भारत बसाइका क्रममा आफूलाई गरिएको भव्य स्वागत र सम्मान आफ्नो व्यक्तिगत नभई सिङ्गो देश र नागरिकप्रतिको सम्मान भएको बताए। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको पनि उनले जानकारी दिए।
एक अर्काप्रति घृणा र द्वेषबाट नभई सम्मान र सम्भावनाका बाटो पहिल्याएर विकास र समृद्धिको यात्रामा सँगै हिँड्न रास्वपा तयार रहेको उनले स्पष्ट पारे। विदेशमा रहेका नेपालीलाई फर्काउने विषयमा सरकार गठनको सय दिन पुगेपछि विस्तृत तथ्यांकसहित जानकारी दिने पनि उनले प्रतिबद्धता जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण