आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लाइसेन्सको ट्रायल फेल भएकाले अब १८ महिनासम्म मौका पाउने

सोमबार, २६ माघ २०७७, १४ : १५
सोमबार, २६ माघ २०७७

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि बढाएको छ । विभागले यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाएर अधिकतम १८ महिना पुर्याएको हो ।

आइतबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र सो बमोजिम हुने गरि विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एण्ड भेइकल रजिष्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरि ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ ।

कोभिड–१९ का कारण लामो समयदेखि लिखित परीक्षा पास गरेर ट्रायल परीक्षाका लागि रोकिरहेका सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर विभागले यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता समेत रहेका निर्देशक डा.लोकनाथ भूसालले जानकारी दिए ।

विभागबाट भएको उक्त निर्णयअनुसारका मातहतका यातायातका कार्यालयहरुलाई सोही व्यवस्थाअनुसार कार्यान्वयन गर्न समेत अनुरोध गरिसकिएको भूसालको भनाई छ । योसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन दिने परीक्षार्थीले लिखित पास गरेर ट्रायल फेल भएको खण्डमा अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप