२७ वर्ष पुगे अनमोल

काठमाडौं । नेपाली फिल्म क्षेत्रका पछिल्लो समयका स्टार अनमोल केसी २७ वर्ष पुगेका छन् । मंगलबारबाट उनी २६ पुरा गरेर २७ टेकेका हुन् । अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसीको सन्तानको रुपमा उनको २०५० साल चैत १७ जन्म भएको थियो ।
अभिनेता पिता भुवन केसीकै कारणले फिल्ममा बालकलाकार हुँदै प्रवेश गरेका अनमोलको युवापुस्ता माझ राम्रो क्रेज छ । सन् २०१३ मा हेमराज विसी निर्देशित फिल्म ‘होस्टेल’ बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोलका ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘ए मेरो हजुर ३’ र ‘क्याप्टेन’ रिलिज भएका छन् । यीमध्ये धेरै फिल्म सफल र केही व्यवसायिक असफल पनि छन् ।
महँगो अभिनेताको रुपमा समेत परिचित उनी अहिले ‘ए मेरो हजुर ४’ को छायाँकनमा व्यस्त छन् । त्यसपछि उनले फिल्म ‘पारस’ अभिनय गर्ने चर्चा छ । उनी सार्वजनिक स्थानमा सितिमिति नदेखिने अभिनेता पनि हुन् ।