आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सय रुपैयाँबाट भूपू सैनिकले सुरु गरेको सहकारीले सात वर्षमै सवा दुई करोडको कारोबार गर्न सफल

बुधबार, १८ चैत २०७७, १३ : २३
बुधबार, १८ चैत २०७७

गुल्मी । भारतीय सेनाबाट सेवानिवृत्त भएका दुई/चारजना लाहुरे गुल्मीको सदरमुकाम तम्घासको चिया पसलमा भेट हुन्छन् र चिया गफकै क्रममा सय–सय रुपैयाँ बचत गरेर सहकारी खोल्ने सल्लाह हुन्छ । एकआपसमा सम्पर्क बढाउँदै आफूजस्ता अन्य व्यक्तिसमेत जुटाएर अन्ततः उनीहरु संगठित भएर सहकारी संस्था स्थापना गर्छन् । २०७० साल चैत १८ गते २२ जनाको सहभागितामा ‘श्री चन्द्रमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ दर्ता हुन्छ ।

यसरी भूपू सैनिकहरुले सय रूपैयाँबाट सुरु गरेको सहकारी संस्थाले २०७७ चैत १८ गते सातौं वार्षिकोत्सव मनाइरहँदा करोडौंको कारोबार गर्ने सहकारी संस्थाका रुपमा स्थापित हुन पुगेको छ । रेसुङ्गा नगरपालिका–८ को पुरानो बैंक रोड लाईनमा रहेको उक्त सहकारी संस्थाले चैत १८ गते विभिन्न कार्यक्रमका साथ सातौं वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन गर्दैछ ।

साधारण सभामा संस्थाका अध्यक्ष कुलदीप थापाले त्यही चिया गफको स्मरण गर्दै भने, ‘भूपू सैनिकहरूबीच जीवित सम्पर्क रहोस् भन्नका लागि सहकारी खोल्ने सोच राखेका थियौं, अहिले सवा दुई करोड वार्षिक कारोवार गर्ने हैसियतमा पुगेका छौं ।’

साधारण सभाका अवसरमा उक्त सहकारी संस्थाले जिल्ला अस्पताललाई एम्बुलेन्सका लागि ट्रली सौजन्य गर्नुका साथै स्वास्थ्यकर्मीहरुलाई मिठाई र त्यहाँका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

जिल्ला सहकारी संस्थाका सदस्य रामलाल पाण्डेले भुपू सैनिकहरूको सिर्जनशील सोचले उनीहरुलाई मात्र संगठित नगरी आम सर्वसाधारणहरू समेत त्यस सहकारीमा आवद्ध भएर करोडौंको कारोबार गर्ने संस्था भएकोमा बधाई दिए ।

सहकारी संस्थाकी प्रबन्धक अमृता पराजुलीका अनुसार अहिले पुरुष १४७, महिला १८४ सहित जम्मा ३५८ जना सेयर सदस्य छन् ।

संस्थाका सचिव पूर्णबहादुर गुरुङले भूपू सैनिक र समुदायबीच सहकारीले पुलको काम गरेको बताए । सहकारीले आर्थिक, सामाजिक र सांस्कृतिक  प्रगतिका लागि सकारात्मक भूमिका खेलेको उनको भनाइ थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप