मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अझै कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यक छ : नारायणकाजी श्रेष्ठ

सोमबार, ०३ जेठ २०७८, १९ : ००
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरू बीचको एकता आवश्यक रहेको बताएका छन् । सोमबार नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक रहेको बताएका हुन् । विगतमा नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकिकरण गरिएको भएपनि देशी विदेशी शक्तिहरूको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाई छ । पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नु पनि कमजोरी भएको उनले बताए ।

कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाई छ । उनले भने– ‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ । पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भिर रुप र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पुर्यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ । अब हामीले फेरि कम्युनिष्टहरूलाई कसरी एकताबद्ध गर्ने ? तर वैचारिक राजनीतिक कार्यदिशालाई सहि ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’

नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औँल्याए । विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमी कमजोरी नभएपनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उनको भनाई छ । यद्यपि कम्युनिष्ट पार्टीहरु बीचको एकिकरण गर्न आफुहरुले हिम्मत नहार्ने उनले बताए । उनले भने– ‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँ भित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ । तर हामी हिम्मत हार्दैनौँ । कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन । हामीले बाह्य शक्तिहरूको हस्तक्षेपबाट देशको स्वाधिनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरि एकिकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।’

नेकपा(माओवादी केन्द्र)ले आफुलाई सांस्कृतिक रुपान्तरण गर्दै कम्युनिष्ट, क्रान्तिकारीहरुसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरूसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको नेता श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप