सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै, १३ दिनमा ५ हजार संक्रमित थपिए

सोमबार, ०३ जेठ २०७८, १८ : ०८
सोमबार, ०३ जेठ २०७८

गण्डकी प्रदेशमा निषेधाज्ञाका बाबजुद कोभिड१९ (कोरोनाभाइरस) संक्रमण लगातार बढ्दै गएको छ । निषेधाज्ञा जारी भए यता १३ दिनको अवधिमा प्रदेशभर पाँच हजारभन्दा बढी सक्रिय संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका जिल्ला प्रशासन कार्यालयले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरेका थिए । सुरुमा एक साताका लागि लगाइएको निषेधाज्ञा अर्को साताका लागिसमेत थप गरिएको थियो । तर थपिएको उक्त अवधिसमेत गुज्रिन लाग्दा पनि संक्रमणको चेन ब्रेक हुन सकेको छैन ।

निषेधाज्ञा जारी हुँदा गण्डकीमा कुल संक्रमितको संख्या २० हजार ४२७ रहेकोमा अहिले बढेर २८ हजार १८२ पुगेको छ । यो अवधिमा सक्रिय संक्रमित संख्या भने ३ हजार ३१ बाट बढेर ८ हजार ३३ पुगेको छ । १३ दिनमा पाँच हजार दुई सक्रिय संक्रमित थपिएका छन् ।

वैशाख २१ सम्म प्रदेशमा कोरोना संक्रमणबाट २३७ जनाको मृत्यु भएकोमा हाल सो संख्या बढेर ३८३ पुगेको छ । पछिल्ला १३ दिनको अवधिमा समयमा १५१ जनाको मृत्यु भएको हो ।

निषेधाज्ञाको डेढ सातामा यस्तो छ संक्रमण दर

वैशाख २१ गते गण्डकीमा ४२९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्थात् निषेधाज्ञाको पहिलो दिन वैशाख २२ गते ५७४ जना संक्रमित थपिए । वैशाख २३ गते प्रदेशमा ४३३ जना संक्रमित थपिए ।

वैशाख २४ गते प्रदेशमा अहिलेसम्मकै सर्वाधिक १ हजार ३९६ जना संक्रमित थपिए भने वैशाख २५ गते २७४ मा संक्रमण पुष्टि भयो । वैशाख २६ गते संक्रमित हुनेको संख्यामा ६९९ जना थपिए । वैशाख २७ गते ६५३ जना, २८ गते ६२४ जना र २९ गते ९४१ जनामा संक्रमण पुष्टि भयो ।

वैशाख ३० गते ५०६ जना, ३१ गते ६८० जना, जेठ १ गते ७७० जना र २ गते ७७७ जनामा संक्रमण पुष्टि भएको छ ।

डेढ साता लामो निषेधाज्ञाको अवधिमा वैशाख २४ गते सबैभन्दा बढी अर्थात् एक हजार ३९६ जना संक्रमित थपिए । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीको अभिलेख अनुसार प्रदेशका ११ जिल्लामध्ये कास्कीमा नयाँ संक्रमित थपिने दर उच्च भएको जिल्लामा पर्दछ ।

निषेधाज्ञाको अवधिमै मृत्युदर पनि बढ्यो

गण्डकी प्रदेशमा निषेधाज्ञा लगाएकै समयमा कोरोना संक्रमितको मृत्युदर पनि बढेको छ । निषेधाज्ञा पछिको डेढ हप्तामा १५१ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत २१ वैशाखदेखि २ जेठसम्म १५१ जनाको ज्यान गएको हो ।

निर्देशनालयले आइतबारमात्रै २८ जनाको मृत्यु पुष्टि गरेको छ । निषेधाज्ञाको अघिल्लो दिन २० गते प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ भने निषेधाज्ञाको पहिलो दिन अर्थात् २१ गते ३ जनाको मृत्यु भएको छ ।

यस्तै, २२ गते २ जनाको संक्रमणबाट मृत्यु भएको छ भने २३ गते ४ जना, २४ गते ७ जना, २५ गते ३ जना, २६ गते १२ जनाको मृत्यु भएको छ । वैशाख २७ मा प्रदेशमा संक्रमणबाट एकैदिन २३ जनाको मृत्यु भयो भने २८ गते १२ जना, २९ गते १६ जना, ३० गते १४ जना, ३१ गते २३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी जेठ १ गते गण्डकीमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ २ गते २८ जनाको मृत्यु भएको छ, जो प्रदेशमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको हालसम्मकै सर्वाधिक संख्या हो ।

गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

डेढ सातामा ३ हजार ४ सय संक्रमणमुक्त

गण्डकी प्रदेशमा डेढ सातामा ३ हजार ३८५ जना संक्रमणमुक्त भएका छन् । गण्डकीमा शनिबारमात्र ३ सयजना कोरोना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा आइतबारसम्म १९ हजार ७६६ संक्रमणमुक्त भएका छन् । कोरोना जित्नेमा तुलनात्मक रुपमा महिलाभन्दा पुरुष बढी छन् । संक्रमणमुक्त हुनेमा १२ हजार ९८१ पुरुष र ६ हजार ७८५ महिला रहेको निर्देशनालयले जनाएको छ ।

अक्सिजन ग्यास पर्याप्त

मुलुकभर अक्सिजन ग्यासको अभाव भएका बेला गण्डकी प्रदेशमा भने त्यस्तो कुनै समस्या नरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा आवश्यकता अनुरुप अक्सिजन आपूर्ति भइरहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार लमजुङ, तनहुँ र मनाङबाहेक अन्य ८ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएर उत्पादनसमेत भइरहेको छ । लमजुङ र मनाङमा प्लान्ट स्थापना भइसकेको तर ग्यास उत्पादन हुने प्रक्रियामा छ । त्यसैगरी तनहँुमा प्लान्ट स्थापनाका लागि टेण्डर प्रक्रिया सुरु भएको जनाइएको छ ।

गण्डकीमा ५ हजार ६३२ अक्सिजन ग्यास सिलिण्डर रहेकोमा दैनिक ८०० सिलिण्डरमात्र ग्यास खपत हुने गरेको छ । गण्डकीमा दैनिक एक हजार ४८९ सिलिण्डर अक्सिजन ग्यास उत्पादन भइरहेको निर्देशनालयले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख डा. बाबुराम आचार्यले अक्सिजन अभावका कारण बिरामीले ज्यान गुमाउनपर्ने अवस्था नरहेको बताए । उनले केही समय पहिले अकस्मात अक्सिजनको माग बढ्दा व्यवस्थापनमा केही समस्या देखिए पनि अहिले अक्सिजनको अभाव नरहेको बताए ।

पोखराका निजीस्तरमा सञ्चालित पोखरा अक्सिजन प्रालि र कालीगण्डकी अक्सिजन प्रालिले ठुलो परिमाणमा अक्सिजन उत्पादन गर्दै आएका छन् । त्यसबाहेक ८ वटा जिल्ला अस्पतालले समेत अक्सिजन उत्पादन गरिरहेका छन् ।

पोखरा अक्सिजन प्रालिले दैनिक एक हजार ५०० र कालिगण्डकी अक्सिजन प्रालिले दैनिक २ हजार ५०० सय सिलिण्डर ग्यास उत्पादन गर्ने क्षमता राख्दछ । तर सिलिन्डर अभावमा दुवै कम्पनीले क्षमताअनुसारको उत्पादन गर्न सकिरहेका छैनन् । दुवै कम्पनीमा सशस्त्र प्रहरी राखेर बिरामीको चाप हेरेर अस्पतालहरुलाई अक्सिजन वितरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप