बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप

सोमबार, १७ जेठ २०७८, १५ : ४४
सोमबार, १७ जेठ २०७८

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै निषेधाज्ञा थपिएको हो ।  यही जेठ १७ गतेसम्म जारी रहेको निषेधाज्ञालाई जेठ ३१ सम्म कायम रहने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश दिएका छन् ।  कोरोनाको दोस्रो लहर आएपछि तेस्रोपटक निषेधाज्ञाको अवधि थपिएको हो । यसअघि वैशाख २० देखि जेठ २ र जेठ ३ देखि १७ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो ।   

कोरोना सङ्क्रमण दर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिएको जनाइएको छ । सङ्क्रमणको जोखिम अझै कायमै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ । खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यसैगरी, निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारबाही हुने आदेशमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने बताइएको छ । साथै पूर्वस्वीकृति लिएका सवारी साधन पनि अब जिल्लामा बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन हुनेछन् भने जिल्ला भित्रिने सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिने भएको छ  गाडीमा रहेका व्यक्तिहरुको खोड्पेमा एन्टिजेन परीक्षण गरिने र नेगेटिभ आएकालाई गन्तव्यमा पठाइनेछ भने पोजेटिभ आएकालाई आइसोलेशनमा राखिने जनाइएको छ ।

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभासम्मेलन र बैठकमा रोक लगाइएको छ भने विवाह व्रतबन्ध जस्ता कार्यहरुमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ । आदेशको उल्लङ्घन गरिएमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने बताइएको छ । जिल्लामा कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप