शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको पक्षमा सीके राउत, मधेसको एक नम्बर बन्ने दाबी

शुक्रबार, १८ असार २०७८, १७ : २०
शुक्रबार, १८ असार २०७८

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावको तयारी थालेको छ । मधेसकेन्द्रित दलहरूलाई टक्कर दिने र चुनावपछि मधेसको एक नम्बर पार्टी बन्ने सो पार्टीका नेताहरुको दाबी छ ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले पार्टी चुनावमा केन्द्रित रहेको बताए । त्यसका लागि सङ्गठन विस्तारलाई तीव्रता दिइएको उनले जानकारी दिए ।

‘चैतमा महाधिवेशन सकिएपछि हाम्रो अवधारणा नै सङ्गठन विस्तार गर्ने हो । तत्कालै हामीले मधेसका जिल्लामा सङ्गठन निर्माणलाई तिव्रता दिएका छौं’, सिंहले भने, ‘काठमाडौं उपत्यकामा पनि जिल्ला कमिटी गठन ग¥यौँ, चुनावमा जान पार्टी तयार छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई समर्थन गरेको सो पार्टीले प्रजातान्त्रिक प्रणालीमा चुनावमा जानु उचित भएको टिप्पणी गरेको छ ।

केपी ओलीलाई दोष दिएर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै महासचिव सिंहले आन्तरिक समस्या र देशको वर्तमान परिस्थितिलाई पनि बुझ्नुपर्ने बताए ।

‘प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्था कसरी आयो ? त्यो कुरालाई हामी विचार गर्नुपर्छ’, सिंहले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘केपी ओलीलाई मात्रै दोष दिएर समस्याको समाधान हुनेवाला छैन । यहाँको आन्तरिक समस्यालाई बुझ्नुपर्छ ।  देशको वर्तमान परिस्थितिलाई पनि बुझ्न सक्नुपर्छ ।’

स्वतन्त्र मधेसको मुद्दा छाडेर पार्टी लोकतान्त्रिक प्रक्रियामा आएसँगै अब आफूहरूको मुद्दा विकास र समृद्धिको रहेको जनमत पार्टीको भनाइ छ ।

राउतको जनमत पार्टीलाई प्रधानमन्त्री ओलीले नै मूलधारको राजनीतिमा ल्याएका थिए । २०७५ फागुनमा ‘स्वतन्त्र मधेस गठबन्धन’सँग ११ बुँदे सहमति भएसँगै सो पार्टीले नाम फेरेर जनमत पार्टी बनाउँदै खुला राजनीतिमा होमिएको हो । 

प्रजातन्त्रमा जनतामा जानु अनिवार्य भएको भन्दै उनले प्रक्रिया गलत छ भने अदालतमा मुद्दा रहेकाले उपयुक्त छिनोफानो हुने बताए । तर, आफूहरू चुनावको पक्षमा रहेको उनको स्पष्टोक्ति थियो ।

‘प्रजातन्त्र तबमात्र सम्भव छ, जब तपाईं जनतामा जान सक्नुहुन्छ । प्रजातन्त्रमा जनतामा जानैपर्छ’, उनले भने, ‘चुनावमा जाने प्रोसेस दायाँ–बायाँ हुन सक्छ, त्यो यही ढङ्गले हुनुपर्छ ।’

पुस ५ मा ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्चले सो निर्णय बदर गरिदिएपछि देशले के निकास दियो त भन्दै सिंहले प्रश्न गरे ।

मधेसी दल सत्तालिप्सामा लागेको आरोप

जनतमत पार्टीले जसपा लगायतका दलहरूमा सत्तालिप्सा बाहेक केही नभएको दाबी गरेको छ । मधेसका नाममा विभिन्न समयमा आन्दोलन भए पनि उनीहरूले मधेसी जनताको पक्षमा केही गर्न नसकेको सिंहको भनाइ छ ।

‘२०६३ सालमा आन्दोलनको बलमा उपेन्द्र यादव नेता हुनुभयो । ५४ जना सहिद हुनुभयो’, उनले भने, ‘२०७२ मा फेरि आन्दोलन भएर ७० जनाको मृत्यु भयो । जनताले के पाए ?’

नेताहरु सत्तामा गएको र जनतालाई प्रयोग गरेर शक्ति आर्जन गर्नुबाहेक अरू हुन नसकेको उनको जिकिर छ । उनी भन्छन्, ‘जातिवादी आन्दोलन गरेर एउटा गुट र समूहको जस्तो गरेर पूरा मधेसलाई कमैया र कमलरी बनाउने काम भएको छ उनीहरूबाट ।

उनले मधेसमा लामो समय सत्ता राजनीति गरेका उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतको राजनीतिक भविष्य सकिएको पनि दाबी गरे । ‘मधेसी दर्द अब सिद्धियो । मधेसमा लामो समय सत्ताको राजनीति गरेका उनीहरूको राजनीतिक भविष्य छैन’, सिंहको दाबी छ, ‘सरकारमा जाने–आउने, योभन्दा लज्जास्पद अरू के हुन्छ ? मधेसले उनीहरूबाट के पायो ? उनीहरूको निर्लज्जताको सीमा नाघिसकेको छ ।’

सत्ताबाट बाहिर निस्केर भारतलाई गाली गर्ने, अमेरिका, युरोपियन युनियन चीन लगायतलाई आफूअनुकूल दोष थोपर्ने प्रवृत्ति देखिएको राउतले बताए । आफ्नो स्वार्थको रोटी सेक्ने र अरूलाई दोष लगाउने प्रवृत्ति घातक हुने उनले बताए ।

मधेसको एक नम्बर पार्टी बन्ने दाबी

मूलधारको राजनीतिमा आएसँगै आफूहरू निरन्तर जनतासँगै रहेको जनमत पार्टीको दाबी छ । जसको फलस्वरूप जनमत पार्टी अन्य मधेसी दलभन्दा अब्बल बनिसकेको सिंहले दाबी गरे । ‘अरू मधेसी दलको भन्दा हाम्रो राम्रो स्थिति हुन्छ’ उनले भने, ‘जनमत पार्टी सीके राउतको नेतृत्वमा बनेको परिवर्तनशील पार्टी हो । देशलाई उनको नेतृत्वमा परिवर्तन गराउन खोजिएको हो ।’

कुनै पनि पार्टी गठन हुँदा पहिला कुनै प्रभाव नभए पनि उसप्रति विश्वास बढ्दै गएपछि प्रभावशाली बन्ने र सोही दिशामा मधेसमा जनमत पार्टी रहेको उनको दाबी छ । उनी भन्छन्, ‘अरू सत्ताको राजनीतिमा लागेका छन्, हामी जनतासँगै छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप