मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश हाँक्ने सुरमा रहेका ‘हेभीवेट’ नेताहरु

मङ्गलबार, ०७ कात्तिक २०७४, १४ : ३७
मङ्गलबार, ०७ कात्तिक २०७४

काठमाडौं– प्रदेश र प्रतिनिधि सभा सदस्यको पहिलो चरणको निर्वाचन मिति आउन अव ३३ दिन मात्र बाँकी छ । निर्वाचन मिति नजिकिएसँगै चुनावी जोडघटाउ र भावी मुख्यमन्त्रीको लेखाजोखा समेत हुन थालेको छ । 

यसअघि पार्टीको केन्द्रीय नेतृत्व र मुलुकको राजनीतिमा महत्वपुर्ण भुमिका खेलेका नेताहरु यो पटकको निर्वाचनमा प्रदेशतर्फ लागेपछि उनिहरुलाई नै प्रदेशको मुख्यमन्त्रीका रुपमा हेर्न थालिएको छ । तिमध्ये केही नेताको हामीले यहाँ चर्चा गर्ने प्रयास गरेका छौ ।

१ नंम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा एमाले नेता शेरधन राई चर्चामा छन् । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सुचना तथा संचारमन्त्री समेत बनेका राईलाई वाम गठनबन्धनकै तर्फबाट १ नम्बर प्रदेशको नेतृत्वकर्ताका रुपमा पनि हेरिएको छ । 

राई एमालेका वैकल्पिक पोलिटव्युरो सदस्य पनि हुन् । उनी संविधानसभाको दोस्रो निर्वाचनमा भोजपुर २ बाट ११ हजार ९२७ मत पाएर विजयी भएका थिए । अहिले उनी भोजपुर ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि निर्वाचनमा उठेका छन् ।  

प्रदेश नं ३ मा पनि एमालेका केन्द्रीयस्तरका नेताहरु प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । पोलिटब्युरो सदस्य अरुण नेपाल सिन्धुपाल्चोकको क्षेत्र नं १ नं क्षेत्रको ‘क’ बाट उम्मेदवार बनेका छन् । नेपालले पनि आफुलाई ३ नं प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा उभ्याएका छन् । तर यहि क्षेत्रमा रहेका धादिङका राजेन्द्र पाण्डे पनि प्रदेश सभामा उम्मेदवार बनेका छन् । पाण्डेले पनि आफुलाई प्रदेशको नेतृत्वमा दाबी गरिरहेका छन् । उनले दोस्रो संविधान सभाको निर्वाचनमा धादिङ  क्षेत्र नं ३ बाट २२ हजार १९६ मत ल्याएर बिजयी बनेका थिए । 

चार नं प्रदेशमा एमालेका तर्फबाट पार्टी सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रदेशको नेतृत्व गर्न मैदानमा उत्रेका छन् । गुरुङ दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेसका चन्द्रबहादुर गुरुङसँग पराजीत भएका थिए । उनी अहिले लमजुङ ‘ख’ बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । अर्का स्थायी समिति सदस्य किरण गुरुङ पनि यहि प्रदेशअन्र्तगत तनहँु जिल्लाको २ नं निर्वाचन क्षेत्रको ‘ख’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । उनले पनि आफु मुख्यमन्त्रीका दाबेदार भएको बताउने गरेका छन् । उता, दोलखा ‘ख’ बाट एमालेका पशुपति चौलागाई उम्मेदवार बनेका छन् । उनी पनि एमालेमा प्रभावशालि नेता मानिन्छन् । 

७ नं प्रदेशबाट एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य कर्ण थापा मुख्यमन्त्रीको रुपमा चर्चामा  छन् । दोस्रो संविधान सभा निर्वाचनमा बाजुराबाट २२ हजार भन्दा बढी मत ल्याएर बिजयी भएका थापा अहिले भने प्रदेश सभाको समानुपातिकमा बसेका छन् । 

माओवादीका प्रभावशालि नेता शालिकराम जमरकेट्टेल पनि धादिङ १ नं क्षेत्रको ‘ख’ बाट उम्मेदवारी दिएका छन् । उनलाई पनि ३ नम्बर प्रदेशको सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएको छ । नुवाकोटबाट राज्यमन्त्री बनिसकेकी राधीका तामाङ नुवाकोट ‘क’ बाट उम्मेदवारी दिएकी छन् । उनलाई पनि मुख्यमन्त्रीको रुपमा हेरिएको छ । उनी अहिलेसम्म एक्लो महिला मुख्यमन्त्रीको रुपमा हेरिएकी छन् । 

माओवादी केन्द्रबाट ६ नं प्रदेशबाट दुई जना मुख्यमन्त्रीको चर्चामा छन् । देउवा सरकारमा उर्जा मन्त्री बनेका कालिकोटका महेन्द्र बहादुर शाही र जुम्लाका नरेश भण्डारी मुख्यमन्त्रीका रुपमा चर्चामा आएका हुन् । शाही दोस्रो संविधान सभाको निर्वाचनमा कालिकोबाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनले त्यसवेला १२ हजार भन्दा बढी मत ल्याएर बिजयी भएका थिए । अहिले उनी कालिकोट ‘ख’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । 

भण्डारी पहिलो संविधान सभामा माओवादीका सभासद थिए । दोस्रो संविधान सभा निर्वाचनमा उनी मोहन वैद्य नेतृत्वको माओवादीमा लागेकाले निर्वाचनमा भाग लिएनन् । उनले सभासद हुँदा जुम्लामा नर्सिंङ कलेज स्थापना गरेका थिए ।

काँग्रेसबाट भने पूर्व पर्यटन तथा खानेपानी मन्त्री जीवन शाहील ६ नं प्रदेशमा मुख्यमन्त्रीको रुपमा चर्चामा छन् । उनले हुम्ला ‘ख’ बाट उम्मेदवारी दिएका छन् । दोस्रो संविधान सभाको निर्वाचनमा शाहीले ८ हजार भन्दा बढी मत पाई विजय भएका थिए  । काँग्रेका अर्का नेता जगदिशनरसिंह केसी पनि प्रदेश सभाबाट आफ्नो भाग्यको फैसला गराउँन आतुर देखिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप