शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने

सोमबार, ३२ साउन २०७८, ०९ : ५७
सोमबार, ३२ साउन २०७८

सरकारले अझै केही दिन पूर्णता नपाउने देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यमा सीमित छ । असार २९ गते सरकार नेतृत्व सम्हालेका देउवाले सोही दिन ४ जना मन्त्री बनाएका थिए ।

त्यसको दुई हप्तापछि एक जना राज्यमन्त्री थपे । त्यसयता मन्त्रिपरिषद् विस्तारको विषय प्रधानमन्त्री देउवाको प्राथमिकतामा पर्न सकेको छैन । साउन २४ गतेपछि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतासँग प्रधानमन्त्रीको छलफल पनि रोकिएको छ । २–३ दिनको बीचमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने गरे पनि ८ दिन यता छलफल समेत भएको छैन ।

गठबन्धनका नेताहरू सरकारलाई पूर्णता दिने भन्दा आ-आफ्नो पार्टीका केन्द्रीय कमिटी बैठकतिर व्यस्त देखिन्छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा बिहीबार, शुक्रबार र शनिबार केन्द्रीय कमिटी बैठकमा रुमलिए ।



काँग्रेसको तीन दिने केन्द्रीय समिति बैठक शनिबार सकिए पनि प्रधानमन्त्री देउवामा प्राथमिकतामा मन्त्रिपरिषद् विस्तारको विषय पर्न सकेको छैन । यता शनिबार र आइतबार माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक सम्पन्न गरेको छ ।

काँग्रेस र माओवादी  केन्द्र केन्द्रीय कमिटी बैठकमा अलमलिँदा सुस्ताएको मन्त्रिमण्डल विस्तारको गृहकार्य जसपाको केन्द्रीय कमिटी बैठक नसकी नतात्ने देखिएको छ । भदौ १ र २ गते जसपा केन्द्रीय समिति बैठक बस्दैछ । त्यसको तयारीका लागि आज कार्यकारिणी समितिको बैठक बस्न लागेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले जसपाको केन्द्रीय समिति बैठक नसकी मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको रातोपाटीलाई बताए । ‘मन्त्रिपरिषद् विस्तार अब २–४ दिनपछि हुन्छ । हाम्रो केन्द्रीय समितिको बैठक सकिएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने ।



यस्तै काँग्रेस नेता रमेश लेखकले अबको चार दिनभित्र सरकारले पूर्णता पाउने बताए । उनले भने, ‘गठबन्धनको सरकार हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन स्वाभाविक हो । प्रधानमन्त्रीज्यू ढिलाइ गर्ने पक्षमा हुनुहुन्न । अबको चार दिनभित्र सरकारले पूर्णता पाउनेछ ।’ 

साझा न्यूनतम कार्यक्रम आएपछि सरकार विस्तार गर्ने सहमति भए पनि सत्तारुढ घटक पार्टीको बैठकमा लाग्दा ढिलो भएको उनको भनाइ छ । ‘साझा न्यूनतम कार्यक्रम आएपछि सरकार विस्तार गर्ने कुरा थियो, अहिलेसम्म विस्तार हुन सकेन, यसमा ढिलाई भयो, यो कुरा म स्वीकार गर्छु । तर, अब ढिलाइ गर्नुहुँदैन । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ,’ लेखक भन्छन् ।

यस्तै गठबन्धनका  शीर्ष नेताहरू पार्टी बैठकमा केन्द्रीय हुँदा मन्त्रिपरिषद् विस्तार तयारीमा ब्रेक लागेको प्रधानमन्त्रीको सचिवालयले पनि जनाएको छ । प्रधानमन्त्री देउवाको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री ज्यू तीन–चार दिन केन्द्रीय समिति बैठकमा व्यस्त हुनुभयो । त्यसपछि माओवादी केन्द्रको बैठक बस्यो । अब जसपाको बैठकपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ जस्तो छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप