शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकाले स्पष्ट पारेपछि मात्रै एमसीसी प्रक्रिया अगाडि बढ्छ : महत

शनिबार, १९ भदौ २०७८, १९ : २०
शनिबार, १९ भदौ २०७८

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले सो कुरा बताएका हुन् ।

महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडी बढ्ने बताए । एमसीसी सैन्य प्रयोजनको लागि नभएको भन्ने कुरा सम्झौतामा नै भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडि बढ्ने उनले उल्लेख गरे । नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकार समक्ष पहल गरिराखेको भन्दै उनले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास पनि व्यक्त गरे ।

उनले भने– ‘यो विषय कयौँ सरकारहरुको सहभागितामा टुंगो लागेको विषय हो । हामी विदेशबाट ऋण पनि लिन्छौँ । ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ । कामदार पनि आउँछन् । यो चाहीँ अनुदानमा आएको आयोजना हो । हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदैछ । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडि बढ्छ । सैन्य प्रयोजनको लागि यो पैसा प्रयोग गर्न पाइदैन भन्ने उल्लेख नै छ । कतिपय विषयहरु यो छ कि उ छ कि भन्ने जुन पब्लिकमा उठेका छन् । त्यसबारेमा पनि क्लेरिफिकेशनको लागि सरकारले पहल गरिराखेको छ ।’

स्पष्ट रुपमा क्लेरिफिकेशन आएपछि यो विषयले ल्यान्डिङ गर्छ भन्ने आफुलाई लागेको उनले बताए । उनले भने, ‘पब्लिकमा यस्तो छ कि उस्तो छ कि भन्ने आशंका छ । धेरैले पढ्या छैनन् । धेरै कुरा प्रचार भएको छ । त्यस विषयमा अमेरिकी सरकारले अवश्य ती कुराहरु क्लेरिफाइ गर्ला, पब्लिकमा यस्तो पो छ कि उस्तो पो छ कि भन्ने आशंका छ त्यो आशंका अवश्य पनि निवारण हुने काम सम्बन्धित पक्षबाट हुनेछ र प्रक्रिया अगाडी बढ्नेछ भन्ने मलाई लाग्छ ।’

सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् बिस्तार हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप