शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नख्खु जेलभित्रै जुवाअड्डा, मासिक २५ लाख असुली

कारागार सुधारसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा महानिर्देशकको आनाकानी
शुक्रबार, २६ कात्तिक २०७८, १७ : २७
शुक्रबार, २६ कात्तिक २०७८

ललितपुरको नख्खुस्थित कारागारमा चौकीदार र नाइकेहरू मिलेर त्यहाँका कैदीहरूबाट मासिक २५ लाखभन्दा बढी असुल्ने गरेको भेटिएको छ । छानविन समितिले आफ्नो प्रतिवेदनमा असुली हुने गरेको उल्लेख गरेको हो । नख्खु कारागारमा सीआरसी, डीआरसी र नयाँ ब्लक गरी ३ वटा ब्लक छन् । तीमध्ये सीआरसी ब्लकका कैदीबन्दीले आफूहरुमाथि आर्थिक र शारीरिक शोषण गरेको आरोप लगाउँदै चौकीदार र नाइकेहरुबिरुद्ध आन्दोलन चर्काएका थिए । चौकीदार विशाल विष्ट र नाइके शिव चौधरीसहितलाई कारवाहीको माग गर्दै जेलभित्र भदौ २० मा आन्दोलन चर्किएपछि अर्को दिन जिल्ला प्रशासन कार्यालय ललितपुरले छानविन समिति गठन गरेको थियो ।

कारागार व्यवस्थापन विभागका तत्कालीन निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा गठित छानविन समितिले नख्खु कारागारको समस्या र आन्तरिक सुधारका लागि सुझावसहितको प्रतिवेदन बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहाललाई भदौ ३१ मा समितिले प्रतिवेदन बुझाएको थियो । तर, महानिर्देशक दाहालले प्रतिवेदन कार्यान्वयन गरेका छैनन् ।

 जेलभित्रै जुवा अड्डा

नख्खु कारागारभित्र चौकीदार र नाइकेहरुले जुवा अड्डा चलाउने गरेको पनि भेटिएको छ । समितिले नाइके शिव चौधरीको कोठाबाट जुवा खेल्न प्रयोग गरिने चिनियाँ भाषामा थाङ भनिने गोटी ४ थान, तामा र पित्तलको सिक्का बरामद गरेको छ ।

न्यायाधीश रणबहादुर बमको हत्या मुद्दामा सजाय काटिरहेका चौधरीको कोठाबाट समितिले २ लाख ३१ हजार नगद बरामद गरेको छ । चौधरी विगत ४ वर्षदेखि नख्खु कारागारमा नाइके थिए । उनले कैदीबन्दीबाट असुल गरेर सो पैसा राखेको हुन सक्ने छानविन समितिका एक सदस्यले रातोपाटीलाई बताए । ती सदस्यले भने, ‘पैसा र जुवा खेल्न प्रयोग गरिने क्वाइन हामीले कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई बुझाएका छौं ।’

कैदीबन्दीबाट लाखौं असुली

सिआरसी ब्लकका कैदीबन्दीले जेलभित्र चौकीदारको व्यवस्थापनमा चल्ने पसल र होटलमा चर्को शुल्क लिने र विभिन्न बहानामा नाइकेहरुले रकम असुल्ने गरेको आरोप लगाएका थिए । जेलभित्रको क्यान्टिन, भान्सा, किराना पसल र सामान सप्लाई गर्ने व्यापारीबाट चौकीदार र नाइकेहरुले लाखौं पैसा असुल्छन् । पैसा नदिए कुटपिटसमेत हुने गरेको कैदीबन्दीहरुको आरोप थियो । कैदीहरुबाट मासिक २५ लाखभन्दा बढी असुल्ने गरिएको प्रतिवेदन दिएर  छानविन समितिले यसको पुष्टि गरेको छ ।

सजाय मिनाहाका लागि असुली

विभिन्न अवसरमा राष्ट्रपतिले गर्ने सजाय माफी र मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा लगत पठाउन नाइकेहरुले पैसा असुल्ने गरेका छन् । ‘जेल सजाय पूरा गरे पनि पैसा नबुझाए चौकीदार र नाइकेहरुले लगत नपठाउँदा नछुट्ने अवस्था रहेछ,’ छानविन समितिका एक सदस्य भन्छन्–‘सजाय माफीका लागि पैसा लिएर मात्रै पठाउने गरेको तर, पैसा नदिए सजाय भुक्तान भए पनि नछुट्ने अवस्था देखियो ।’

कारागारभित्र गलैँचा, मुढा, पोते बनाउने कैदीबन्दीमाथि श्रम शोषण हुने गरेको प्रतिवेदनमा उल्लेख छ । ती सामान बेचेर नाइकेहरूले पैसा लिने तर कामदारलाई पैसा नदिँदा उनीहरु मारमा छन् । ‘कैदीबन्दीको घरबाट आएको पैसा पनि चौकीदार, नाइके आफैंले चलाउने गरेको भेटियो,’ छानविन समितिका ती सदस्यले रातोपाटीलाई बताए ।

कारागार व्यवस्थापन विभागका तत्कालीन निर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका डिएसपी रमेश पण्डित, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत दिपक न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर दिपक केसी र सेनाको राजदल गण कारागार सुरक्षा बेसका अधिकृत सदस्य थिए ।

आफ्नो नेतृत्वको समितिले प्रतिवेदन बुझाएको समितिका संयोजक रामचन्द्र तिवारीले बताए । उनले रातोपाटीसँग भने–‘सुझावसहितको प्रतिवेदन बुझाएका छौं, कार्यान्वयनबारे मलाई थाहा भएन ।’ समितिको संयोजक हुँदा उपसचिव रहेका तिवारी अहिले सहसचिव भएका छन् ।

प्रतिवेदन कार्यान्वयनमा आनाकानी

ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलासँग कैदीबन्दीले गरेको सहमतिअनुसार ४ जनालाई तत्काल कारागार सरुवा गरियो । भदौ २१ मा सिआरसी ब्लकका चौकीदार विशाल विष्टलाई भीमफेदी कारागार, नाइके शिव चौधरी र देवेन्द्र तिमल्सेनालाई चितवन जेल, दीपककुमार कर्णलाई नवलपरासीमा सारिएको थियो । 

त्यसबेला सरुवा भएका ४ जनाबाहेक अरुलाई पनि त्यहाँबाट हटाउन समितिले सुझाव दिएको छ । तर, दुई महिना हुँदा पनि विभागका महानिर्देशक दाहालले प्रतिवेदन कार्यान्वयनमा आनाकानी गरिरहेका छन् । प्रतिवेदन कार्यान्वयन नभएकोबारे रातोपाटीसँग कुरा गर्दै दाहालले भने, ‘अहिले प्रतिवेदन अध्ययनकै क्रममा छौ, त्यहाँ पुरै रिफर्म गर्नुपर्ने देखिएको छ ।’

नयाँ ब्लकका नाइके सन्तोष गुरुङसहित ६ जनालाई समितिले नख्खुबाट हटाउन सुझाव दिएको छ । गलत काममा संलग्न नाइकेहरु सिताशरण मण्डल, सविन केसी, कुमार स्याङ्वो, अशोक खड्गी र धनबहादुर स्याङतानलाई हटाउन सुझाव दिइएको समितिका एकजना सदस्यले रातोपाटीलाई बताए । सन्तोष गुरुङ यसअघि त्यहाँ चौकीदार थिए । गुरुङसहितको समूहले कैदीबन्दीलाई शोषण गरिरहेको समितिको ठहर छ ।

सहायक जेलरको संरक्षण

नख्खु कारागारभित्र विकृति मौलाउनुमा त्यहाँका सहायक जेलर नरेन्द्र परियारको साथ रहेको छानविन समितिको ठहर छ । समितिका एक सदस्यका अनुसार परियारले नाइकेहरूको गलत काम संरक्षण गर्ने गरेका थिए । जेलको विकृतिमा सहायक जेलर परियारसँगै स्टोर किपर थानेश्वर भट्टराई पनि संलग्न देखिएका छन् । नख्खुमा नाइके भएर रिहा भएका श्रीचरण यादव पनि असुलमा संलग्न देखिएको समितिको ठहर छ ।

‘पूर्व चौकीदार श्रीचरण यादवले बाहिरी सेटिङ मिलाउने गरेको भेटियो,’ छानविन प्रतिवेदनमा उल्लेख गरेको छ  । कैदीबन्दीलाई शोषण गर्ने सवैलाई जेलसार गर्न सुझाव दिँदै समितिले नख्खु कारागारभित्र साल्ट ट्रेडिङ्ग वा नेशनल ट्रेडिङ्गको व्यवस्थापनमा सुपथ मुल्य पसल सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ ।

‘जेल प्रवेश गेटमा मेटल डिटेक्टर राख्न सुझाएका छौं,’ समितिका एक सदस्यले रातोपाटीसँग भने, ‘मेटल डिटेक्टर नहुँदा अवैध सामान भित्र लान सहज भएको देखिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप