काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् । अघिल्ला दिनमा जस्तै बिहीबारको बैठकमा पनि राप्रपाले बैठक बहिस्कार गर्यो भने रास्वपाका सांसदहरू बेल घेराउ गर्दै सभामुखको आसनअघि पलेँटी कसेर बसे ।
सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।
उनले सरकारले भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध गरे । उनले संसद्मा आफूहरूको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरू उठेर बेल अगाडि पुगेका थिए ।
त्यसपछि सभामुखले राप्रपाका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाएसम्म बैठक बहिस्कार गर्ने घोषणा गरे ।
प्रतिक्रिया