बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

चैते धान थन्क्याउने चटारोमा किसान

बिहीबार, ०५ असार २०८२, ०६ : ५३
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • तनहुँका किसान चैते धान भित्र्याउँदैछन्, र त्यसपछि वर्षे धान रोप्ने तयारीमा छन्।
  • जिल्लाको ९,४६४ हेक्टरमा धानखेती हुन्छ, जसमध्ये १,८०२ हेक्टरमा चैते धान लगाइन्छ।
  • गत वर्ष ३७,९४२ मेट्रिक टन धान उत्पादन भएको थियो, जसमा ८,७०४ मेट्रिक टन चैते धान थियो।

तनहुँ । तनहुँका किसान चैते धान भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । 

जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ । तर, भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जिल्लाका कुल नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको केन्द्रले जनाएको छ ।  केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले भने, “मनसुन सुरु भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन् । चैते धान थन्क्याउनासाथ असारे धान (वर्षे धान) रोप्ने चटारो हुन्छ । जिल्लाका चैते धानखेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्याननभ्याई छ ।”

मनसुन सुरु हुनासाथ वर्षेधान मात्रै हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको उनले बताए । तनहुँ धानखेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उनको भनाइ छ । अधिकृत परियारका अनुसार उक्त क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार ९४२ मेट्रिकटन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिकटन चैते धान उत्पादन भएको जनाएको छ । 

चैते धान प्रवद्र्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । थन्क्याउने कार्य चलिरहेकाले चालु आर्थिक वर्षको तथ्याङ्क आउन बाँकी रहेको उनले बताए । उनले भने, “सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।”

भानुको चुँदीफाँट, खहरेफाँट, सतीघाटफाँट, व्यासको घाँसीकुवाफाँट, साँगेफाँट, कलेस्तीफाँट, माझफाँट, गजौडेफाँट, शिशाघाटफाँट, म्याग्देको गुणादीफाँट, थर्पुफाँट, पसलेफाँट, सेराफाँट र शुक्लागण्डकीको ढोरफिर्दीफाँट, भिमादको बुडुवाफाँटलगायतका विभिन्न पालिकाका फाँटमा धानखेती हुने गरेको छ । चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप