बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजावादी पार्टीको नेतृत्वमा दाउपेच : राजा फर्काउने विश्वासपात्रको खोजी !

मङ्गलबार, ३० कात्तिक २०७८, १५ : १६
मङ्गलबार, ३० कात्तिक २०७८

२४ कात्तिकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिए । गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा देउवाले शाह प्रजातन्त्रका विरुद्ध सक्रिय भएको आरोप लगाउँदै चुनाव लडेर शासन गर्न चुनौति दिएका थिए ।

२०६२–६३ को जनआन्दोलनको बलमा राजतन्त्र पतन भएपछि पनि फेरि सत्तामा आउन पूर्वराजाले ‘षड्यन्त्र’ गरिरहेको भन्दै बेलाबेलामा गणतन्त्रका पक्षधर नेताहरुले कटाक्ष गर्दै आएका छन् भने सोही कटाक्षको पछिल्लो श्रृङ्खला थियो, देउवाको पूर्वराजामाथिको आक्रोश ।

पूर्वराजाले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले सुखको अनुभूति गर्न नपाएको गुनासोसहित पटक पटक आक्रोश पोख्दै आएका छन् । विभिन्न अवसरमा दिइने सन्देशमा होस् या कार्यक्रमहरुमा नै किन नहोस् पूर्वराजामा राजनीतिक दल र व्यवस्थाप्रतिको वितृष्णा देखिन्छ ।

तर, पूर्वराजाले पूजापाठको नाममा देश दौडाहाबाहेक प्रत्यक्षरुपमा आफ्नो सशक्त अभियान अघि बढाउन सकेका छैनन् । बरु उनले विभिन्न हिन्दुवादी संघसंस्थामार्फत अप्रत्यक्षरुपमा अभियान सञ्चालन गर्दै आएका छन् भने हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डा बोकेका दलहरुप्रति पनि उनको आशा छ । दोस्रो जनआन्दोलनलगत्तै हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको सशक्त एजेण्डा बोकेको पार्टी राप्रपा त्यसैमध्येका एक हो ।

महाधिवेशनको मुखमा रहेको राप्रपा नेतृत्वको दाउपेचमा लागिरहेका बेला पूर्वराजाको सो पार्टी र नेतृत्वलाई हेर्ने दृष्टिकोण कस्तो रहला भन्ने प्रश्न सतहमा आएको छ । तर, यसमा पूर्वराजाको प्रत्यक्ष सहभागिता भने यसमा रहने कुरा होइन ।

कात्तिक २४ मा प्रधानमन्त्री अभिव्यक्ति आएसँगै सबैभन्दा पहिला देउवालाई काउन्टर दिँदै आलोचना गर्ने पात्र थिए, राप्रपा अध्यक्ष कमल थापा । महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने रणनीतिका साथ अघि बढेका थापाले सामाजिक सञ्जालमार्फत राजाविरुद्ध आक्रोश नभइ सुशासन दिन देउवालाई सुझाव दिए ।

थापाको भनाइ थियो, ‘राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस्, न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

राप्रपाका नेताहरु कमल थापाको यो अभिव्यक्तिलाई चुनावसँग जोडेर हेर्छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा देशभरका कार्यकर्तालाई कमल थापा एजेण्डाको हिसावले दृढ छन् र राजाले आफूलाई विश्वास गर्छन् भन्ने देखाउन उनले देउवाप्रति कटाक्ष गरेको बुझाइ एक शीर्ष नेताको छ ।

नाम उल्लेख नगर्न आग्रह गर्दै पूर्वपदाधिकारी ती नेताले भने, ‘कमल थापाको राजासँग राम्रो छैन, थापाले राजतन्त्र भजाएर गणतन्त्रवादीसँग मिलेर सत्ता साटेको गुनासो राजाको छ । विगतमा पटक पटक सत्तामा जानुको औचित्य अहिलेसम्म थापाले प्रष्ट पार्न सकेका छैनन् ।’

थापाको यही प्रवृत्तिलाई आइतबार झापाको भएको कार्यक्रममा महाधिवेशनबाट अध्यक्षका आकांक्षी रहेका नेता राजेन्द्र लिङदेनले पनि संकेत गरेका छन् । हिन्दु र  राजा मान्ने जमात पार्टी भन्दा बाहिर किन रहन पुगेको भन्ने प्रश्न उठाउँदै उनले यस हुनुमा नेतृत्व नै दोषी रहेको सन्देश दिन खोजे । थापा नै सहभागी भएको कार्यक्रममा झापा क्षेत्र नम्बर ३ का संघीय सांसद समेत रहेका लिङदेनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहीन हुन पुगेको पनि बताए । शीर्ष नेतृत्वले आफूलाई चिन्न नसकेको भन्दै उनले कार्यक्रममार्फत असन्तुष्टि समेत पोखेका थिए ।

थापा मात्रै होइन, अध्यक्षका प्रत्यासी रहेका डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र लिङ्देनसँगै धवल शमशेर राणासमेत आफूलाई राजावादीको कित्तामा दरिलो देखाउन तँछाडमछाड देखिन्छन् ।

पुराना पुस्ताबाट कमल थापासँगै डा लोहनीले नेतृत्वमा आफ्नो आन्तरिक तयारी तीव्र पारेका छन् । उता अर्का अध्यक्ष  पशुपति शमशेर राणाले पनि राजेन्द्र लिङ्देन र कमल थापा दुई जना उम्मेदवार भएको अवस्थामा पुरानो राप्रपा नेपालको मत विभाजन हुने र लोहनीलाई मिलाएर आफू नेतृत्वमा आउँछु भन्ने रणनीतिमा देखिन्छन् ।

यस्तै कमल थापाचाहिँ सबैतिरबाट घेराबन्दीमा परेको जस्तो देखिए पनि पार्टीमा लोकप्रिय आफैँ रहेको निष्कर्षमा देखिन्छन् । ‘हिजोको संघर्ष गरेका कार्यकर्ता मैसँग छन् भनेर उनी आशावादी छन्’, थापासँग लामो सहकार्य गरेका एक नेताले रातोपाटीसँग भने, ‘लोहनीचाहिँ कमल थापा अलोकप्रिय छन्, पशुपति शमशेर बुढा भए, अघिल्लो पुस्ताबाट छान्दा मैलाई छान्छन् भन्नेमा छन् ।’

राप्रपामा राजाको सद्भाव आफूमा रहेको विश्वास समेत लोहनीमा छ । राप्रपाका अन्य नेता कार्यकर्ता पनि राजाले खुलेर कसैको पक्ष नलिए पनि बढी सद्भाव लोहनीमै रहेको बताउँछन् । राप्रपाका अरु दुई अध्यक्षको तुलनामा लोहनी र पूर्वराजाबीच बाक्लो संवाद हुने गरेको लोहनीलाई नजिक बुझ्नेहरु बताउँछन् ।

उता राजेन्द्र–धवलशमशेर लगागतका नेताहरु अहिलेकै अवस्थाको निरन्तरता भयो भने पार्टी ‘कोल्याप्स’ हुने निष्कर्षमा छन् । राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापनाको एजेण्डालाई उचाइमा पुर्याउन तथा पार्टीमा युवा पुस्ताको आकर्षणका साथै एजेण्डालाई सशक्त बनाउन नेतृत्व परिवर्तनमै जोड दिँदै आएका छन् ।  ‘महाधिवेशनमा त नयाँ–पुराना सबै नेता कार्यकर्ताहरूले आफ्नो आफ्नो दावा पेश गर्न खोज्छन्, त्यो स्वाभाविक र प्रजातान्त्रिक अधिकार पनि हो’, उनी भन्छन्, ‘दोस्रो पुस्ताका हामी सबै नेताहरु नेतृत्व परिवर्तन हुनुपर्छ भनेर एकमत छौँ ।’

युवा पुस्ताबाट नेतृत्वमा लिङ्देन र धवलशमशेरमध्येबाट एक जनाले उम्मेदवारी दिने भनेर यसअघि नै समझदारी भइसकेको छ । त्यसका लागि दोस्रो पुस्ताका नेताहरु निरन्तर संवादमा रहँदै आएका छन् ।

युवापुस्ता नेतृत्वमा आउनुपर्ने पक्षधरहरुले आफूहरुको अभियानलाई पार्टी जोगाउने अभियान भएको तर्क गर्दै आएका छन् । राप्रपा नेता दिलविकास राजभण्डारीले पार्टीलाई गति दिनकै लागि आफूहरुले नयाँ पुस्ताबाट नेतृत्व आउनुपर्ने लबिङ गर्दै आएको बताए । पार्टीलाई स्थापित गर्नका लागि एजेन्डालाई सशक्त रुपमा अघि बढाउन सक्ने नेतृत्व अहिलेको अवश्यकता भएको उनको भनाइ छ ।

 ‘अहिले डुब्न लागेको पार्टीलाई प्राण दिनुपर्छ भन्ने दोस्रो पुस्ताको लाइन हो । बाहिरी जनमत– त्यसमा पनि विशेषगरी हिन्दुवादी संघ संस्थाहरु, धार्मिक गुरुहरू, राजावादी संघ संस्थाहरु, विभिन्न भुरेटाकुरे संघसंस्थाहरूमा राप्रपामा नेतृत्व परिवर्तन भयो भने हामी अटाउँछौँ भन्ने छ’, अर्का एक नेताले भने, ‘आगामी महाधिवेशन निकै महत्वपूर्ण छ । अर्कोतर्फ पार्टीलाई गति दिने सवाल पनि छ । पूर्वराजाको विश्वास जित्नुपर्ने पनि छ, सबैलाई गोलबन्द गर्न सक्ने नेतृत्व पनि चाहिएको छ ।’

राप्रपा नेता मोहन श्रेष्ठ भने पार्टी निर्माणका लागि सहमति कायम गरेर अघि बढ्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘नेतृत्वको विवादमा नअल्झिकन पार्टीको हितमा सबैले सोच्नुपर्ने बेला आएको छ ।  ब्यालेटमा जाँदा पार्टीमा विभाजन आएको विगत छ, चाहे ०५४ सालमा होस् वा ०५९ सालमा ।  चाहे ७३ मा नै किन नहोस् । जहिले जहिले महाधिवेशन भएको छ, त्यतिबेला पार्टीमा विग्रह आएको छ ।’

उनले अगाडि थपे, ‘त्यसकारण कसैमा कुनै पक्षमा विशेष नगरी सहमति कायम गरेर पार्टीको बृहत्तर हितको पक्षमा गम्भीर बन्नुपर्ने बेला आएको छ। पार्टीको भिवष्यका लागि बृहत्तर एकताको खाँचो छ ।’

 अहिलेको अवस्थामा पार्टीलाई गति दिन सक्ने, सबैलाई मिलाएर लैजान सक्ने, राजादेखि हिन्दुवादी संघ संस्था समेतलाई समेट्न सक्ने नेतृत्व आवश्यकता रहेको पार्टीपंक्तिभित्र आवाज दर्बिलो बन्दै गएको छ । त्यसका लागि देशभरबाट छानिने महाधिवेशन प्रतिनिधिले विवेक पु-याउनुपर्ने पनि राप्रपाका नेताहरु बताउँछन् ।

राप्रपाले पहिलोपटक क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छान्दैछ । त्यसका लागि मंसिर ३, ४ र ५ गते चुनाव गर्ने कार्यतालिका छ । क्रियाशील सदस्यबाटै महाधिवेशन छानिने भएकाले पनि महाधिवेशनबाट चुनिने नेतृत्वप्रति धेरैको चासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप