शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनमा आचारसंहिता : कुन चरीको नाम हो ?

आइतबार, २६ मङ्सिर २०७८, १४ : ४८
आइतबार, २६ मङ्सिर २०७८

यतिबेला काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको १४औँ महाधिवेशन चलिरहेको छ । पदाधिकारी र सदस्यसहित विभिन्न पदका लागि सोमबार निर्वाचन हुँदैछ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनका लागि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ । आचारसंहितामा उम्मेदवारहरूको प्रचारप्रसारका लागि शर्तहरु लागू गरिएका छन् ।  

काँग्रेसले महाधिवेशनका उम्मेदवार रहेका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूले आचारसंहिता पालन गर्नुपर्ने भन्दै निर्वाचन समितिले सूचना नै जारी गरेको छ । जारी आचार संहिताको बुँदा नं ४ मा भनिएको छ : ‘नेपाली काँग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुर र राष्ट्रिय सभा, गृह÷भृकुटीमण्डप, प्रदर्शनीमार्ग, यी दुई स्थान पार्टीको महाधिवेशनसँग सम्बन्धित स्थल रहेकाले उक्त दुई स्थानहरूको वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारका प्रचार सामाग्री ः ब्यानर, भित्ते लेखन, पोस्टर, तुल, पम्लेट इत्यादि टाँस्न एवं माइकिङ गर्न समेत मनाही गरिएको छ । यस प्रकारका प्रचार सामाग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने ब्यहोरा समेत सबैलाई जानकारी गराइन्छ ।’

तर, केन्द्रीय निर्वाचन समितिको यो निर्वाचन आचार संहिताको महाधिवेशन स्थलमा धज्जी उडाइएको छ । महाधिवेशन स्थलमा प्रचारका कुनै पनि गतिविधि नगर्न उल्लेख गरिएको भएता पनि ब्यानर, भित्ते लेखन, पोस्टर, तुल, पम्लेट जस्ता प्रचारका सामाग्री छरपस्ट देख्न सकिन्छ । महाधिवेशन स्थल वरपर ५०० मिटरको दूरीमा कुनै पनि प्रचारको गतिविधि गर्न नपाइने आचार संहितामा उल्लेख हुँदाहुँदै पदाधिकारीका तस्बिर अङ्कित प्रचार सामग्रीले भृकुटीमण्डप ढपक्क ढाकेको छ । 

आचारसंहितामा उल्लेख भएअनुसार उम्मेदवारहरूले प्रचार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्नै छुट छ । तर, भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्बिर अङ्कित प्रचार सामाग्रीहरु छन् ।  
अरू के–के छ आचारसंहितामा ?

आचार संहितामा कुनै पनि उम्मेदवारको पक्षमा भोट अपिल गर्नका लागि माइकिङ गर्न समेत निषेध गरिएको छ । तर, भृकुटीमण्डप वरिपरी माइकिङ गर्दै भोट मागिरहेको पाइएको छ । 

काँग्रेसले आचारसंहितामा कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार प्रसार गर्न नपाइने बताएको छ । मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न अनुरोध गरिएको छ । 


त्यस्तै, निर्वाचनका क्रममा शान्ति, सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्वक मतदानमा संयमित भएर भाग लिन सबै महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरिएको छ । भने, मतदान स्थलमा प्रवेश गर्दा मोबाइल फोन लिएन जान नपाइने व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप