आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राजसंस्थाको आवश्यक्ता झनै बढेर गयो : अध्यक्ष लिङ्देन

बुधबार, १४ पुस २०७८, १५ : २१
बुधबार, १४ पुस २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए । स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे । 

अध्यक्ष लिङ्देनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे । उनले राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि बताए । उनले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको समेत उल्लेख गरे । 

अध्यक्ष लिङ्देनले भने, ‘म केटाकेटी नै थिए–२०३२ सालतिर होला । जब सिक्किममा राजसंस्थाको अन्त्य भयो । जनताका प्रतिनिधिहरुले भन्नेले त देशै भारतमा विलाई दिए । ओहो, राजा भएन भने त देशै सकिने रहेछ, जब मेरो बाल मस्तिष्कमा पर्यो । राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्नसक्छ भन्ने मलाई लागेको थियो । आज पनि म जहाँ जाँदा पनि राजसंस्थाको कुरा गर्दा जनतालाई भन्ने गरेको छु –२०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो । त्यसबेला भन्दा अझ मैले अहिले बढि बुझ्छु । किन, त्यसबेला त थोरै थोरै बुझे । ए, राजा हट्यो, सिक्किम पनि सकियो । एउटा देश पनि समाप्त भो भन्ने मात्रै थियो । तर अहिले यसो हेर्छु । सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ । तर सिक्किम भन्ने देश त छैन ।’ 

अध्यक्ष लिङदेनले भने, ‘अहिले पछिल्लो दिनमा त्यहीँ खतरा हाम्रो देशले बोकिराखेको छ । त्यसका लागि नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यक्ता छ भनेर मैले भन्ने गर्छु ।’ 

राजा वीरेन्द्र विदेशीहरूसँग नझुकेपछि देश जोगिएको बताउँदै उनले भने, ‘राजा वीरेन्द्रको कुरा गर्दाखेरी २०४५/४६ सालताका जुन नाकाबन्दी थियो । त्यसबेला अलि बुझ्ने भइसकेको थिए म । विद्यार्थी राजनीतिमा थिए । त्यसबेला भारतबाट तत्कालीन संस्थापनले के–के सर्त लिएर आएको थियो । त्यसबेला राजाले ती सर्तहरू मानेको भए आज पनि नेपालमा राजसंस्था पनि रहि राख्थ्यो होला । त्यो नाम मात्रको हुन्थ्यो होला । तर देशहित विरुद्धका तिम्रा सम्झौताहरु, सर्तहरू मान्नुभन्दा देशका राजनीतिक दलहरूसँग सम्झौता गर्छु, तिमीसँग झुक्नुभन्दा मेरो जनतासँग झुक्छु भनेर जब राजा वीरेन्द्रले दलहरूसँग सम्झौता गरेर संवैधानिक राजा बने । त्यसबाट अरुभन्दा राजा देशभक्त हुन्छन् भन्ने कुराचाँही प्रमाणित भयो भन्ने लाग्छ मलाई ।’

अध्यक्ष लिङ्देनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको बताए ।  कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप