आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकृति र संस्कृति जोगाउने अभियानमा होमस्टे

आइतबार, ०९ माघ २०७८, ०९ : ४१
आइतबार, ०९ माघ २०७८

नेपालमा पर्यटन विकासको सम्भावना अधिक छ । प्राकृतिक, सांस्कृतिक रूपले धनी हाम्रो देशमा पर्यटन क्षेत्रको विकास गरी बाह्य पर्यटकहरूको सङ्ख्यामा वृद्धि गर्न सके आर्थिक रूपले सबल हुन समय लाग्ने देखिदैंन । आजभोलि अग्ला डाँडामा होटल, रिसोर्ट खुल्ने क्रम बढ्दो छ । त्यसले सकारात्मक प्रभाव देखिएपनि सीमित मानिसलाई मात्र लाभ हुने भएकाले समग्र समुदायको हित हुने देखिन्न । 

प्रकृति र संस्कृतिको संरक्षणमा होमस्टे (घरबास) अभियान महत्त्वपूर्ण रहेको छ । गण्डकी प्रदेशस्थित स्याङ्गजाको सिरुवारी सामुदायिक होमस्टे नेपालको पहिलो होमस्टे मानिन्छ । सरकारले होमस्टे कार्यविधि ल्याएपछि धेरै होमस्टे दर्ता प्रक्रिया गरेर सञ्चालित छन् । जसमा घले गाउँ, पिप्रहर, काउलेपानी, अमलटारी, पात्लेखेत, भादा, डल्ला सामुदायिक होमस्टे लगायत छन् । 

नेपालमा होमस्टेको सङ्ख्या  

अतिथि देवो भवः पाहुना भगवान् सरह हुन् भन्दै साँझमा आएका पाहुनालाई बस्न र खान दिने निकै लामो समयदेखिको नेपाली चलन हो । पहिला–पहिला सडक सञ्जाल नहुँदा बास बस्ने घरमा आफूसँग भएका केही सरसामान बसेको घरमा दिने क्रमसँगै घरबास (होमस्टे) सुरु भएको अभियन्ताहरूको भनाई छ । 

यसै क्रममा २०६७ सालदेखि विधिवत् रुम दर्ता भएरै होमस्टेहरू सञ्चालनमा आएका छन् । दुर्गमका गाउँबस्तीमा मात्र होइन, सुगम सहर कीर्तिपुर, पाटनमा समेत पाहुनालाई स्वागत सत्कार गर्दै बास दिने होमस्टेको सङ्ख्या बढ्दो छ । होमस्टे एसोसिएसन नेपालका केन्द्रीय कोषाध्यक्ष सुरज बाँस्तोलाका अनुसार एशोसियनमा आवद्ध होमस्टेको सङ्ख्या ४ सय ५० रहेको छ । जसमा प्रदेश १ मा ८०, मधेस प्रदेशमा ४ वटा, बागमती प्रदेशमा २ सय ५०, गण्डकीमा ५ सय बढी, लुम्बिनीमा ५० बढी, कर्णालीमा पनि ५० हाराहारी र सुदूरपश्चिम प्रदेशमा ३० वटाको सङ्ख्यामा होमस्टे रहेका छन् । सामुदायिक र निजी गरी १ हजार हाराहारीमा होमस्टे रहेको तथ्याङ्क छ । 

होमस्टेको आधार, सरसफाई र पूर्वाधार 

नेपालमा हरेक ठाउँ स्वर्गजस्तै सुन्दर छ । त्यहाँको स्थानीय सरकार र समुदायले चासो दिने हो भने धेरै गाउँमा होमस्टे चलाउन सकिन्छ, त्यसका लागि पूर्वाधारको आवश्यकता पर्दछ । 

गुरुङ्ग समुदायले सञ्चालन गरेको स्याङ्गजाको सिरुवारी, घले समुदायको बसोबास रहेको लमजुङ्गको घलेगाउँ सामुदायिक होमस्टे, थारू समुदायले सञ्चालन गरेको नवलपरासीको अमलटारी, पिप्रहर होमस्टे, बर्दियाको डल्ला होमस्टे, कैलालीको भादा होमस्टे, क्षेत्री–बाहुन समुदायले सञ्चालन गरेको काभ्रेको पात्लेखेत र भक्तपुरको नगरकोट सामुदायिक होमस्टे पाहुनाको रोजाईमा पर्दछन् । 

घरबास होमस्टे सञ्चालन गर्न पहिलो सरसफाई, त्यसपछि पूर्वाधार आवश्यक पर्दछ । पाहुना बस्ने कोठा सफा र उज्यालो आउने, सकेसम्म बाहिर मनोरम दृश्य देखिने खालको हुनु पर्दछ । सफा भान्छा र सहज शौचालय आवश्यक पर्दछ । 

होमस्टेमा कति पाहुना अँट्छन् ?

सामुदायिक रुपमा मिलेर चलाउने कर्णाली प्रदेश सरकारको कार्यविधिमा दुई वा दुई भन्दा बढी घरपरिवार भनिए पनि संघीय सरकारको कार्यविधिमा भने पाँच वा सो भन्दा बढी घरपरिवार भएकोलाई मात्र सामुदायिक होमस्टे मानिन्छ । होमस्टे एसोसिएसन नेपालका कोषाध्यक्ष बाँस्तोलाका अनुसार नेपालमा रहेका सामुदायिक र निजी होमस्टले एक दिनमा करिब ५० हजार पाहुनाको स्वागत गर्न सक्दछन् । होमस्टेमा प्याकेजअनुसार मुल्य फरक–फरक हुन्छ । न्यूनतम एक छाक सामान्य खाना र बस्न ८ सय रुपैयाँदेखि रुचि अनुसारको खाना र बसाइँको २ हजार सम्मको प्याकेज रहेको छ । दृश्यावलोकन, सांस्कृतिक कार्यक्रम भएमा केही अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । 

प्रकृति र संस्कृति जोगाउने अभियान

धेरैलाई लाग्न सक्छ होमस्टेले कसरी प्रकृति र संस्कृतिको जगेर्ना गर्दछ । त्यसको उदाहरण हेर्न स्वयम् होमस्टेमा नै जानुपर्ने हुन्छ । हिमाली मनाङ जिल्लाको नासो गाउँपालिका रहेको ताचैं सामुदायिक होमस्टेले वरपर भएका प्रकृति सम्पदाको संरक्षण गर्दै साँझमा पाहुनालाई आफ्नो संस्कृति अनुसारको कार्यक्रम गरेर मनोरञ्जन दिने गर्दछ । 

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नगरकोट सामुदायिक होमस्टेले नगरपालिकाको सहयोगमा पदमार्गको निर्माण गरेको छ । लमजुङको बेशीसहर नगरपालिकास्थित महिलाहरूले सञ्चालन गरेको खासुर सामुदायिक होमस्टेले आफ्नो कला र संस्कति पछिल्लो पुस्तालाई सिकाउँदै पाहुनाको स्वागतमा रोधी गाउने गर्दछ । निकुन्ज आसपासका बस्तीमा रहेका अमलटारी, पिप्रहर, डल्ला लगायत होमस्टेले वन र वन्यजन्तुको संरक्षण गर्दै ती जन्तुलाई देखाएर नै रकम आर्जन गर्छन् । 

होमस्टेः अवसरसँगै चुनौती  

दैनिक जीवनयापन गर्दै कामको थोरै समय निकालेर पाहुनाको स्वागतमा बिताउँदा होमस्टे चलाउने गाउँलेहरूको आर्थिक आम्दानी समेत हुने गर्दछ । होमस्टेको पहिलो प्राथमिकता भनेकै स्थानीय उत्पादनको प्रयोग गरी पाहुनालाई मौलिकपनको झल्को दिने हो । तरकारी, अन्न, मासु, दुधजन्य पदार्थ जतिसक्दो अर्ग्यानिक र स्थानीय उत्पादनको प्रयोग हुन्छ । 

पाहुनाको स्वागतमा मकै, भटमास, गुन्द्रुक वा समुदाय अनुसारको सगुन दिनु होमस्टेको पहिचान हो । ढिंडो, गुन्द्रुक, सिस्नुको खोले, कोदोको रोटी, फापरको सेल, घोङ्गी, रोटीलगायतका धेरै नेपाली खानाको मौलिकपनलाई जोगाउन होमस्टेहरू लागिपरेका छन् । तर, हिजोआज युवापुस्ताले विदेश मोह त्यागन नसक्दा मौलिक खाना पाहुनालाई दिन कतिपय होमस्टेलाई समस्या हुने गर्दछ । आफ्नो जाति परम्परा अनुसारको खाना आएका पाहुनालाई दिनुपर्ने भएपनि खेतीयोग्य जमिन बाँझो हुनाले चुनौती  थपिएको छ । 

एक घरको आम्दानी

नेपालको अहिलेसम्मको सर्वोकृष्ट होमस्टे मानिने अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा ३१ घर आबद्ध छन्, जहाँ करिब १ सय कोठामा २ सय पाहुना बस्न सक्छन् । प्रसारपचारमा अब्बल यो होमस्टेमा आबद्ध एक परिवारले बार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दछन् । यसमा आउने पाहुनाको सङ्ख्या हेरी रकम तल माथि हुन सक्छ । सामान्य खालको होमस्टे भएपनि न्यूनतम बार्षिक २ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन् । यसमा आफ्नो खेतीपाती लगायतको नियमित आम्दानी छुट्टै हुने गर्दछ । तर कोरोना कहरले विगत दुइ वर्षदेखि पाहुनाको अभावमा होमस्टे पनि थला परेका छन् ।   

तस्विर सौजन्यः सुरज बाँस्तोला 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप