शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भ्रातृ संस्थाबारे काँग्रेसभित्र दुई विकल्पमा बहस, प्रवक्तामा को ?

मङ्गलबार, १८ माघ २०७८, ०७ : २०
मङ्गलबार, १८ माघ २०७८

नेपाली काँग्रेसले ‘कोमामा’ पुगेका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई पुनर्जागृत गराउने तयारी थालेको छ । भ्रातृ तथा शुभेच्छुक संस्थामा नवीनता ल्याउन काँग्रेसमा गृहकार्य भइरहेका छ ।

यस विषयमा आइतबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको थियो । महामन्त्री शर्माका अनुसार भ्रातृ तथा शुभेच्छुक संगठनबारे निर्णय लिन केही दिनमै कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

कार्यसम्पादन समितिको बैठकमा जानुपूर्व भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा खाका तयार पार्न लागिएको शर्माको भनाइ छ । उनका अनुसार बैठकमा राष्ट्रिय राजनीति र पार्टीलाई चलायमान बनाउने सन्दर्भमा घनिभूत छलफल हुनेछ । बैठक दुई दिनसम्म चलाउने गरी एजेण्डा तय गरिन लागिएको शर्माले बताए ।

दुई विकल्पमाथि बहस

समयमा महाधिवेशन हुन नसकेर वैधानिकता गुमाएका भ्रातृ तथा शुभेच्छुकका सन्दर्भमा दुई विकल्पमाथि छलफल भइरहेको छ । भ्रातृ संस्थाको वर्तमान कार्यसमितिलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने कि नयाँ कमिटी ल्याउने भन्ने विकल्प अगाडि सारिएको छ । महामन्त्री शर्माले भने, ‘यो कमिटीलाई निरन्तरता दिने भन्ने एउटा विकल्प छदैछ । महाधिवेशनका लागि नयाँ तदर्थ कमिटी बनाउने विषय पनि छ । यस विषयमा आन्तरिक छलफलमा छौँ । यसलाई चाँडै टुङ्ग्याउने तयारी भइरहेको छ ।’

पाँचवटा भ्रातृ संस्थाका अध्यक्ष पार्टीको केन्द्रीय कार्यसमितिमा आइसकेकाले नयाँ कमिटी ल्याउने सम्भावना बढी छ । यद्यपि उनीहरूलाई नै महाधिवेशनसम्म लैजाने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।‘भातृ संस्थाका पाँचवटा सभापति केन्द्रीय समितिमा आइसक्नुभएकाले नयाँ सभापति बनाएर कमिटी बनाउने वा यी पाँच वटा अध्यक्षलाई जिम्मा दिएर महाधिवेशनसम्म जाने भन्ने विषयमा सहमति जुटाउँछौँ,’ उनले भने ।

पाँचवटा भ्रातृ संस्थाको अध्यक्ष मात्र अवैध छैन, कमिटीकै वैधानिकतामाथि प्रश्न उठेको छ । ६ महिनाभित्र महाधिवेशन गर्ने गरी पार्टीले २०७६ साल माघ १६ गते नेविसंघ अध्यक्षको ढुंगाना आएका थिए । ढुंगाना नेतृत्वमा ११० सदस्यीय कमिटी बनाउने भनिए पनि १० पदाधिकारीमा सीमित छ ।

महिला संघका महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगाना र मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार केन्द्रीय सदस्य भइसकेका छन् ।

बस्नेत, ढुंगाना र सत्तार १४ औं महाधिवेशनबाट निर्वाचित भएका थिए भने रेग्मी र विश्वकर्मालाई सभापति शेरबहादुर देउवाले मनोनीत गरेका थिए । पार्टीको विधानअनुसार उनीहरु स्वतः पदमुक्त भइसकेका छन् ।

विधानको धारा ४२ मा भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए निजको भ्रातृ संघको पद स्वतः रिक्त हुने उल्लेख छ । तर, उनीहरूले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छैनन् ।

भ्रातृ तथा शुभेच्छुक संस्थाको अवस्था

पाँचवटा भ्रातृ संस्थाको अध्यक्ष मात्र अवैध छैन, कमिटीकै वैधानिकतामाथि प्रश्न उठेको छ । ६ महिनाभित्र महाधिवेशन गर्ने गरी पार्टीले २०७६ साल माघ १६ गते ढुंगानालाई नेविसंघको अध्यक्ष बनाएको थियो । ढुंगाना नेतृत्वमा ११० सदस्यीय कमिटी बनाउने भनिए पनि १० पदाधिकारीमा सीमित छ ।

प्रत्येक दुई– दुई वर्ष अधिवेशन हुने व्यवस्था भएपछि ०७३ भदौपछि नेविसंघमा महाधिवेशन हुन सकेको छैन । यस्तै तरुण दलको हालत पनि नेविसंघको भन्दा फरक छैन । २०७३ मङ्सिर तरुण दलको अध्यक्ष बने बस्नेत नेतृत्वको कमिटी पाँच वर्षदेखि अपूर्ण छ । ९५ सदस्यीय कार्यसमितिमा चार जना पदाधिकारीमै पाँच वर्ष बितिसक्यो । तीन वर्षे कार्यकालमा बस्नेत नेतृत्वको कार्यसमितिले थप दुई वर्ष बिताइसक्दा पनि तरुण दलले नयाँ नेतृत्व पाउन सकेको छैन ।

०७३ असोजमा भएको महाधिवेशनबाट उमा रेग्मीलाई अध्यक्ष पाएको महिला संघ अहिले कोमामा छ । रेग्मी महिला बालबालिका मन्त्री र पार्टीको केन्द्रीय सदस्य भइसक्दा पनि महिला संघले नयाँ नेतृत्व पाएको छैन । अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पार्टीको केन्द्रीय सदस्य भएपछि महिला संघमा नयाँ नेतृत्वको खोजी भइरहेको छ ।

नेपाल दलितमा संघ एक दशकदेखि मीन विश्वकर्माको हालीमुहाली छ । तीन वर्षे कार्यकाल रहेको संघको चौथो महाधिवेशन २०६९ सालमा सम्पन्न भएका १० वर्ष भइसकेको छ । योबीचमा विश्वकर्मा तीनपटक केन्द्रीय सदस्य भइसके । तर, उनले महाधिवेशन नगरेर कार्यकाल लम्ब्याउँदै दशक बिताएका छन् ।

२०६४ सालमा गठन भएको किसान संघले अहिलेसम्म अधिवेशन गर्न सकेको छैन । यस्तै नेपाल प्रजातन्त्र सेनानी संघले पनि २०६९ सालपछि अधिवेशन गरेकै छैन । २०७३ साल केन्द्रीय अधिवेशन गरेको नेपाल भूतपूर्व सैनिक संघ र २०६४ सालदेखि नेपाल आदिवासी जनजाति संघको पनि अधिवेशन भएको छैन । अध्यक्ष इन्द्रबहादुर गुरुङले केही दिनअघि राजीनामा बुझाएका छन् । यस्तै २०६६ सालमा गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले एकपटक पनि अधिवेशन गरेको छैन ।

नेपाल तामाङ संघको अध्यक्षमा १२ वर्षदेखि केवलबहादुर तामाङ रहेका छन् भने नेपाल राष्ट्रिय मगर संघको पनि नियमित अधिवेशन भएको छैन ।

पार्टीको सबै तहमा कार्यसम्पादन समिति बनाउन सर्कुलर गरिने छ । काँग्रेसले संसदीय समिति गठनका लागि पनि तयारी थालेको छ । काँग्रेस विधानअनुसार संघीय संसद्, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न तीन तहमा संसदीय समिति गठन गरिनेछ ।

२०७५ साल वैशाखमा दोस्रो महाधिवेशन गरेको नेपाल मुस्लिम संघमा पनि महाधिवेशनको सुरसार छैन । नेपाल ठाकुर समाजले २०६७ साल वैशाखदेखि महाधिवेशन गरेको छैन । ठाकुर समाज ११ वर्षदेखि पुरानै नेतृत्वबाट सञ्चालित छ ।

काँग्रेसका १८ शुभेच्छुक संस्थाहरूमध्ये अधिकांश नियमित अधिवेशन हुन सकेको छैन । नेपाल प्रेस युनियन, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी लोकतान्त्रिक संस्था महासंघ र नेपाल लोकतान्त्रिक शेर्पा संघले अधिवेशन भएको छैन ।

यस्तै नेपाल कुमाल संघलगायत धेरैको नियमित कार्यकाल सकिएको वर्षौं हुँदासम्म पनि अधिवेशन हुन सकेको छैन । सांस्कृतिक संघ पाँच वर्षदेखि चारजना पदाधिकारीमा सीमित छ । प्रेस युनियनको अधिवेशन नभएकै आठ वर्ष भइसकेको छ ।

पार्टीमा​ कार्य विभाजन

महामन्त्री गगन थापाका अनुसार सभापतिको तजबिजमा रहेको विभाग र संसदीय बोर्ड गठनका सन्दर्भमा पनि छलफल भइरहेको छ । ‘विभाग गठनका सन्दर्भमा हामीले प्रारम्भिक छलफल सुरु गरेका छौँ । हाम्रो विभागले महाधिवेशन भएको ६ महिनाभित्र विभाग टुङ्ग्याउने भन्छ,’ महामन्त्री थापाले भने, ‘तर हामीले सभापतिलाई ६ महिना नलगौँ भनेका छौँ । यसमा सभापति सकारात्मक हुनुहुन्छ ।’

पार्टीको सबै तहमा कार्यसम्पादन समिति बनाउन सर्कुलर गरिने छ । काँग्रेसले संसदीय समिति गठनका लागि पनि तयारी थालेको छ । काँग्रेस विधानअनुसार संघीय संसद्, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न तीन तहमा संसदीय समिति गठन गरिनेछ ।

काँग्रेस विधानमा प्रतिनिधि सभा क्षेत्र संसदीय समिति, प्रदेश संसदीय समिति केन्द्रीय संसदीय समिति गठनको व्यवस्था गरेको छ । केन्द्रमा २५, प्रदेशमा १८ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र संसदीय कार्यसमितिमा ११ सदस्यीय हुनेछ ।

उनले भने, ‘सबै काम क्रमशः गरिँदै जानेछ । स्थानीय तहको चुनावअघि नै पार्टीका सबै संरचनालाई पूर्णता दिइन्छ । हामी त्यसको गृहकार्यमा छौँ ।’

प्रवक्तामा को ?

महामन्त्रीद्वय थापा र शर्माले प्रवक्ता मनोनीत गर्न सभापति देउवालाई ताकेता गर्दै आएका छन् । महामन्त्री थापाले भने, ‘हामीले प्रत्येक भेटमा प्रवक्ता तोक्न भनि नै रहेका छौँ । अब चाँडै नै प्रवक्ता नियुक्त गर्नुहुन्छ होला ।’

सभापति देउवाले पूर्वसहमहामन्त्री प्रकाशशरण महतलाई प्रवक्ता बनाउने आशय व्यक्त गरेको बुझिएको छ । तर, काँग्रेसमा मुख्यतः रमेश लेखक, मीन विश्वकर्मा लगायत प्रवक्ताको नाम चर्चामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप