बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा मधेसी दलको टुटफुटले काँग्रेसलाई फाइदा !

बुधबार, २६ माघ २०७८, १६ : २६
बुधबार, २६ माघ २०७८

२०७४ सालको स्थानीय निर्वाचनलाई फर्केर हेर्दा जनकपुरधामको मेयर र उपमेयरसहित अधिकांश वडामा समेत तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले जितेको थियो । त्यतिबेला राजपाले एक्लैले नगरमा झण्डै बहुमत ल्याउन सफल भएको थियो । उता मेयर र उपमेयर लगायत १४ वटा वडामा नेपाली काँग्रेस काँग्रेसले दोश्रो स्थानमा चित्त बुझाउनु परेको थियो । तत्कालीन राजपा ५ स्थानमा र माओवादी एक स्थानमा दोस्रो स्थानमा आएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा वडामध्ये तत्कालीन राजपा नेपालले १२, नेपाली काँग्रेसले ७, संघीय समाजवादी पार्टीले ३, एमालेले २ वडाध्यक्ष जितेको थियो भने एकजना स्वतन्त्र वडाध्यक्षले जितेका थिए । ०७४ को निर्वाचनको नतिजालाई आधार मान्ने हो भने आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा मधेसवादी दल र नेपाली काँग्रेसबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । यसपाली मधेसी राजनीतिक दलको टुटफुटका कारण जनकपुरधाम उपमहानगरमा काँग्रेस बलियो अवस्थामा देखिन्छ ।

तत्कालीन राजपा नेपाल निर्वाचन एक्लै भिडेपनि पछि तत्कालीन समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल बन्यो । अहिले पुनः जसपाबाट अलग भएर लोसपा गठन भएको छ । लोसपा पनि पुनः फुटको संघारमा छ । उता तत्कालीन विजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भएर काँग्रेस अझ बलियो भएको छ । 

पहिले केवल २ वडाध्यक्ष जितेको एमालेका अधिकांश नेता तथा कार्यकर्ताहरु हाल नेकपा एकीकृत समाजवादीमा छन् । एउटा वडाध्यक्ष पनि नजितेको माओवादी त्यसै कमजोर छ ।

को को छन् आकांक्षी ?

जनकपुरधाम उपमहानगरका मेयर लालकिशोर साह अहिले जसपामै छन् भने उपमेयर रिता झा भने लोसपामा छिन् । अहिले लोसपा नेपालबाट जनकपुरधाम उपमहानगरका मेयर पदका लागि परमेश्वर साह, मनोजकुमार चौधरी र जानकीराम साह तीन जना आकांक्षी छन् । उपमेयर रिता झाको नाम पनि मेयरको लागि चर्चामा छ ।

त्यस्तै जसपाबाट लालकिशोर साहलाई नै मेयरमा दोह्र्याउने चर्चासँगै उमेश साह र विष्णुदेव साहको पनि नाम चर्चामा छ । उता काँग्रेसबाट २०७४ सालमा पराजित भएका मनोजकुमार साह पुनः मेयरमा उम्मेदवारी दिने चर्चा छ भने पूर्व नगरप्रमुख बजरंगप्रसाद साह, राकेश साहलगायतको नाम पनि अग्रपंक्तिमा छ ।

एमालेबाट शिवशंकर साह र एकीकृत समाजवादीबाट डा. अजय झा तथा माओवादीबाट जगदीश राउत, चन्द्रशेखर साह, दिपक पटेल र रामवृक्ष यादवको समेत नाम जनकपुरधाम उपमहानगरको मेयरका लागि चर्चा चलेको छ ।

मधेस केन्द्रीत दल र तत्कालीन एमाले–माओवादी मिलेर गठन भएको नेकपा विघटन भई पुरानै पार्टी ब्यूँतिएपछि अहिले काँग्रेसलाई भने निकै फाइदा हुने स्थानीय राजनीतिक विश्लेषकहरुको ठम्याइ छ । आकांक्षी उम्मेदवारहरूले सरोकारवाल दलबाट टिकट नपाएमा दल नै परिवर्तन गर्ने हल्ला पनि त्यति नै चलेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप