गढीमाई नगरपालिकाका मेयरविरुद्ध २ करोड ५७ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७६/०७७ मा समनपुरघाटको बालुवा, गिट्टी र ग्राभेलको ठेक्कामा २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध मङ्गलबार आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
अख्तियारका अनुसार गढीमाई नगरपालिकाले आव २०७६/०७७ का लागि समनपुर नाकाको नदीजन्य पदार्थ उत्खनन र बिक्रीको ठेक्का ३ करोड २५ लाख रुपैयाँमा भाग्यामणी कन्स्ट्रक्सन प्रा.लि.लाई दिने निर्णय गरेको थियो।
सम्झौताका लागि ७ दिनभित्र रकम बुझाउन पत्राचार गरिएकोमा उक्त कम्पनीले समयमै रकम दाखिला नगरेको पाइएको छ। तर, नगरपालिकाका पदाधिकारीहरूले ठेक्काको सर्त र बन्देज विपरीत एक करोड रुपैयाँ दाखिला भइसकेको भनी झुटो विवरणसहितको टिप्पणी उठाएर सदर गरेको अनुसन्धानबाट खुलेको न्यौपानेले बताए ।
उक्त फर्जी कागजातका आधारमा कम्पनीलाई एक महिनाका लागि अस्थायी रूपमा उत्खननको अनुमति दिइएको थियो। सो अवधिमा कम्पनीले ५४ हजार ३ सय ५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरी ३ करोड ३२ लाख ६९ हजार रुपैयाँभन्दा बढीको लाभ हासिल गरेको देखिएको छ।
ठेक्का सम्झौता बमोजिम बुझाउनुपर्ने बाँकी रकम र मूल्य अभिवृद्धि कर (भ्याट) समेत गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ नगरपालिकालाई नबुझाई सरकारी राजस्वमा ठुलो नोक्सानी पुर्याएको अख्तियारको दाबी छ।
यस प्रकरणमा मेयर श्याम प्रसाद यादवसँगै नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर र तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर रायलाई मुख्य अभियुक्त बनाइएको छ। उनीहरू तीनै जनासँग जनही २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो दाबी गर्दै कैद सजाय र बिगोको दोब्बर जरिवानाको माग गरिएको छ।
यस्तै, भाग्यामणी कन्स्ट्रक्सनका तर्फबाट मुख्य कार्य गर्ने भनिएका राधेश्याम साहलाई पनि भ्रष्टाचारमा मतियार बनेको अभियोगमा सोही बराबरको बिगो र सजाय मागदाबी गर्दै प्रतिवादी बनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
-
सय दिनमा सरकारले अभूतपूर्व काम गरेको अर्थमन्त्रीको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण