मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

मङ्गलबार, २३ असार २०८३, १६ : १९
मङ्गलबार, २३ असार २०८३

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले यस्तो धारणा राखेका हुन् । 

उनले व्यक्तिको गोपनीयतालाई मध्यनजर गरेर फरेन्सिक परीक्षण र प्रयोगशालाको रिपोर्ट पब्लिक डोमेनमार्फत सार्वजनिक गर्ने प्रस्तावित व्यवस्था हटाउनुपर्ने उल्लेख गरे । यो विधेयक फरेन्सिक परीक्षणको गुणस्तर, विश्वसनीयता र वैज्ञानिक मापदण्डमा आधारित बनाउन अघि सारिएको उनले स्पष्ट पारे । विभिन्न आपराधिक घटनामा घटनास्थलबाट नमुना सङ्कलन गरी वैज्ञानिक परीक्षणका आधारमा सम्बन्धित निकायलाई प्रमाण उपलब्ध गराउन विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

समितिको बैठकमा बोल्दै मन्त्री पुनले भने, ‘विभिन्न प्रकारको अपराधिक केसहरुको सन्दर्भमा स्थलगत स्याम्पल कलेक्सन गरेर त्यसलाई वैज्ञानिक तथ्यअनुसार जाँच गरेर अदालतलाई दिने विषय मात्रै हामीले अहिलेसम्म यो विधेयकको बारेमा सोचेको कुरा हो । त्यसैले यो प्रयोगशालाले के के काम गर्नसक्छ, यसको कर्तव्य के हो ? यसको अधिकार क्षेत्र के हो ? भन्ने विषयमा हामीले छलफल गरिरहेका हौँ । विधेयकमाथि छलफलको क्रममा गोपनीयताको कुरा पनि आएको छ । कुनैपनि व्यक्तिको स्वास्थ्यसम्बन्धी रिपोर्ट गोप्य नै राख्नुपर्ने हुन्छ । त्यसकारण रिपोर्ट पब्लिक डोमेनमा राख्ने कुरा मिल्दैन होला । यदि कुनै रिसोर्सको लागि डाटाको आवश्यकता पर्यो भने सम्बन्धीत संस्थालाई नै उपलब्ध गराउने नभए कानूनले दिँदैन होला ।’

मन्त्री पुनले विधेयकलाई दफावार हिसाबले एकतिरबाट टुङ्ग्याउँदै छिटो भन्दा छिटो पारित गर्ने गरी अघि बढ्न समेत संसदीय समितिलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप