मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

बनेपामा निजी जग्गामा सडक विस्तारको विवाद, वडाध्यक्षमाथि २ लाख लेनदेनको आरोप

मुआब्जाका लागि जग्गाधनी कानुनी लडाइँमा
मङ्गलबार, २३ असार २०८३, १६ : १७
मङ्गलबार, २३ असार २०८३

काभ्रे । बनेपा नगरपालिका वडा नं. ४ (साविक उग्रचण्डी नाला) मा निजी जग्गाभित्र विना मुआब्जा सडक विस्तार गरिएको विवादले उग्र रूप लिएको छ। यो विवाद सडक निर्माणमा मात्र सीमित नभएर जनप्रतिनिधिले मिलाउने आश्वासनमा आर्थिक लाभ लिएको आरोप समेत लागेको छ । 

कञ्चनपुर स्थायी घर भएका जग्गाधनी पद्मराज जोशीले आफ्नो कित्ता नं. १७४१ को १ रोपनी २ आना जग्गाभित्र नगरपालिकाले बलपूर्वक सडक र ढल निर्माण गरेको रातोपाटीलाई बताए । यस विवादमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको र अदालतले फैसला गरिसक्दा समेत क्षतिपूर्ति पाउन नसकेको उनको भनाइ छ । 

उनको मुद्दामा न्यायाधीशद्वय ऋषि राजभण्डारी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले सडक विस्तार गर्दा व्यक्तिको निजी जग्गा पर्ने भएमा 'जग्गा प्राप्ति ऐन २०३४' र 'सार्वजनिक सडक ऐन २०३१' अनुसार मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ। 

n

यसअघि उक्त मुद्दामा नगरपालिकाले अदालतमा लिखित जवाफ पेस गर्दै मुआब्जाको विषयमा जग्गाधनीको निवेदनउपर छानबिन भइरहेको बताएपछि अदालतले नगरपालिकाको उक्त प्रतिबद्धतालाई विश्वास गर्दै तत्काल अर्को आदेश जारी गरिरहनु नपर्ने फैसला गरेको थियो। तर, अदालतको उक्त फैसलाले जग्गाधनीको मुआब्जा पाउने संवैधानिक र कानुनी हकलाई भने सुरक्षित राखेको थियो। 

अदालतको फैसलाको मर्मलाई कार्यान्वयन गर्न माग गर्दै जग्गाधनी जोशीले गत मङ्सिर १६ गते बनेपा नगरपालिकामा निवेदन दर्ता गराएका छन्। उनले निवेदनमा आफ्नो जग्गाको वास्तविक नाप जाँच गरी सडकमा परेको भागको उचित मुआब्जा र क्षतिपूर्ति दिलाउन माग गरेका छन्।

तर, नगरपालिकाले मुआब्जा दिन आलटाल गरिरहेको जोशीको गुनासो छ। उनले नगरपालिकाले लिखित रूपमा मुआब्जा दिन इन्कार गरेमा आफू पुनः अदालत जाने उनले बताए। उनले नगरपालिकाले अदालतमा क्षतिपूर्ति "दिन्छौँ" भनेर लिखित जवाफ दिएका कारण नै अदालतले तत्काल कडा आदेश नदिएको दाबी गर्दै अहिले नगरपालिकाले त्यसबाट पन्छिन नमिल्ने तर्क गरे।

यसै विवादमा जग्गाधनी पद्मराज जोशीले बनेपा वडा नं. ४ का वडाध्यक्ष श्याम श्रेष्ठले आफूसँग २ लाख रुपैयाँ लिएको आरोप समेत लगाएका छन्। जोशीका अनुसार सडक विस्तारको विवादलाई आफ्नो अनुकूल बनाइदिने र जग्गाको सुरक्षा गरिदिने आश्वासन दिँदै वडाध्यक्ष श्रेष्ठले दुई पटकमा एक–एक लाख गरी कुल २ लाख रुपैयाँ बुझेका थिए। उनले वडा कार्यालयको तलको बरन्डामा उक्त रकम नगद हस्तान्तरण गरेको र पैसा बुझ्ने बेला वडाध्यक्षले 'आफ्नो काम गर्ने शैली नै बेग्लै रहेको' भन्दै ढुक्क हुन भनेको दाबी गरे। पैसा बुझे पनि वडाध्यक्षले काम भने उल्टो गरिदिएको र सडक ढलानमा समेत गुणस्तरहीन सामग्री प्रयोग गरिएको जोशीको आरोप छ।

यता वडाध्यक्ष श्रेष्ठले भने आफूमाथि लगाइएको लेनदेनको आरोपलाई पूर्ण रूपमा निराधार भन्दै खण्डन गरे । उनले उक्त बाटो वि.सं. २०५६ सालमै बनेको र जोशीले २०७८ सालमा मात्र जग्गा किनेको दाबी गर्दै पुरानो बाटोमा अहिले विवाद निकाल्न खोजिएको बताए। 

रातोपाटीलाई प्रतिक्रिया दिँदै श्रेष्ठले पैसा लिएको कुरा अस्वीकार गर्दै कसैले केही सहयोग गरेको हुनसक्ने तर सडकको काम मिलाइदिने भनेर कुनै रकम नबुझेको दाबी गरे । उनले आफूमाथि लागेको आरोप झुटो रहेको समेत दाबी गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप